बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
विकास निर्माण

९१ करोडमा बबरमहलमा बनेको निगमको भवन कहिले आउँछ सञ्चालनमा ?

आइतबार, २२ असार २०८२, ०६ : ५९
आइतबार, २२ असार २०८२

सारांश

  • नेपाल आयल निगमको नयाँ केन्द्रीय भवन निर्माण अन्तिम चरणमा पुगेको छ, जुन असार मसान्तभित्र सम्पन्न हुनेछ।
  • भवन निर्माणमा ९१ करोड रुपैयाँ खर्च भएको छ र यसमा दुई तले भूमिगत पार्किङ, लिफ्ट र अपाङ्गमैत्री संरचनाहरू छन्।
  • भवन सञ्चालनमा आउन अझै दुई महिना लाग्ने अनुमान छ किनभने परीक्षण र सर्ने प्रक्रिया बाँकी छ।

काठमाडौँ । नेपाल आयल निगमको केन्द्रीय भवन निर्माण अन्तिम चरणमा पुगेको छ । बबरमहलस्थित अत्याधुनिक कर्पोरेट भवन करिब ९१ करोड रुपैयाँ लागतमा निर्माण भएको यो भवनको ९८ प्रतिशत काम सकिएको छ । 

असार मसान्तभित्र निर्माण सम्पन्न हुने भए पनि परीक्षण र सर्ने प्रक्रियाका कारण पूर्ण रूपमा सञ्चालनमा आउन भने अझै करिब दुई महिना लाग्ने निगमले जनाएको छ ।

१४ तलाको अत्याधुनिक यो भवन अब २ प्रतिशत काम बाँकी छ । असारभित्र सम्पन्न हुने निगमका कर्पोरेट भवन निर्माण आयोजना प्रमुख राम बन्जराले बताए । 

‘९८ प्रतिशत काम सकियो । बाँकी काम असारको अन्तिमसम्ममा सकाउनुपर्नेछ । त्यहीअनुसारको काम गरिरहेका छौँ,’ उनले भने,‘भौतिक संरचना तयार भयो । इन्डोरको काम पनि अलमोस्ट सकिइसकेको छ बाहिर आउटडोरमा अलि–अलि काम बाँकी हो । त्यो लाइट जडान गर्ने, बाउण्ड्री वालहरूको थोरै काम बाँकी हो ।’

सिंहदरबारको दक्षिण गेट नजिकै निगमको अत्याधुनिक कर्पोरेट भवन निर्माणको चरणमा छ । यसअघिको भवन २०७२ वैशाख १२ गते आएको विनाशकारी भूकम्पले चर्किएपछि भत्काएर सोही स्थानमा नयाँ भवन निर्माण गरिएको हो । त्यसयता निगमको केन्द्रीय कार्यालय हाल काठमाडौँको टेकु (साविकको नेशनल टेडिङको भवनमा रहेको छ । नेशनल ट्रेडिङ खाद्य संस्थानसँग गाभिएपछि त्यहाँको भवनमा निगम भाडामा बसेको थियो । पछि ४० रोपनी जग्गासहित भवन निगमले खरिद गरेको छ । 

लागत कति ? 

बन्जराकाअनुसार मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक ८० करोड ९९ लाख रुपैयाँ लागत रहेको यो भवन भ्याटसहित कुल ९१ करोड रुपैयाँमा सम्पन्न हुने जनाइएको छ । भवनको डिजाइन एनट आर्किटेक्चरल एन्ड आर्किटेक्ट प्रालिले र निर्माणको काम केसी समानान्तर रेलिगेयर जेभीले गरेको हो ।

भवन निर्माणका लागि २०७८ मङ्सिर १९ गते सम्झौता भएको यो भवन २०८१ मङ्सिर १० गते निर्माण सम्पन्न हुनुपर्ने हो । तर सो अवधिमा सम्पन्न हुन नसकेपछि असार मसान्तसम्म निर्माण सम्पन्न गर्न समय दिइएको थियो । 

कुल ९,५९५ वर्गमिटर क्षेत्रफलमा फैलिएको यो भवनमा दुई तले भूमिगत पार्किङ निर्माण गरिएको छ ।  उक्त पार्किङमा ६० वटा भन्दा बढी चार पाङ्ग्रे सवारी र ७० वटा दुई पाङ्ग्रे सवारी अट्ने जनाइएको छ । अपङ्गमैत्री भवन बनाइएको छ, जहाँ सहज पहुँचका लागि र्‍याम्प र लिफ्टको व्यवस्था छ ।

दुई तला बेसमेन्टसहितको यो १४ तले भवन आधुनिक प्रविधियुक्त र सुविधा सम्पन्न छ । भवनभित्र मेकानिकल, इलेक्ट्रिकल, प्लम्बिङ, फल्स सिलिङ, पेन्टिङ, कार्पेटिङ र फर्निचर जडानजस्ता कामहरू भइरहेको छ ।  भवनमा टेलिफोन, इन्टरनेट र सीसी क्यामेराका लागि आवश्यक संरचना तयार पारिएको छ भने सुरक्षाका लागि अत्याधुनिक फायर फाइटिङ सिस्टम पनि जडान गरिएको छ । 

बञ्जरा भन्छन्,‘आधुनिक किसिमले भूकम्पप्रतिरोधी, नेसनल बिल्डिङ कोड अथवा इन्डियन स्टान्डर्ड कोड अफ कम्प्लायन्सहरु चाहिं कम्प्लाइ गर्नुपर्छ, सबै स्टान्डर्ड फलो गरेर, नियम कानुनमा भएका सबै प्रक्रिया पूरा गरेर निर्माण गरिएको छ ।’ 

के–के छन् सुविधा ? 

भवनमा दुई वटा लिफ्ट जडानको काम भइरहेको छ । यसबाहेक निगमले कर्मचारीका बालबालिकाका लागि छुट्टै ‘डे केयर सेन्टर’ भवन पनि निर्माण गरेको छ, जसमा भान्सा, शौचालय र ठुलो हलको व्यवस्था छ ।

कुल ९,५९५ वर्गमिटर क्षेत्रफलमा फैलिएको यो भवनमा दुई तले भूमिगत पार्किङ निर्माण गरिएको छ ।  उक्त पार्किङमा ६० वटा भन्दा बढी चार पाङ्ग्रे सवारी र ७० वटा दुई पाङ्ग्रे सवारी अट्ने जनाइएको छ । अपङ्गमैत्री भवन बनाइएको छ, जहाँ सहज पहुँचका लागि र्‍याम्प र लिफ्टको व्यवस्था छ ।

नयाँ भवनमा निगमका ७ वटा विभाग, आपूर्ति तथा वितरण विभाग, वित्त विभाग, प्रशासनिक विभाग, इन्जिनियरिङ परियोजना तथा सूचना प्रविधि विभाग, गुणस्तर नियन्त्रण विभाग, आन्तरिक नियन्त्रण विभाग, डेटा केन्द्र, एलपीजी उड्डयन विभाग, पुस्तकालय डीएमडी मार्केटिङ रहनेछन् । यसैगरी डेटा सेन्टर, पुस्तकालय, एक सय जनाभन्दा बढी अट्ने सेमिनार हल र स्टोर रहनेछन् । ५२.५ मिटर अग्लो यो भवनमादुईवटा लिफ्ट आपत्कालीन अवस्थाका लागि छुट्टै भर्‍याङसहित कुल ३ वटा भर्‍याङ रहेका छन् । 

कहिलेदेखि सञ्चालनमा आउँछ ? 

 

यो भव असार मसान्तभित्र सकिए पनि सञ्चालनमा आउन दुई ती महिना लाग्ने निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टको भनाइ छ । 

‘सबै कम्प्लिट, सानोतिनो कामहरू पनि सबै कम्प्लिट भइसकेको छैन काम हुँदै छ । यो महिनाको अन्तिम सम्ममा सिद्धिन्छ,’ भट्ट भन्छन्,‘परीक्षण गर्नुपर्ने छ । केही न केही बिग्रेका होलान्, फेर्नुपर्ने, निर्माणकर्ताले एक्स्पिडाइट गर्नुपर्ने कुराहरू हुन्छ नि त ।  जस्तो हामीले भनेअनुसारको बनाएको छैन भने त्यसलाई रिप्लेस गर्नुपर्ने हुन्छ । त्यसकारण समय लाग्छ ।

परीक्षणका लागि थप एक महिना लाग्ने र नयाँ भवनमा सर्न थप २० दिन जति लाग्ने बताए । त्यसपछि उद्घाटन हुन करिब  २ महिना लाग्ने उनको भनाइ छ । 

भट्टले भने, ‘अनि हाम्रो अनि सार्ने क्रममा, नयाँको सामानहरू सार्दाखेरि अर्को १५ दिन भनम् न, नर्मल्ली सर्नलाई त्यही दुई महिना हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना घिमिरे
कल्पना घिमिरे
लेखकबाट थप