मध्यविन्दु नगरपालिकाद्वारा ‘हाम्रो खुसी पाठ्यक्रम’ लागू
सारांश
- मध्यविन्दु नगरपालिकाका विद्यालयहरूमा 'हाम्रो खुसी पाठ्यक्रम' लागू गरिएको छ, जहाँ बालबालिकाहरूलाई व्यवहारिक ज्ञान दिइन्छ।
- यो पाठ्यक्रम दिल्लीको 'ह्याप्पी करिकुलम'बाट प्रभावित भई कक्षा १ बाटै नैतिक र मानवीय मूल्य सिकाउने उद्देश्यले ल्याइएको हो।
- पाठ्यक्रमले विद्यार्थी, शिक्षक र अभिभावक सबैमा उत्साह थपेको छ र अन्य स्थानीय तहहरूले पनि यसलाई लागू गर्ने योजना बनाइरहेका छन्।
काठमाडौँ । हरेक दिन विद्यालयको पहिलो घण्टी बज्नासाथ मध्यविन्दु नगरपालिकाका बालबालिकाहरू कुनै किताब वा कापी पल्टाउँदैनन्, बरु जीवन र व्यवहारका कुरा सिक्छन् । उनीहरूलाई खुसी हुन, असल बन्न र प्रकृतिलाई सम्मान गर्न सिकाइन्छ । यो सम्भव भएको छ, नगरपालिकाले लागू गरेको ‘हाम्रो खुसी पाठ्यक्रम’ ले ।
पूर्वी नवलपरासीको मध्यविन्दुले भारतको दिल्लीमा सञ्चालित सफल ‘ह्याप्पी करिकुलम’ बाट प्रभावित भई नेपालमै पहिलो पटक यस्तो अभ्यास थालेको हो । सैद्धान्तिक ज्ञानले मात्र पूर्ण नागरिक तयार नहुने देखेर बालबालिकालाई कक्षा १ बाटै व्यवहारिक, नैतिक र मानवीय मूल्य सिकाउने उद्देश्यले यो पाठ्यक्रम ल्याइएको मेयर भीमलाल अधिकारीले बताए ।
यो पाठ्यक्रममा शिक्षकहरूले सहयोगी पुस्तिकाको आधारमा विद्यार्थीहरूलाई विभिन्न गतिविधिमार्फत असल आचरण, संस्कार, संस्कृति र सकारात्मक सोचबारे सिकाउँछन् ।
२०८१ साउनदेखि नगरका सबै ६५ विद्यालयमा लागू भएको ‘हाम्रो खुसी पाठ्यक्रम’ कार्यक्रम संयोजक लक्ष्मी पाण्डेले जानकारी दिइन् । यो कार्यक्रमले विद्यार्थी, शिक्षक र अभिभावक तीनै पक्षमा उत्साह थपेको उनको भनाइ छ ।
बालबालिकामा आएको सकारात्मक परिवर्तन देखेर अब माथिल्लो कक्षामा पनि यो कार्यक्रम विस्तार गर्न माग आइरहेको पाण्डेको भनाइ छ । हरेक दिन बिहान पहिलो घण्टीमा ३० मिनेट विद्यार्थीहरूलाई तालिमप्राप्त शिक्षकहरूले विभिन्न क्रियाकलापमा सहभागी गराउँछन् ।
स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहलाई स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गर्ने अधिकार दिएको छ । सोहीअनुसार स्थानीय पाठ्यक्रमकै रूपमा ‘हाम्रो खुसी पाठ्यक्रम’ लागू गरिएको मेयर अधिकारीले बताए ।
यसमा मानव मूल्य मान्यता, व्यवहार, प्रकृति, संस्कार, संस्कृति, आनीबानी आदिबारे विद्यार्थीहरूलाई सहज ढङ्गबाट जानकारी दिइन्छ । गण्डकी प्रदेश सरकारले पनि सो पाठ्यक्रमलाई मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रममा समेटेको छ । २०८१ भदौको पहिलो साता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले सो पाठ्यक्रमको शुभारम्भ गरेकी थिइन् ।
पाठ्यक्रम निर्माण गर्नुअघि शिक्षकसहित नगरपालिकाका जनप्रतिनिधिको टोलीले दिल्लीका विद्यालयहरूको अवलोकन भ्रमणसमेत गरेको थियो । शिक्षकसहित विज्ञहरूसँग विभिन्न चरणमा छलफल र अध्ययनपछि पाठ्यक्रम तयार गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको शिक्षा महाशाखाका प्रमुख उपसचिव पद्मराज आचार्यले राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ अनुसार स्थानीय पाठ्यक्रमकै रूपमा ‘हाम्रो खुसी पाठ्यक्रम’ तय गरिएको बताए । बालबालिकामा ज्ञान, सीप, मानव मूल्य मान्यता, बानी, व्यवहार, आचरण परिवर्तन तथा सकारात्मक सोचको विकास गर्न पाठ्यक्रमले सहयोग पुर्याउने उनको भनाइ छ ।
सो विषयको परीक्षा र मूल्याङ्कन भने नहुने व्यवस्था गरिएको छ । उक्त पाठ्यक्रमले विद्यार्थी तथा अभिभावकहरूमा नै सकारात्मक प्रभाव पर्न थालेपछि त्यो क्षेत्रका अन्य पालिकाहरूले समेत पाठ्यक्रम लागू गर्ने योजना बनाइरहेका छन् । कास्की, स्याङ्जालगायत जिल्लाका स्थानीय तहहरूले पनि ‘हाम्रो खुसी पाठ्यक्रम’ प्रति चासो देखाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण