बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
समाचार

त्रिभुवन विश्वविद्यालयमा उपकुलपतिसहितका पदाधिकारीलाई प्रवेश निषेध

आइतबार, २२ असार २०८२, १४ : ०३
आइतबार, २२ असार २०८२

सारांश

  • अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूलाई विश्वविद्यालय परिसरमा प्रवेश निषेध गरेको छ।
  • फास्ट ट्र्याकबाट प्राध्यापक र उपप्राध्यापक नियुक्ति प्रक्रियामा गम्भीर त्रुटि भएको आरोप लगाएको छ।
  • अदालतको आदेशको सम्मान गर्दै तालाबन्दी खोले पनि माग पूरा नभएसम्म प्रवेशमा रोक लगाउने निर्णय गरेको छ।

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले त्रिभुवन विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष, रजिस्ट्रार र त्रिवि सेवा आयोगका पदाधिकारीहरूलाई विश्वविद्यालय परिसरमा प्रवेश निषेध गरेको छ।

अखिल क्रान्तिकारी त्रिविको कार्यवाहक अध्यक्ष शिवराज भट्टले एक विज्ञप्ति जारी गर्दै माग पूरा नहुँदासम्मको लागि प्रवेश निषेध गरेको जनाएका हुन्। विश्वविद्यालयले ‘अनुसन्धान विशिष्टतामा आधारित (फास्ट ट्र्याक)’ माध्यमबाट प्राध्यापक र उपप्राध्यापक नियुक्ति प्रक्रियामा गम्भीर त्रुटि गरेको आरोप लगाएको छ। लिखित परीक्षालाई पूर्ण रूपमा बेवास्ता गरी केवल मौखिक परीक्षा र कृति प्रकाशनका आधारमा गरिने नियुक्तिले आर्थिक चलखेल बढाउने र शैक्षिक गुणस्तर खस्काउने सङ्गठनको दाबी छ।

‘आजभोलि बजारमा डलर तिरेर कृत्रिम व्यक्तिद्वारा अनुसन्धान र कृति प्रकाशन गर्ने कार्य व्यापक भइरहेको छ,’  विज्ञप्तिमा भनिएको छ, ‘यस्तो अवस्थामा लिखित खुला प्रतिस्पर्धा नगराई कृति प्रकाशनलाई मात्र मूल्याङ्कनको आधार बनाउँदा वास्तविक विद्वानको सट्टा पैसाको भरमा नियुक्ति पाउने खतरा बढ्यो, जसले विश्वविद्यालयको गुणस्तर धराशायी बनाउँछ।’

यसअघि सङ्गठनले यही माग राख्दै विश्वविद्यालयमा तालाबन्दी गरेको थियो। तर, विश्वविद्यालय प्रशासनले तालाबन्दीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेपछि अदालतले ताला खोल्न अन्तरिम आदेश दिएको थियो।

क्रान्तिकारीले अदालतको आदेशको सम्मान गर्दै तालाबन्दी खोले पनि आफ्ना मागहरू पूरा नभएसम्मका लागि दबाबस्वरूप पदाधिकारीहरूलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको जनाएको छ। माग पूरा नभएसम्म उपकुलपति, शिक्षाध्यक्ष, रजिस्ट्रार र त्रिवि सेवा आयोगका पदाधिकारीलाई विश्वविद्यालय हाताभित्र प्रवेश निषेध गरिएको विज्ञप्तिमा स्पष्ट पारिएको छ। 

496513628_1060193442395250_8448263905636534434_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप