‘सङ्घीयता र गणतन्त्र ल्याउने व्यक्ति गिरिजाप्रसाद कोइराला हुन्’
सारांश
- शेरबहादुर देउवाले गिरिजाप्रसाद कोइरालाको योगदानको स्मरण गर्दै संघीय गणतन्त्र ल्याउन उनको भूमिका महत्त्वपूर्ण रहेको बताए।
- देउवाले कोइराला र आफूबीचको सम्बन्ध, राजनीतिक उतारचढाव र सरकार बनाउन दलहरुबीचको सहकार्यको आवश्यकता औंल्याए।
- उनले वर्तमान निर्वाचन प्रणालीमा कुनै पनि दलको बहुमत आउन गाह्रो रहेको र सरकार बनाउन अन्य दलसँग मिल्नुपर्ने बाध्यता रहेको उल्लेख गरे।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरिजाप्रसाद कोइराला नभएको भए नेपालमा सङ्घीय गणतन्त्र नआउने बताएका छन् ।
शनिवार काठमाडौँमा स्व. गिरिजाप्रसाद कोइरालाको जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले स्व. कोइराला लडाकु व्यक्ति भएको स्मरण गर्दै कोइराला नभएको भए गणतन्त्र ल्याउन कसैले पनि सोच्न नसक्ने स्थिति रहेको बताएका हुन् ।
गणतन्त्र ल्याउने पहिलो श्रेय गिरिजाप्रसाद कोइरालालाई जाने उनको भनाई थियो । उनले भने, ‘गिरिजाबाबु धेरै लडाकु व्यक्ति हो । उहाँ नभएको भए आज गणतन्त्र आउने थिएन । त्यस्तो आँटिलो व्यक्ति हो । हिम्मतिलो व्यक्ति हो । गणतन्त्र ल्याउन भनेर सोच्नै सक्दैन थिए । उहाँले हिम्मत गर्नुभएकै हो । अरू पार्टीसँग सरसल्लाह गरेर, पहिलो संविधान सभाबाट संविधान बनेन तर गणतन्त्र पहिलो संविधान सभाको पहिलो दिनमै पास भयो । गणतन्त्र ल्याउने सच्चा मानेमा भन्ने हो भने गिरिजाप्रसादलाई जान्छ श्रेय । उहाँले गणतन्त्र ल्याउनुभएको हो ।’
उनले कोइराला र आफूबिचमा झगडा पनि भएको र पार्टीबाट आफूलाई निकालेपछि नयाँ पार्टी खोलेको पनि बताए । सभापति देउवाले भने, ‘स्व. गिरिजाबाबु र मेरो बिचमा झगडा पनि भएकै हो । सबैलाई थाहा छ । उहाँले पार्टीबाट निकालिदिनु भयो । मैले अर्को पार्टी खोलेँ फेरि । त्यस कारण अनि मैले एक पटक के भनेको थिएँ भने राजाले मलाई खोस्यो, अनि मैले गिरिजा र ज्ञानेन्द्र एउटै हुन् भनेको थिएँ । एउटाले पार्टीबाट निकाल्यो, अर्कोले प्रधानमन्त्रीबाट निकाल्यो भनेर त्यस्तो हाम्रो सम्बन्ध हो । राजाले शाही आयोग गठन गरेर मलाई जेल हाल्यो । शाही आयोग मान्दै मान्दिन भनेर मैले भनेँ । मुद्दा हाले पनि सर्वोच्चबाट जितिहालेँ म । थुनेपछि भेट्न आउनुभएको थियो, गिरिजाबाबु । पार्टीमा एक भएर काम गर्यौँ ।
फरक प्रसङ्गमा सभापति देउवाले सरकार बनाउन कुनै न कुनै राजनीतिक दलसँग मिल्नै पर्ने बाध्यता रहेको बताए। अहिलेको निर्वाचन प्रणालीअनुसार कसैको पनि बहुमत आउन गाह्रो रहेको उनको भनाई थियो ।
उनले बहुदलीय व्यवस्थामा प्रतिस्पर्धा हुने कुरा स्वाभाविक भएको पनि बताए। सबै मिलेर सरकार बनाउनु राम्रो कुरा पनि भएको उनले जिकिर गरे ।
उनले भने, ‘हाम्रो देशमा यो बहुदलीय व्यवस्थामा कम्पिटिसन हुने कुरा स्वाभाविक हो । अरू उतारचढाव हुने स्वाभाविक हो । तै पनि अहिले हामीले हेरिरहेका छौँ, हाम्रो देश अघि बढेको छ । अहिलेको राजनीतिक प्रणाली मात्रै होइन, समावेशी राजनीति छ । महिला, दलित, जनजाति सबैको प्रतिनिधित्व भएको व्यवस्था छ । त्यस मानेमा यो समावेशी संविधान बनाएका छौँ । समावेशी व्यवस्था छ । तर एउटा समस्या पनि छ । यसमा कसैको पनि बहुमत आउन सक्दैन । कुनै पार्टीको पनि बहुमत आउन सक्दैन । कुनै पार्टीको पनि बहुमत आउन गाह्रो छ । बहुमत ल्याउनै पर्छ सरकार बनाउन त । त्यसैले कुनै न कुनै पार्टीसँग मिल्नुपर्ने बाध्यता र आवश्यकता छ । नमिले हुँदै हुँदैन, बाध्यतै हो यो । राम्रो कुरा पनि हो यो । कमसेकम सबै मिलेर काम गर्नु राम्रो पनि छ । मन परेको होस्, मन नपरेको होस् त्यस्तै छ । के गर्नुहुन्छ, काम गर्नुपर्ने छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी र अघोषित लोडसेडिङले धनगढीको जनजीवन अस्तव्यस्त
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण