रवि लामिछानेविना रास्वपाको महाधिवेशन होला ?
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को फागुनमा हुने भनिएको महाधिवेशन अनिश्चित बनेको छ, किनकि सभापति रवि लामिछाने सहकारी ठगी मुद्दामा जेलमा छन्।
- लामिछानेको मुद्दाका कारण महाधिवेशनको मिति पटक-पटक सर्दै आएको छ, र पार्टीले निर्वाचन आयोगको भूमिकाप्रति शंका व्यक्त गरेको छ।
- पार्टीका नेताहरूले लामिछानेको अनुपस्थितिमा महाधिवेशन कसरी गर्ने भन्नेबारे छलफल गरिरहेका छन्, तर निर्धारित समयमै महाधिवेशन सम्पन्न हुनेमा विश्वास व्यक्त गरेका छन्।
काठमाडौँ । पार्टी स्थापनाको तीन वर्षमै विभिन्न मुद्दा–मामिलामा अल्झिएको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को फागुनमा प्रस्ताव गरिएको महाधिवेशन हुने/नहुनेमा अन्योल देखिएको छ ।
गत वैशाख ४ गते बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको पूर्वनिर्धारित मिति परिवर्तन गरी फागुन ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय गरेको थियो । तर सहकारी ठगी मुद्दा लागेका सभापति रवि लामिछानेलाई जेठ ९ गते सर्वोच्च अदालतले तुलसीपुरको उच्च अदालत, बुटवल इजलासले पुर्पक्षमा पठाउने आदेशलाई नै सदर गरेपछि उनी अहिले भैरहवा जेलमा छन् ।
सुप्रिम सहकारी ठगीको मुद्दा उनले जिल्ला अदालत रुपन्देहीबाट नटुङ्गिदासम्म रवि थुनामै बस्नुपर्ने हुन्छ । जिल्ला अदालतले सफाइ दिए पनि लामिछानेले कास्की, चितवन, काठमाडौँ, पर्सा जिल्ला अदालतमा विचाराधीन मुद्दाको पनि सामना गर्नुपर्ने हुन्छ । लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण मुद्दासमेत छ । यी सबैबाट सफाइ पाए भनेमात्र उनी थुनामुक्त हुनेछन् ।
गोरखा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्धक निर्देशक रहेका रविले अध्यक्ष जीबी राईसँग मिलेर विभिन्न सहकारीको ६५ करोड बचत रकम हिनामिना गरेको आरोपमा मुद्दा खेपिरहेका छन् ।
रास्वपाको सम्पूर्ण शक्ति अहिले सभापतिको बचाउमै केन्द्रित छ । निर्वाचन आयोगको भूमिकाप्रति पनि रास्वपाका नेताहरू सशंकित देखिएका छन् । लामिछाने जेलमै रहेको अवस्थामा पार्टीका पूर्वमहामन्त्री डा.मुकुल ढकालले रास्वपाको आधिकारिक महामन्त्री आफू नै भएको दाबीसहित सर्वोच्च अदालतमा मुद्दा हालेका छन् ।
लामिछानेको मुद्दा–मामिलाकै कारण यसअघि वैशाख २५, २६ र २७ गते प्रथम राष्ट्रिय महाधिवेशन गर्ने निर्णय कार्यान्वयन हुन सकेन । २०८१ असोज १ र २ गते सम्पन्न रास्वपाको राष्ट्रिय भेलाले महाधिवेशन गर्ने निर्णय गरेको थियो । रास्वपाले २०८२ असोजसम्म वडा अधिवेशन, कात्तिकसम्म पालिका अधिवेशन, मंसिरसम्म जिल्ला अधिवेशन र माघ १५ सम्म प्रदेश अधिवेशन सम्पन्न गर्नुपर्ने निर्णय गरेको थियो ।
पार्टी सभापति नै जेलमा रहेको अवस्थामा महाधिवेशन होला भन्ने प्रश्नमा महामन्त्री कविन्द्र बुर्लाकोटीले लामिछाने, केन्द्रीय समिति, कानुन विभाग लगायत सबै पक्षसँग सल्लाह गरेरै विकल्प निकाल्ने स्पष्ट पारे ।
‘महाधिवेशनको पछिल्लो मिति धेरै परामर्श गरेर टुङ्ग्याएको हो । सभापति अहिले पुर्पक्षमा हुँदै गर्दा त्यही मितिमा महाधिवेशन गर्न थप परामर्श आवश्यक हुन्छ । त्यसका लागि सभापति, केन्द्रीय समिति, कानुन विभाग लगायत सबैसँग कानुनी परामर्श गरेर विकल्प निकाल्छौँ’, उनले भने, ‘आम निर्वाचनअघि महाधिवेशन हुन्छ । केन्द्रीय समितिले निर्णय गरेको कार्यतालिका नै त्यही छ । कार्यान्वयन गर्ने जिम्मेवारी महामन्त्रीको भएकाले भएको निर्णय नै समातेर हिँड्ने हो । सभापति थुनामै रहेको वेलामा पनि उहाँसँग सल्लाह गरेर नै विकल्प खोजिन्छ ।’
उनका अनुसार हालसम्म एक हजारभन्दा बढी वडामा अधिवेशन सम्पन्न भएको छ । करिब चार सय वडामा अधिवेशन तयारी अवस्थामा छ ।
बर्खाको कारणले कतै अलि ढिलो भए पनि कतै यही स्थितिमा अधिवेशनको तयारी भइरहेका बुर्लाकोटीले जानकारी दिए । उनले पालिकामा अहिलेसम्म ३२ वटा जतिमा भइसकेको र ५० वटा पालिकामा तयारी अवस्थामा रहेको जानकारी दिए ।
‘मैले दिएको तथ्याङ्क ७० प्रतिशत वडामा भएको अधिवेशनको आधारमा भनेको हो । अन्य पालिकामा पनि भदौ–असोजमा हुन्छ । त्यतिवेलासम्म लगभग सबै पालिकामा सकिन्छ । क्यालेन्डरलाई नै पूरा गर्नेगरी अगाडि बढ्छौँ । अधिवेशन हुन नसकेको खण्डमा तदर्थ समितिलाई नै प्रतिनिधि पठाउनेगरी प्रस्ताव हुँदैछ । त्योभन्दा अगाडि नै अधिवेशन सक्नेगरी जान्छौँ’, बुर्लाकोटीले भने ।
प्रवक्ता मनिष झाले पनि महाधिवेशन आउन अझै आठ महिना रहेकाले निर्धारित मितिमै सम्पन्न हुने विश्वास व्यक्त गरे । महाधिवेशनको क्यालेण्डर अनुसार नै काम भइरहेको झाले दाबी गरे ।
‘पार्टीभित्र छलफल गरेरै दोस्रोपटक महाधिवेशनको मिति तय गरेको हो । अझै आठ महिना समय रहेकाले निर्धारित मितिमै महाधिवेशन हुने विश्वास लिएको छु । अहिलेसम्म महाधिवेशनको क्यालेण्डर अनुसार नै काम भइरहेको छ’, उनले भने ।
जहाँसम्म संस्थापक सभापति लामिछानेविना महाधिवेशन हुन्छ कि हुँदैन भन्ने विषयमा निष्कर्षमा पुग्न बाँकी रहेको झाले बताए । सबैसँग सरसल्लाह गरेरै एउटा विकल्पमा पुग्न सकिने उनको भनाइ छ ।
लामिछानेकै ब्राण्डमा रास्वपा जन्मिएकाले उनीविना महाधिवेशन हुनेमा आशंका जन्मिएको छ । निर्वाचन आयोगमा दल दर्ता भएको पाँच वर्षभित्र महाधिवेशन गर्नुपर्ने संवैधानिक बाध्यता छ । त्यसकारण २०८४ को असारभित्र रास्वपाले महाधिवेशन गर्नुपर्ने हुन्छ । त्यतिवेलासम्म लामिछानेले मुद्दाबाट सफाइ पाएमा उनकै नेतृत्वमा महाधिवेशन हुने देखिन्छ । अन्यथा रविको अनुपस्थितिमा महाधिवेशन गर्नुपर्ने अवस्था आउन सक्छ ।
गत वर्ष कात्तिकमा सहकारी ठगी आरोपमा पक्राउ परेपछि लामिछानेको सांसद पद निलम्बनमा परेको छ । १० वर्ष लामो सञ्चारकर्म छाडेर लामिछानेले २०७९ साल असार ७ गते रास्वपा गठन गरेका थिए । पार्टी गठन गरेको पाँच महिनामै आम निर्वाचनमा होमिएको रास्वपाले कुल ११ लाख ३० हजार मतसहित प्रतिनिधि सभाको २१ सिट जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण