बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कर्मचारीलाई विश्वास गर्दा मुलुक बिग्रियो, गम्भीर समीक्षा गर्नुपर्छ : सिटौला

आइतबार, २२ असार २०८२, १६ : ४५
आइतबार, २२ असार २०८२

सारांश

  • कांग्रेस नेता सिटौलाले कर्मचारीमा मात्रै क्षमता देख्दा मुलुक बिग्रिएको बताएका छन्।
  • पार्टीमा क्षमतावान् व्यक्तिहरूलाई विश्वास नगर्दा समस्या देखिएको सिटौलाको भनाइ छ।
  • उनले पञ्चायतकालीन प्रशासनका मानिसहरूलाई लिएर काम चलाइरहेको र निजामती विधेयकमा लापरबाही भएको बताए।

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले कर्मचारीलाई मात्रै जुनसुकै क्षेत्रमा क्षमतावान देख्दा मुलुक बिग्रिएको बताएका छन् । पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा पार्टीमा रहेका क्षमतावान् धेरै पढेलेखेका, पीएचडी गरेका, डाक्टर, इन्जिनियरहरूलाई विश्वास गर्न नसक्दा समस्या देखिएको सिटौलाले बताए ।  

‘क्षमता खाली कर्मचारीमा मात्रै किन देख्छौँ हामीले ? हाम्रै पार्टीमा यति धेरै पढेलेखेका, पीएचडी गरेका, डाक्टर, इन्जिनियर अरू थुप्रै विषयका साथीहरू हुनुहुन्छ तर हामीले त्यो विषय खोज्दैनौँ,’ सिटौलाले भने- ‘ठ्याक्कै कर्मचारी भेटिहाल्छौँ । कर्मचारी भएपछि अरू नखोज्ने हाम्रो प्रवृत्ति भयो । कर्मचारीले नै काम बिगारेको छ ।’

उनले अहिले पनि पञ्चायतकालीन प्रशासनका कुनै नयाँ भिजन नभएका मान्छे लिएर प्रशासनमा काम चलाइरहेको बताए । निजामती कर्मचारीको विधेयकमा शब्द थपिएकोबारे पार्टीका समितिमा भएका सांसदहरूलाई थाहा नहुनु लापरबाही रहेको सिटौलाले बताए ।

‘निजामती कर्मचारी विधेयकमा हाम्रो तर्फबाट लाइन/लाइन हेर्ने काम भएको छैन । ठुलो लापरबाही भएको छ । कर्मचारीमाथि अत्यन्त ठुलो ट्रस्ट भएको छ,’ सिटौलाले भने– ‘अब त्यति बिगारेपछि पनि त्यही प्रशासनलाई लिएर हामी परिवर्तनलाई टिकाउन खोज्छौँ भने उनीहरूमाथि विश्वास गर्ने आधारचाहिँ के त अब ?’

यस्तो अवस्थालाई सिरियसली सोच्नुपर्ने सिटौलाले बताए । आफूहरूले परिवर्तन ल्याए पनि परिवर्तनलाई हाँक्ने प्रशासन बनाउन असफल भएको उनको भनाइ छ । राज्य सञ्चालनको विषयमा गम्भीर समीक्षा गर्नुपर्ने उनको धारणा छ । 

 ‘न्याय सम्पादनको कुरा समीक्षा गरौँ । न्यायपालिकाको कुरा समीक्षा गरौँ, संविधान बलियो बनाएर समीक्षा गरौँ । संविधान संशोधनले गर्ने नीतिहरूबारे समीक्षा गरौँ । हामीले क्षमता खाली कर्मचारीलाई मात्रै किन देख्छौँ । यसमा पनि समीक्षा हुन जरुरी छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप