बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

तातोपानी भन्सारबाट पहिलो पटक हेलिकप्टर आयात

बिहीबार, १९ असार २०८२, १० : ४९
बिहीबार, १९ असार २०८२

सारांश

  • तातोपानी भन्सार नाकाबाट पहिलो पटक हेलिकप्टर आयात गरिएको छ।
  • हेलिकप्टर चीनबाट खरिद गरी सडक मार्गबाट ल्याइएको हो र यसको भन्सार जाँचपास हुन बाँकी छ।
  • माउन्टेन हेलिकप्टर्सले आयात गरेको यो एयरबस हेलिकप्टर पर्यटन प्रयोजनका लागि हो।

काठमाडौँ । तातोपानी भन्सार नाकाबाट पहिलो पटक हेलिकप्टर आयात गर्न लागिएको छ । तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडालले हेलिकप्टर जाँचपासका लागि आइपुगेको बिहीबार बिहान रातोपाटीलाई जानकारी दिए । 

‘हेलिकप्टर आइपुगेको छ । तर, अहिले हामीले भन्सार जाँच पास गरिसकेका छैनौँ । आवश्यक सबै प्रक्रिया पूरा हुन समय लागेको छ । प्रक्रिया पूरा भएसँगै हामी पास गर्छौँ’, उनले रातोपाटीसँग भने । 

तातोपानी भन्सार व्यवस्थापनको ठेक्का लिएको सिल्क ट्रान्स कम्पनीका शाखा प्रमुख अनिरुद्र थापा माउन्टेन हेलिकप्टरर्स कम्पनीले चीनबाट खरिद गरेर उक्त हेलिकप्टर ल्याएको बताए । 

 ‘बाइ रोड कन्टेनरमा ल्याइएको हो। हिजो  हाम्रो सिमानामा छिरेको हो,’ उनले भने । 

उनले भन्सार प्रक्रिया पूरा गरेपछि एक–दुई दिनमा उडाएर काठमाडौँ लैजाने तयारी भइरहेको जानकारी दिए। उक्त हेलिकप्टरको भन्सार चार करोडभन्दा बढी पर्ने बताइएको छ । 

‘अब ठ्याक्कै कति मूल्य त मैले पनि त्यो प्रज्ञापन पत्र हेरेको छैन,’ उनले भने,‘तर करिब चार करोड प्लस हुन्छ भन्ने सुनेको छु।’

आयतकर्ता कम्पनी  माउन्टेन  हेलिकप्टर्सका रामचन्द्र भुसालले बिहीबार हेलिकप्टरको भन्सार जाँचपास गरिने बताए । 

 ‘सम्भवतः नेपालमा पहिलो पटक स्थलमार्गबाट हेलिकप्टर आयात भएको हो । यसको लागि र तिर्ने भन्सारबारे छिट्टै जानकारी गराउँछौँ,’ उनले भने । 

भुसालका अनुसार उक्त हेलिकप्टर एयर बस कम्पनीको हो । यो पर्यटन प्रयोजनकै लागि ल्याइएको हेलिकप्टर भएको बताइएको छ ।  चीनमा एयर बस कम्पनीको प्लान्ट तियाजिन सहरमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप