१६ वर्षपछि ओएसिसको पुनर्मिलन
सारांश
- ओएसिस ब्याण्डले १६ वर्षपछि पुनर्मिलन टुरको सुरुवात वेल्सको कार्डिफमा गर्यो।
- नोएल र लिआम ग्यालेघर दाजुभाइले प्रस्तुति दिए, तर उनीहरूबीचको दूरी कायम थियो।
- कार्यक्रममा पहिलो र दोस्रो एल्बमका हिट गीतहरू प्रस्तुत गरियो, जसमा ६०,००० दर्शक उपस्थित थिए।
कार्डिफ । चर्चित ब्याण्ड ओएसिसले १६ वर्षको ब्रेक तोड्दै शुक्रबार बेलायतको वेल्सको कार्डिफमा पुनर्मिलन टुरको धमाकेदार सुरुवात गर्यो। ‘ब्रिटपप’ युगको सबैभन्दा चर्चित ब्यान्डमध्ये एक ओएसिसको पुनर्मिलन हेर्न दुनियाँभरका प्रशंसकहरू वेल्सको राजधानीमा पुगेका थिए।
सन् २००९ को कटुताले भरिएको विभाजनपछि ओएसिसका मुख्य सदस्यद्वय तथा दाजुभाइ नोएल र लिआम ग्यालेघर पहिलो पटक एउटै मञ्चमा देखिए। मञ्चमा प्रस्तुत हुनुअघि उनीहरूका विगतका विवादहरू देखाउने समाचार शिर्षकहरूको मोन्टाज ‘हतियारहरू मौन भएका छन्’ भन्ने वाक्यसँगै सकियो । त्यसपछि ओएसिसको धमाकेदार प्रवेश भयो।
‘हेलो’ गीतबाट कार्यक्रम सुरु भयो, जसको बोल ‘इट्स गुड टू बी ब्याक’ ले पुनर्मिलनको सन्देश झल्कायो। ५८ वर्षे नोएलले गितार सम्हाले भने ५२ वर्षीय लिआमले पुरानै शैलीमा गीत गाए। उनीहरूले केही क्षण हात समातेर भावुकता देखिए तापनि बाँकी प्रस्तुति भरिमा दूरी कायम थियो।
कार्डिफको प्रिन्सिपालिटी स्टेडियममा ६०,००० भन्दा बढी दर्शकहरूका सामु दुई घण्टा लामो प्रस्तुतिमा ओएसिसले पहिलो एल्बम र दोस्रो एल्बमका हिट गीतहरू साथै प्रशंसकलाई मनपर्ने गीतहरू प्रस्तुत गरे।
यो कार्यक्रम ‘लाइभ २५’ नामक टुरको पहिलो प्रस्तुति हो, जसअन्तर्गत ओएसिसले बेलायत र आयरल्यान्डका १९ ठाउँमा प्रस्तुति दिनेछ। त्यसपछि उत्तर अमेरिका, दक्षिण अमेरिका, एसिया र अस्ट्रेलियामा प्रस्तुति दिँदै नोभेम्बर २३ मा ब्राजिलको साओ पाउलोमा टुर सकिनेछ।
ओएसिस ब्याण्ड सन् १९९१ मा म्यानचेस्टरको श्रमिक वर्गको क्षेत्रमा स्थापना भएको थियो। १९९० को दशकमा बेलायतको पप-सङ्गीत क्षेत्रको प्रमुख नाम बनेको यस ब्यान्डले आठवटा यूके नम्बर १ एल्बम निकालेका थिए। ब्यान्डको शक्ति स्मरणीय धुन र भाइहरूबिचको ‘टकराव’मा आधारित थियो। लिआम र नोएलबिचको झगडा विश्वभर चर्चित छ।
तर यो पुनर्मिलनले भने यिनको सङ्गीत फेरि पनि संसारका स्टेडियमहरूमा गुञ्जिनेछ भन्ने सङ्केत गरेको छ। एक ब्यानरले सबै भावनाहरू समेट्यो - लामो प्रतीक्षा अन्त्य भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण