बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
क्रिकेटमा चम्किँदै विपिन

नेपाली क्रिकेटमा बलिङको बागडोर सम्हाल्ने बाटोमा विपिन

ट्यालेन्ट हन्टदेखि टप क्लाससम्मको यात्रा
मङ्गलबार, १७ असार २०८२, १५ : ५७
मङ्गलबार, १७ असार २०८२

सारांश

  • विपिन शर्मा, १६ वर्षीय युवा, नेपाली क्रिकेटमा चर्चामा छन्, जसले यू-१६ टोलीको नेतृत्व गरिरहेका छन्।
  • विपिनले एएफसी एसियन इस्ट जोन कप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै १५ विकेट लिएका छन्, र उनी कर्णालीबाट आएका हुन्।
  • एनपीएल र अन्य प्रतियोगिताहरूमा उनको प्रदर्शनले राष्ट्रिय टोलीमा स्थान बनाउने सम्भावना बढाएको छ।

काठमाडौँ । उमेर १६ वर्ष २ सय ४९ दिन । एउटा दूर कर्णालीबाट नेपाली क्रिकेटको बागडोर नै सम्हाल्ने आँट । लिडरसिपमा सम्हालिँदै टिमलाई सफलता दिलाउन सक्ने खुबी, अर्थात् विपिन शर्मा । नेपाली क्रिकेटमा अहिले सर्वत्र चर्चामा आएका खेलाडी । 

अहिले नेपाली पुरुष यू–१६ टोलीले एएफसी एसियन इस्ट जोन कप क्रिकेट विपिनकै नेतृत्वमा खेल्दैछ । विपिनले प्रतियोगितामा लिडरसिपको भूमिकामा खेल्दै १५ विकेट लिइसकेका छन् । सानो उमेरमा ठुलो सफलता हात पारेका विपिनको क्रिकेट यात्रा दूर कर्णालीबाट सुरु भएको थियो । नेपाली क्रिकेटमा नयाँ प्रतिभाको आगमन निकै बढ्दै गइरहेको समयमा उनी एक उदाहरण बनेका छन् । 

विपिन नेपालमा पहिलो पटक भएको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटबाट चर्चामा आएका हुन् । घरेलु क्रिकेटबाट चर्चामा आएका उनका लागि एनपीएल धेरै महत्त्वपूर्ण थियो । कर्णालीको सामान्य परिवारबाट क्रिकेटको यात्रा सुरु गरेका उनी ट्यालेन्ट हन्टमार्फत टिममा समावेश भएका ‘लोकल आइकोनिक’ प्लेयर थिए ।

प्रतियोतिगाको पहिलो सिजनमै उनले आफ्नो उत्कृष्ट खेल कौशल देखाउन सफल भए । प्रतियोगितामा सात खेल खेल्दै १२ विकेट लिन सफल भए । पहिलो सिजनमै प्रभाव जमाएका उनी एक पटक प्लेअर अफ दी म्याच पनि घोषित भए । 

यू–१९ राष्ट्रिय प्रतियोगिता खेले पनि अक्सनमा कुनै टिममा नपरेका विपिन ट्यलेन्ट हन्टमार्फत आफ्नै क्षेत्रको फ्रेन्चाइज टिमबाट एनपीएल खेल्ने मौका पाएका थिए । 

कर्णालीको क्रिकेटमा आफ्नो पहिचान बनाउन सफल विपिनले कर्णालीको सिनियर र यू–१९ टिमबाट खेलिसकेका छन् । उनले २०२४ मार्चमा विराटनगरमा भएको कोशी प्रदेश ट्रफी नेसनल टी–ट्वान्टी च्याम्पियनसिपमा कर्णाली प्रदेशबाट खेलेका थिए ।

नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको उक्त राष्ट्रिय टी–ट्वान्टी प्रतियोगितामा उनले कोशी प्रदेशविरुद्ध एक विकेट लिएका थिए । त्यस्तै विपिनले नरेश मेमोरियल यू–१९ राष्ट्रिय प्रतियोगितामा कर्णालीको यू–१९ टिमबाट ६ खेलमा ११ विकेट लिए । बागमती र मधेश यू–१९ विरुद्ध उनले ४–४ विकेट लिएका थिए ।

बायाँहाते स्पिनर विपिनले नेपालको सिनियर टिम सदस्य सोमपाल कामी गुल्सन झादेखि देव खनालसम्म अनि भारतीय स्टार शिखर धवन, ओमानका अलराउन्डर जिसान मक्सुदजस्ता अनुभवी खेलाडीसँग एकै सेटमा खेल्न पाए ।

BIPIN 1

सिनियर टोलीमा अवसर 

नेपाली क्रिकेटको इतिहासमा स्पिनरको जादु धेरै चल्ने गरेको छ । त्यसैमा विपिनले पनि अब आफ्नो पहिचान देखाउन सक्छन् । यू–१६ टोलीलाई उपाधि जिताउन सके उनका लागि लिडरसिपको अवसर पनि हुनेछ ।

राष्ट्रिय टोलीमा हाल सन्दीप लामिछाने र ललित नारायण राजवंशी मुख्य स्पिनर हुन् । एनपीएल र पुरुष यू–१६ इस्ट जोनजस्ता पछिल्ला प्रतियोगितामा गरेको प्रदर्शन उनका लागि अपार सम्भावनाको बाटो बन्नेछ । 
जारी प्रतियोगितामै विपिनले इन्डोनेसियाविरुद्ध ७ दशमलव ३ ओभर बलिङ गर्दै ६ विकेट लिएर विपक्षी टिमलाई ध्वस्त बनाए । 

त्यस्तै भुटानविरुद्ध १० ओभर बलिङ गरेर ६ मेडन ओभर फाल्दै ७ रन खर्चेर ४ विकेट लिएका थिए । 

जापानविरुद्ध पनि उनले ८ दशमलव ३ ओभर बलिङ गर्दै २ मेडन ओभर फालेका थिए । जहाँ उनले एक विकेट पनि हात पारेका थिए । पहिलो खेलमा सिंगापुरविरुद्ध १० ओभर बलिङ गरेर एक मेडन ओभरसँगै ३४ रन खर्चँदै ४ विकेट लिएका थिए । 

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप