बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
प्रदेश बजेट

कर्णालीमा बजेट सम्बन्धी सूचना चुहावटबारे अन्ततः अर्थमन्त्रीले स्वीकारे कमजोरी

मङ्गलबार, १७ असार २०८२, ०६ : ३३
मङ्गलबार, १७ असार २०८२

सारांश

  • कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट चुहावटमा व्यवस्थापकीय कमजोरी स्वीकार गरेको छ।
  • अर्थमन्त्री राजीवविक्रम शाहले बजेटका दस्तावेज पठाउँदा कमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाए।
  • प्रतिपक्षको दबाबपछि अर्थमन्त्रीले सचिवालयलाई दोष दिए पनि पछि आफ्नो गल्ती स्वीकार्दै आगामी दिनमा यस्ता कमजोरी नहुने बताए।

सुर्खेत । आगामी आर्थिक वर्ष (०८२/०८३) को बजेट प्रस्तुत हुनुअघि नै चुहावट भएको विषयलाई अन्ततः कर्णाली प्रदेश सरकारले कमजोरी भएको स्वीकार गरेको छ ।

बजेट चुहावटको दोष प्रदेश सभा सचिवालयलाई लगाएका अर्थमन्त्री राजीवविक्रम शाहले अन्ततः बजेटका दस्तावेज पठाउँदा व्यवस्थापकीय कमजोरी भएको स्वीकार गरेका हुन् ।

प्रदेश सभामा बजेटमाथिको छलफल र प्रतिपक्षको निरन्तरको दबाबपछि सोमबार अर्थमन्त्री शाहले आफ्नो कमजोरी स्वीकार गर्दै आगामी दिनमा यस्ता गल्ती नदोहोर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।

यसरी चर्किएको थियो विवाद
कर्णालीमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुनुअगावै बजेटमाथि विवाद सुरु भएको थियो । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले सुरुमा योजना बैंकको अपारदर्शितामाथि प्रश्न उठाएको थियो ।

प्रदेश सभामा बजेट प्रस्तुत हुनुभन्दा अघि बजेटको अंक बाहिर चुहिएपछि विवादले नयाँ मोड लियो । सरकारले ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकोमा सोही अंक दिउँसो चार बजेतिरै केही मिडिया तथा सामाजिक सञ्जालमा सार्वजनिक भइसकेको प्रतिपक्षको दाबी छ । बजेटको अंक चुहावटको विषयलाई प्रतिपक्षले आफ्नो एजेन्डा बनायो ।

विवाद समाधानका लागि असार ११ गते मुख्यमन्त्री यामलाल कँडेल, विपक्षी दलका नेता राजकुमार शर्मा र सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीबिच छलफल भएको थियो ।

उक्त छलफलमा जिल्लाबाट छुटेका महत्त्वपूर्ण योजनाहरूलाई पुनः सूचीकृत गर्ने र पहुँचका आधारमा आएका योजनाहरू हटाउने लगायतका सहमति भए पनि विपक्षी दलका नेता शर्माले बजेट चुहावट जस्तो गम्भीर विषयमा सरकारको जबाफ माग गरिरहे ।

अर्थमन्त्रीको पहिलो जबाफमा सचिवालयलाई दोष

विपक्षीको निरन्तर दबाबपछि अर्थमन्त्री शाहले शुक्रबारको बैठकमा बजेट चुहावटबारे जबाफ दिएका थिए । उनले आफ्नो मन्त्रालयको बचाउ गर्दै बजेटको गोपनीयता कायम राख्ने जिम्मेवारी प्रदेश सभा सचिवालयको भएको बताए ।

मन्त्री शाहका अनुसार बजेटको अन्तिम तयारीमा संलग्न पदाधिकारी तथा कर्मचारीहरू उच्च सजग रही असार १ गते दिनको करिब ३ बजे प्रदेश सभा सचिवालयमा बजेटका पुस्तिका दर्ता गराइएको थियो । ‘यसरी दर्ता भइसकेका दस्तावेजको सुरक्षा र गोपनीयता कायम राख्ने जिम्मेवारी सम्बन्धित निकाय र पदाधिकारीको हो,’ उनले भनेका थिए ।

मन्त्री शाहले आफ्नो मन्त्रालयका कुनै पनि कर्मचारीबाट सूचना बाहिर नगएको दाबी गरेका थिए ।

प्रतिपक्षको चर्को आलोचना र सभामुख नन्दा गुरुङको रुलिङपछि सोमबारको बैठकमा अर्थमन्त्री शाहले सुरुमै जबाफ दिए । उनले बजेटसँग सम्बन्धित दस्तावेज प्रदेश सभामा पठाउँदा आफूहरूबाटै व्यवस्थापनमा कमजोरी भएको स्वीकार गरे ।

अर्थमन्त्रीको जबाफलाई प्रतिपक्षी दलका नेता राजकुमार शर्माले आइतबारको प्रदेश सभा बैठकमा ‘गैरजिम्मेवारपूर्ण’ भन्दै कडा आपत्ति जनाए । उनले बजेट चुहावटको दोष प्रदेश सभा सचिवालयलाई लगाएकोमा रोष प्रकट गरे ।

शर्माले भने, ‘अर्थ मन्त्रालयबाट हुँदै होइन । हामीले सिल गरेर पठाएको हो, सचिवालयबाट यो कुरा बाहिरियो भनेर उहाँले कुरा राख्नुभयो । सभामुख महोदय ! यसको जबाफ सचिवालयले कहिले दिन्छ ?’

शर्माले सरकार र सम्बन्धित निकाय जवाफदेहिताबाट पन्छिन खोजेको आरोप लगाउँदै यस्तो गम्भीर विषयमा लापर्बाही गर्न नपाइने बताएका थिए । उनले सभामुख र प्रदेश सभा सचिवालयले जबाफ दिनुपर्ने बताएका थिए ।

अन्ततः मन्त्रीले स्वीकारे कमजोरी

प्रतिपक्षको चर्को आलोचना र सभामुख नन्दा गुरुङको रुलिङपछि सोमबारको बैठकमा अर्थमन्त्री शाहले सुरुमै जबाफ दिए । उनले बजेटसँग सम्बन्धित दस्तावेज प्रदेश सभामा पठाउँदा आफूहरूबाटै व्यवस्थापनमा कमजोरी भएको स्वीकार गरे ।

‘बजेटसँग सम्बन्धित दस्तावेज प्रदेश सभामा पठाउँदा व्यवस्थापनमा केही कमी रहेको महसुस गर्दै आगामी दिनमा यस्तो कमी हुन नदिने कुरा विश्वास दिलाउन चाहन्छु,’ मन्त्री शाहले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप