शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
बागमती बजेट विवाद

बजेटको पूरक प्रस्ताव दर्ता, प्रदेशसभा बैठक बस्दै

शनिबार, २१ असार २०८२, १९ : ३९
शनिबार, २१ असार २०८२

सारांश

  • बागमती प्रदेशसभामा बजेटको पूरक प्रस्ताव दर्ता गरिएको छ, जसमा १५०० भन्दा बढी योजनाहरू समावेश छन्।
  • विपक्षी दलहरूको माग अनुसार सरकारले पूरक प्रस्ताव दर्ता गरेको हो, जसले शुक्रबार अवरुद्ध प्रदेशसभा बैठक पुनः सञ्चालन गर्नेछ।
  • मुख्यमन्त्रीको सचिवालयका अनुसार, यस प्रस्तावमा बजेट निर्माणमा छुटेका योजनाहरू समावेश छन् र यसलाई संसदले पारित गरेर कार्यान्वयनमा ल्याइनेछ।

हेटौँडा । बागमती प्रदेशसभामा बजेटको पूरक प्रस्ताव दर्ता भएको छ । बागमती सरकारले शनिबार साँझ बजेटको पूरक प्रस्ताव दर्ता गरेको हो ।

बजेट माथिको छलफलका लागि पटक पटक आह्वान गरिएको प्रदेशसभा बैठक बस्न नसकेपछि सरकारले विपक्षी दलहरूको माग अनुसार पूरक प्रस्ताव दर्ता गरेको हो । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सरकारले बजेटको पूरक प्रस्ताव दर्ता गराएको पुष्टि गरे । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मार्फत दर्ता भएको उक्त प्रस्तावमा १ हजार ५०० बढी योजनाहरू समावेश गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । सचिवालयका अनुसार उक्त कार्यक्रममा बजेटको अङ्क नतोकिएको सचिवालयका एक कर्मचारीले बताए । 

सरकारले बजेट निर्माणको क्रममा समावेश गर्न छुटेका योजना कार्यक्रमलाई पूरक प्रस्तावमा समावेश गरिएको मुख्यमन्त्री बहादुरसिंह लामाको सचिवालयका एक सदस्यले बताए । 

सो योजनाहरू समावेश गरिएको पूरक प्रस्तावलाई संसदले पारित गरेर सरकारलाई निर्देशन दिने र कार्यान्वयनमा लाने गरी अघि बढाइएको उनले बताए । सो प्रस्तावका कार्यक्रममा अर्थ विविधको बजेट, दोहोरिएका कार्यक्रम, चालु तर्फको अनुदान कार्यक्रम, एन्जियोका लागि वितरण गरिएको कार्यक्रम र अनधिकृत रूपमा बजेटमा हालिएका कार्यक्रमहरू कटाएर कार्यान्वयनमा अघि बढाउने सरकारको योजना रहेको छ । 

यससँगै शुक्रबारबाट अवरुद्ध भएको प्रदेशसभा बैठक सञ्चालनमा आउने भएको छ । केही बेरमा नै प्रदेशसभा बैठक बसेर सरकारको विनियोजन विधेयकसँगै पूरक प्रस्ताव समेत पेस हुने कार्यसूची रहेको छ । शुक्रबारबाट अवरुद्ध प्रदेशसभा शनिबार दिउँसो १ बजेका लागि आह्वान गरिएको थियो ।

उक्त बैठक बस्न नसकेपछि ३ बजेका लागि सारिएको बैठक पुनः ५ बजेसम्मका लागि सूचना टाँस गरेर स्थगित गरिएको थियो । ५ बजेको बैठक पनि चल्ने अवस्था नरहेपछि ६ः ३० बजेका लागि बोलाइएको बैठक केही बेरमा चलाउने तयारी गरिएको छ । बैठक आह्वान भएको २ घण्टासम्ममा बस्न सक्ने संसदीय अभ्यास रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप