बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
एएफसी महिला एसियन कप २०२६

एसियन कप खेल्ने सपनासहित उज्बेकिस्तानको सामना गर्दै नेपाल

शनिबार, २१ असार २०८२, ०६ : ३०
शनिबार, २१ असार २०८२

सारांश

  • एएफसी महिला एसियन कप २०२६ छनोटमा नेपाल र उज्बेकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ।
  • दुवै टोलीको समान अंक रहेको अवस्थामा, खेलले अर्को वर्ष अस्ट्रेलियामा हुने प्रतियोगिताका लागि छनोट निर्धारण गर्नेछ।
  • खेल जित्ने टोली सन् १९९९ पछि पहिलो पटक एसियन कप खेल्नेछ, र बराबरी भएमा पेनाल्टी हुनेछ।

काठमाडौँ । एएफसी महिला एसियन कप २०२६ को छनोटमा नेपाल र उज्बेकिस्तानबिचको निर्णायक भिडन्त शनिबार हुँदैछ । 

समूह एफमा रहेका दुवै टोलीको दुई खेलपछि समान अङ्क रहेको छ । दुई टोली बिच आज हुने भिडन्तले अर्को वर्ष अस्ट्रेलियामा आयोजना हुने प्रतियोगिताका लागि छनोट हुने टोलीको टुङ्गो लाग्नेछ । सो खेल बुन्योडकोर स्टेडियममा नेपाली समयअनुसार ९ बजेर १५ मिनेटमा सुरु हुनेछ ।

नेपालले पहिलो खेलमा लाओसलाई ९–० गोलको विशाल अन्तरले हराएको थियो । त्यस्तै, दोस्रो खेलमा श्रीलंकामाथि ८–० को शानदार जित हात पारेको थियो । उता, आयोजक उज्बेकिस्तानले पहिलो खेलमा श्रीलङ्कालाई १०–० गोल अन्तर तथा दोस्रो खेलमा लाओसलाई ७–० गोलले पराजित गर्‍यो ।

२ खेलपछि नेपाल र उज्बेकिस्तानको समान ६–६ अङ्क रहेको छ । दुवै टोलीको गोल अन्तरले पनि समान १७ नै छ । दुवै टोलीले आफ्ना विपक्षीविरुद्ध १७ गोल गर्दै कुनै पनि गोल खाएका छैनन् । यो समूहमा रहेका लाओस र श्रीलङ्का अङ्कविहीन छन् ।

शनिबार हुने खेल जिते नेपाल सन् १९९९ पछि पहिलो पटक एसियन कप खेल्नेछ । नेपालले सन् १९८६ मा हङकङमा आयोजित प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको थियो । त्यति बेला समूह चरणका सबै खेल हारेर नेपाल बाहिरिएको थियो ।

women2

त्यस्तै, सन् १९८९ मा एएफसी वुमन्स च्याम्पियनसिपमा टोलीले भाग लिएको थियो । यस पटक पनि समूह चरणका सबै खेल हार्दै टोली बाहिरिएको थियो ।

त्यसपछि सन् १९९९ मा फिलिपिन्समा आयोजित प्रतियोगितामा नेपाल सहभागी भयो । समूह सीमा रहेको नेपालले ४ खेल खेलेको थियो । यसपटक पनि नेपाल समूह चरणबाट नै बाहिरिएको थियो । 

 सो प्रतियोगिताको समूह चरणमा नेपाल र उज्बेकिस्तान आमनेसामने भएका थिए । सो खेलमा नेपाललाई उज्बेकिस्तानले ६–१ को विशाल अन्तरले पराजित गरेको थियो ।

women3

यसअघिका संस्करणमा नेपालले छनोट चरण नखेली प्रतियोगितामा सहभागी भएको थियो । नेपाल पहिलो पटक छनोट चरण पार गरेर प्रतियोगिता खेल्ने दाउमा रहेको छ ।

बराबरी भए पेनाल्टीबाट निर्णय

छनोट प्रतियोगिता र नेपालको समूहको अन्तिम प्रतियोगिता भएका कारण आजको खेलमा दुई टोलीबिच बराबरी भएमा पेनाल्टी हुनेछ । एएफसीले छनोट प्रतियोगिताको अन्तिम खेल भएका कारण गोल अन्तरमा दुवै टोली बराबरी अवस्थामा पुग्दा पेनाल्टी सुट आउटबाट खेलको निर्णय हुने नियम बनाएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप