शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
क्रिकेट

अभावमा हुर्किंदै क्रिकेटर बनेका रौनकले शतक बनाउँदा आमा–बुबाका आँखा रसाए

मङ्गलबार, १७ असार २०८२, १३ : ४२
मङ्गलबार, १७ असार २०८२

सारांश

  • मलेसियामा भएको खेलमा रौनक श्रीवास्तवले भुटानविरुद्ध १६८ रन बनाए, जसले उनको गाउँमा खुसी ल्यायो।
  • रौनकको शतकले उनको परिवारलाई भावुक बनायो, किनकि उनी किसान परिवारबाट आएका हुन् र क्रिकेट खेल्न धेरै संघर्ष गरे।
  • कपिलवस्तु क्रिकेट संघले रौनकको सफलताको सम्मान गर्ने र उनको क्रिकेट करियरलाई अझै सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

धनगढी । मलेसियाको क्वालालम्पुरस्थित क्रिकेट मैदानमा मंगलबार भुटानविरुद्ध नेपालका लागि रौनक श्रीवास्तवले १३२ बलमा १६८ रन प्रहार गरे । रौनकको सानदार शतकले कपिलवस्तुस्थित उनको गाउँमा रौनक छाएको छ ।

रौनकले शतक बनाउँदा उनका आमाबुबाका आँखामा खुसीका आँसु रसाए । गाउँमै खुसीको आँधी चलेको छ ।

‘उसले शतक हानेपछि घरमा भिडियो कल गरेका थियौँ । उनका आमा र बुबाको आँखाबाट आँसु झर्न रोकिएको थिएन । छोराले देशका लागि खेलेको र शतक बनाएको देख्दा उहाँहरूको खुसी र गर्व आँसु बनेर बगिरहेको थियो,’ रौनकका दाजु (मामाका छोरा) आलोक श्रीवास्तवले भने ।

एक किसानको छोराले अन्तर्राष्ट्रिय मैदानमा देशको झण्डा फहराउँदा पूरा परिवार भावुक हुनु स्वाभाविक भएको उनको भनाइ छ । रौनकको यो सानदार शतक कपिलवस्तुको एउटा सानो गाउँको धुलाम्मे गल्लीबाट सुरु भएको एउटा अदृश्य सपनाको जित हो ।

किसान आमाबुबाको पसिना र प्रार्थनाको सफलताका रूपमा रौनकको खेल प्रदर्शनलाई लिइएको आलोकको भनाइ छ । वर्षौंको संघर्ष, त्याग र क्रिकेटप्रतिको पागलपनकै परिणामस्वरुप रौनकले अन्तर्राष्ट्रिय मैदानमा ब्याट उचाल्न पाएको उनका परिवार, गाउँलेको भनाइ छ ।

लुम्बिनी प्रदेश अन्तर्गत कपिलवस्तुको कृष्णनगर नगरपालिका–१ मा रौनकको घर छ । उनका बुबा अशोक कुमार श्रीवास्तव कुनै समय वन कार्यालयमा जागिरे थिए । अहिले अशोकले खेतीपाती र भारतमा काम गर्दै परिवार धानेका छन् । आमा घरधन्दाको काम गर्छिन् । सानो खेतीबारीको उत्पादनले ६ जनाको परिवार पाल्न, दुई छोरीको पढाइ खर्च र रौनकको क्रिक्रेट खर्च धान्न उनका आमाबुबालाई हम्मेहम्मे पर्छ । आर्थिक अभावले घेरिएको परिवारमा रहेका रौनकलाई क्रिक्रेटमा लाग्न धेरै चुनौती भोग्नुपर्‍यो ।

आलोकले भने, ‘उसको परिवारमा आम्दानीको स्रोत बलियो छैन, बुबाले दिनरात खेतमा पसिना बगाउनुहुन्छ, आमा घर सम्हाल्नुहुन्छ । त्यही सामान्य कमाइले गुजारा चलेको छ ।’

आलोकका अनुसार यस्तो कठिन परिस्थितिको बिचमा रौनकले एउटा असम्भवजस्तो देखिने सपना देखे– ‘देशका लागि क्रिकेट खेल्ने । विश्वस्तरीय ब्याट्सम्यान बन्ने सपना छ । उनले सानैदेखि खेतको आली र कच्ची बाटोमा ब्याट, बल समाते ।’

बाल्यकालदेखि नै रौनकको मन पढाइमा भन्दा क्रिकेटको बल र ब्याटमा बढी रमाउँथ्यो । ८–१० वर्षको उमेरदेखि नै गाउँका साथीहरूसँग क्रिकेट खेल्न थालेका उनमा यो खेलप्रतिको लगाव दिन प्रतिदिन बढ्दै गयो । भारतीय क्रिकेटर विराट कोहलीको आक्रामक ब्याटिङ र आत्मविश्वासले उनलाई यति गहिरो प्रभाव पार्‍यो कि उनले आफ्नो जीवनको लक्ष्य नै क्रिकेटलाई बनाए ।

क्रिकेटप्रतिको यही लगावले उनलाई एउटा कठोर निर्णय लिन बाध्य बनायो । ८ कक्षा पास गरेपछि उनले औपचारिक शिक्षालाई सधैँका लागि बिदा दिए ।

raunak

यो निर्णय उनको परिवारका लागि सहज थिएन । आर्थिक अवस्था कमजोर भएको परिवारमा छोराले पढाइ छाडेर खेलमा लाग्नु भविष्यलाई अन्धकारमा धकेल्नुजस्तै थियो । तर, रौनकको अगाडि उनको परिवारको चिन्ताले पनि हार खायो ।

पढाइ छाडे पनि रौनकको संघर्ष र परीक्षा रोकिएन । क्रिकेट खेल्नका लागि आवश्यक पर्ने महँगा सामग्री— राम्रो ब्याट, प्याड, पन्जा जुटाउनु उनका लागि पहाड चढ्नुजस्तै थियो । तर उनले हिम्मत हारेनन् । आफ्नो प्रतिभालाई तिखार्न उनी घरपरिवार छाडेर भारतको नौगढमा रहेको राष्ट्रिय खेलाडी बसिर अहमदको अन्डरमा रहेर क्रिक्रेट सिके । उनी बासिरलाई आफ्नो गुरु मान्छन् । त्यहाँ गरेको संघर्षले उनलाई क्रिक्रेटको यात्रा अगाडि बढाउन सहज भयो ।

परिवारको अवस्था कमजोर छ, आफ्नो परिवारको आर्थिक अवस्था र समस्या बुझ्दै उनी क्रिक्रेटमा संघर्ष गरिरहेका छन् । उनीमाथि दुई बहिनी र आमाबुबाको जिम्मेवारी पनि छ– घरको जेठो छोराको नाताले ।

कपिलवस्तु क्रिकेट संघका अध्यक्ष प्रकाश गैरेका अनुसार संघले आयोजना गरेको सिनियर खेलाडी छनोट प्रतियोगितामा उनले पहिलो पटक आफ्नो क्षमताको वास्तविक झलक देखाए । पाल्पाविरुद्धको खेलमा शतक प्रहार गरेपछि उनी सबैको नजरमा परे । अध्यक्ष गैरे सम्झन्छन्, ‘उसको पारिवारिक पृष्ठभूमि कमजोर भए पनि उसको खेलमा अद्भूत क्षमता थियो । हामीले उसको प्रतिभालाई सुरुमै चिनेका थियौँ र उसलाई अगाडि बढाउनुपर्छ भन्ने सोचेका थियौँ ।’

Capture

त्यो प्रदर्शनपछि रौनकको यात्राले गति लियो । उनी लुम्बिनी प्रदेशको यू–१६ टिममा छनोट भए । सुर्खेतमा भएको राष्ट्रियस्तरको प्रतियोगितामा उनले एउटा यस्तो अविश्वसनीय पारी खेले, जसकारण नेपाली क्रिकेट वृत्तमा तहल्का मच्चायो । उनले मात्र ११७ बलमा २१७ रनको विस्फोटक पारी खेल्दा १६ छक्का र १६ चौका प्रहार गरेका थिए । उनको त्यो प्रदर्शनले उनलाई प्रतियोगिताको ‘म्यान अफ द सिरिज’ र ‘बेस्ट ब्याट्सम्यान’को उपाधि दिलायो । यो सफलताले उनलाई राष्ट्रिय टिमको ढोकासम्म पुर्‍यायो ।

‘रौनक कपिलवस्तु फर्किंने बित्तिकै हामी भव्य, कार्यक्रम आयोजना गरेर उसको स्वागत गर्नेछौँ,’ गैरेले भने ।

मलेसियामा रौनकले इन्डानेसियाविरुद्ध ७१ बलमा ८८ रन प्रहार गरे । श्रींगापुरविरुद्ध ४४ बलमा ४० रन प्रहार गरे । जापानविरुद्धको खेलमा भने उनले ब्याटिङ पाएनन् ।

रौनकको यो सफलतापछि स्थानीय तह, क्रिकेट संघ र शुभचिन्तकहरूले उनलाई थप सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । कपिलवस्तु क्रिकेट संघले उनी घर फर्केपछि भव्य सम्मान कार्यक्रम राख्ने तयारी गरेको छ ।

अध्यक्ष गैरेले भने, ‘रौनक हाम्रो जिल्लाको गौरव हो । अब हामी सबै मिलेर उसको भविष्यलाई अझै उज्ज्वल बनाउन लाग्नेछौँ । उसलाई कुनै पनि कुराको कमी हुन दिनेछैनौँ ताकि उसले आफ्नो खेलमा मात्र ध्यान केन्द्रित गर्न सकोस् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सविता बुढा
सविता बुढा
लेखकबाट थप