बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बाढीमा डुबिरहेको नेपाल र समाधानका जापानी उपाय

सोमबार, २३ असार २०८२, ११ : ०३
सोमबार, २३ असार २०८२

सारांश

  • नेपालमा बाढीको समस्या गम्भीर छ, जापानको उदाहरणबाट पाठ सिक्दै समाधान खोज्नुपर्छ।
  • बाढी व्यवस्थापनका लागि वैज्ञानिक अध्ययन, नदीलाई ठाउँ दिने र समुदायको सहभागिता आवश्यक छ।
  • सस्तो प्रविधि, चेतना अभिवृद्धि र स्पष्ट नीति बनाएर बाढीबाट सुरक्षित हुन सकिन्छ।

बाढी विश्वभरि नै एक गम्भीर प्राकृतिक विपत्ति हो, तर नेपालको जस्तो भौगोलिक रूपले जटिल र स्रोत-साधन सीमित देशमा यसको प्रभाव झनै खतरनाक हुन्छ। हिमाली भेगमा अवस्थित नेपालमा हरेक वर्ष जुनदेखि सेप्टेम्बरसम्म मनसुनको समयमा भारी वर्षा हुन्छ, जसले गर्दा देशभरि बाढी र पहिरो आउने गर्छ। 

कोशी, नारायणी र कर्णालीजस्ता नदीहरू हिमालबाट बग्दै तराईसम्म पुग्छन् र ती नदीका तटीय छेत्र बाढीको उच्च जोखिममा हुन्छन्। हरेक वर्ष सडक, पुल, जलविद्युत् आयोजना लगायतका पूर्वाधारहरूमा ठूलो क्षति हुन्छ। उदाहरणको लागि सन् २०२१ को मनसुनमा निरन्तर वर्षाले पृथ्वी राजमार्गको मालेखु र मुग्लिन खण्डमा पहिरो र बाढी आएको थियो । जसले काठमाडौँ–पोखरा मुख्य सडक दिनौंसम्म अवरुद्ध बनायो र हजारौं मानिसहरू समस्यामा परे।

शहरी क्षेत्रहरू काठमाडौँ, भरतपुर, नेपालगञ्ज, विराटनगर बेलाबेला कमजोर ढल प्रणालीका कारण जलमग्न हुने गर्छन्। ग्रामीण भेगमा भने घर बगाउने, किसान विस्थापित हुने, खेतीबाली नष्ट हुने र खाद्य सुरक्षामा समस्या आउने गर्छ। 

पशुहरू मर्छन्, विद्यालय बन्द हुन्छन्, र विपद्को मारमा परेका परिवारहरूमा आर्थिक बोझ अत्यधिक हुन्छ। यस्ता नियमित र विनाशकारी घटनाहरू भइरहँदा पनि नेपालको बाढी व्यवस्थापन प्रणाली अहिले पनि प्रायः राहतमा मात्र केन्द्रित छ, दीर्घकालीन समाधानको अभाव छ।

जापान पनि नेपालजस्तै बाढीको उच्च जोखिममा पर्ने मुलुक हो । तर उसले जोखिम न्यूनीकरणमा विश्वकै उत्कृष्ट उपायहरू अपनाएको छ। जापानले संरचनात्मक (जस्तै: ड्याम, तटबन्ध, भूमिगत बाढी निकास प्रणाली) र गैर-संरचनात्मक (जस्तै: समयमै सूचना दिने प्रणाली, समुदाय शिक्षादेखि जोखिम नक्शा बनाउने) दुवै उपायहरू सन्तुलनमा ल्याएर लागू गरेको छ। टोकियोको “G-Cans” परियोजना संसारकै सबैभन्दा ठूलो भूमिगत बाढी नियन्त्रण प्रणालीमध्ये एक हो, जहाँ विशाल सुरुङ र ट्यांकीहरू प्रयोग गरेर नदी र शहरी क्षेत्रका बाढीपानीहरू सङ्कलन र निकास गरिन्छ।

जापानले नदीलाई ठाउँ दिने भन्ने अवधारणालाई पनि अपनाएको छ, जसले बाढीको समयमा नदीहरूलाई फैलिन दिन्छ र तटबन्धहरू पुनः डिजाइन गरी बाढीलाई प्राकृतिक रूपमै फैलिन दिने ठाउँ सुनिश्चित गर्छ। यसले नदी किनारको दवाव कम गर्छ र जैविक विविधता पनि जोगाउँछ। 

साना नदीहरूमा जापानले ग्याबियन (ढुङ्गाले भरिएको पञ्जा), स्पर, बोटबिरुवाबाट संरक्षण, कङ्क्रिट तटबन्ध आदि प्रयोग गर्छ। थप रूपमा, त्यहाँका बासिन्दाहरू नियमित रूपमा विपद् अभ्यास, खाली गराउने अभ्यास र जोखिमको नक्सा बनाउने कार्यमा सहभागी हुन्छन्। जापानको सफलता केवल प्रविधिमा होइन, तर चेतनशील समाज र नियमित अभ्यासमा आधारित छ।

नेपालमा भने बाढी नियन्त्रणका उपायहरू अपूर्ण, असंगठित र गुणस्तरहीन छन्। ग्याबियन जस्ता संरचना धेरैजसो समय डिजाइनबिना, बिना जग, बिना फिल्टर र बिना मर्मत बनाइन्छन् । जसले गर्दा ती बाढीमा सजिलै भत्किन्छन्। स्पर र तटबन्धहरू गलत ठाउँमा वा असन्तुलित दूरीमा बनाइन्छन्, जसले नदीको धार परिवर्तन गरी अरू भागमा क्षति पुर्याउँछ। 

समस्या डिजाइन, योजना र विशेषज्ञ सल्लाहको अभावमा सुरु हुन्छ। धेरै योजना बिना अध्ययन, बिना भूगर्भिक विश्लेषण र बिना इञ्जिनियर सल्लाह बनाइन्छन्। विशेषज्ञको राय अटेर गरिन्छ, गुणस्तर निरीक्षण हुँदैन र निर्माणको बेला भ्रष्टाचार हुन्छ। कमजोर सामग्री, अप्रशिक्षित कामदार र मर्मतको अभावका कारण संरचना लामो समय टिक्दैन।

बाढी खतरा नक्सा, चेतावनी प्रणालीहरू प्रायः जनसाधारणसम्म पुग्दैनन् र समुदायलाई तालिम दिने अभ्यास नगरेकोले बाढीको समयमा भाग्ने वा जोगिने उपायको थाहा नहुने समस्या छ। सरकारले बनाउने धेरै संरचना राजनीतिक दबाबमा निर्माण गरिन्छन्, न कि इञ्जिनियरको सुझावमा। यस्तो असफल संरचनाहरूको परिणाम स्वरूप वर्षेनी पुनः निर्माण खर्च, जनधनको क्षति र दुखद मानवीय संकट दोहोरिन्छ।

यसरी बर्सेनि बाढीका कारण जनधनको ठूलो क्षति भइरहँदा पनि दीर्घकालीन, वैज्ञानिक र वातावरणमैत्री समाधानको खाँचो अझै भरिँन सकेको छैन। देशको भौगोलिक बनावट, असन्तुलित वर्षा वितरण, अव्यवस्थित शहरीकरण, कमजोर पूर्वसूचना प्रणाली, र खराब संरचनागत योजनाका कारण बाढीको असर झनै गम्भीर बनेको छ। यस्ता समस्याको समाधानका लागि जापानजस्तो प्रविधि-मैत्री, अनुशासित र दीर्घदर्शी देशबाट पाठ सिकेर नेपालले पनि सस्तो, दिगो र व्यवहारिक समाधानमा जोड दिन आवश्यक छ। यो सन्दर्भमा निम्न उपायहरू अत्यन्त उपयोगी हुन सक्छन्:

१. वैज्ञानिक अध्ययन र सस्तो, तर गुणस्तरीय संरचनाको विकास
नेपालमा बाढी नियन्त्रणका लागि वर्षौंअगाडि बनाइएका ग्याबियन, स्पर र तटबन्धहरू अहिले पनि प्रयोग भइरहेका छन्, तर तीमध्ये धेरैजसो बिना डिजाइन, बिना गुणस्तर नियन्त्रण र स्थानीय अनुभवमा आधारित मात्रै रहेका छन्। यस्ता संरचनाले प्रारम्भिक अवस्थामा केही राहत दिए पनि दीर्घकालीन रूपमा टिकाउ नहुन सक्छन्। जापानले यस क्षेत्रमा गरेको ठूलो योगदान भनेको वैज्ञानिक अध्ययनको आधारमा प्रविधिको प्रयोग  हो।

नेपालले पनि हरेक संरचना निर्माणको अगाडि नदीको प्राकृतिक भूगोल, बहाव गति, गहिराइ, गादको मात्रा, तथा भूगर्भिक संरचना विश्लेषण गर्ने वैज्ञानिक अभ्यास सुरु गर्नुपर्छ। यस्तो अभ्यास महँगो देखिए पनि दीर्घकालमा सस्तो, सुरक्षित र टिकाउ सिद्ध हुन्छ।

सस्तो तर दिगो प्रविधि:
•    ग्याबियन संरचना: सस्तो, स्थानीय ढुंगा र तारजालीको प्रयोगबाट बन्ने ग्याबियन संरचना उचित डिजाइन र फिल्टर/जिओटेक्सटाइलको प्रयोगसहित बनाइएमा धेरै लचिलो, सस्तो र पुनः प्रयोग गर्न मिल्ने हुन्छ।
•    माटो भरिएको ब्याग प्रविधि: जापानले सानो स्तरको आपतकालीन अवस्थामा प्रयोग गर्ने यो प्रविधि पनि नेपालमा ग्रामीण क्षेत्रमा तत्कालीन राहतका लागि सस्तो र उपयोगी हुन्छ।
•    बायोइन्जिनियरिङ विधि: स्थानीय झार/घाँस (जस्तैः vetiver grass), बाँस वा बोटबिरुवाको प्रयोग गरी नदी किनार सुदृढ पार्ने जापानी प्रविधि सस्तो मात्र होइन, वातावरणमैत्री पनि हुन्छ।

२. नदीलाई ठाउँ दिने अवधारणाः बाढीलाई ठाउँ दिने, रोक्ने होइन
जापानको नदीलाई ठाउँ दिने अवधारणा अत्यन्त सान्दर्भिक छ। यसको आधारभूत सोच भनेको बाढीलाई ठाडै रोक्नु होइन, प्राकृतिक रूपमा फैलिन दिने, तर नियन्त्रित तरिकाले व्यवस्थापन गर्ने हो।

नेपालमा विशेषगरी बागमती, कमला, राप्ती जस्ता नदीहरूमा बाढीको बेलामा पानीको बहावलाई फैलिन नदिने प्रयास गर्दा तटबन्ध भत्कने, नदी मार्ग नै परिवर्तन हुने र भू-क्षयको सम्भावना बढी हुन्छ। त्यसैले नदी छेउछाउका केही भूभागलाई बाढी विसर्जन क्षेत्र को रूपमा छुट्याउनुपर्छ, जहाँ आवश्यक परेमा पानी फैलिन सकोस्। यसले भूजल पुनःभरण, कृषि माटोको परत थपिनु, जैविक विविधताको संरक्षण आदि विविध फाइदा दिन्छ।

नेपाल सरकारले नीति निर्माणमै यस्तो अवधारणा समावेश गरेर संरचना (जस्तैः तटबन्ध) र असंरचना (जस्तैः भूमि प्रयोग नीति, चेतना अभिवृद्धि) उपायलाई समेट्नुपर्छ।

३. सस्तो, आधुनिक र समुदायमैत्री बाढी चेतावनी प्रणाली
जापानले बाढी आउनुभन्दा २४–४८ घण्टाअगावै उपग्रह डाटा, राडार प्रणाली, मौसम पूर्वानुमान संयन्त्र र मोबाइल नेटवर्कमार्फत आम जनतालाई सूचित गर्न सक्ने अत्याधुनिक प्रणाली विकास गरेको छ। नेपालमा पनि यस्तो प्रणाली निर्माण गर्न कम लागतमा उपलब्ध प्रविधि हरूको प्रयोग गर्न सकिन्छ:
•    कम लागतमा जडान गर्न सकिने वर्षा मापक यन्त्र र जलस्तर मापन यन्त्र  विकास गर्न सकिन्छ।
•    मोबाइल एप र एसएमएस अलर्ट प्रणाली जडान गरेर ग्रामीण क्षेत्रमा जानकारी पुर्याउन सकिन्छ।
•    स्थानीय एफएम रेडियो र लाउडस्पिकर प्रणाली मार्फत गाउँसम्म सन्देश पुर्याउन सकिन्छ।
यस्ता चेतावनी प्रणालीले मानव क्षति न्यून पार्न अत्यन्त प्रभावकारी भूमिका खेल्छ। जापानमा विद्यार्थीदेखि वृद्धसम्मले पूर्वसूचनालाई गम्भीरतापूर्वक लिन सिकेका छन्। नेपालले पनि यस दिशामा “प्रविधि + शिक्षा” को संयोजनमा अगाडि बढ्नुपर्छ।

४. शहरी क्षेत्रमा वर्षा जल व्यवस्थापनको प्रविधि
नेपालका सहरहरूमा वर्षाको पानी सीधा ढल प्रणालीमा मिसिएर वा सडकमा जमेर समस्या बनाउँछ। जापानले भने water harvesting, permeable pavement, rain garden जस्ता प्रविधिको प्रयोग गरेर शहरी बाढी नियन्त्रण गरिरहेको छ। नेपालले पनि निम्न उपायहरू अवलम्बन गर्न सक्छ:
•    भूमिगत जल सञ्चय ट्यांकी: वर्षाको पानी जम्मा गरेर आवश्यक समयमा सिंचाइ, धुने, फ्लश आदि कार्यमा प्रयोग गर्न सकिन्छ।
•    पानी सोस्ने सडक: यस्तो सडकले पानीलाई भुइँमा समाहित गराउँछ, जसले भूजल भर्ने र सतह बहाव घटाउने काम गर्छ।
•    Green Roofs र Rain Gardens: घर र भवनको छतमा हरियाली लगाएर पानी रोक्ने र पौधाहरूलाई प्रयोग गराउने प्रणाली।
यी उपायहरूले नगरहरूलाई दिगो बनाउनुका साथै पानीको संकट पनि न्यून पार्छ।

५. सामुदायिक चेतना, अभ्यास र सहभागी योजना
बाढी नियन्त्रण प्रविधिको प्रभावकारिता समुदायले नबुझेसम्म वा अपनाउन नसकेसम्म पूर्ण रूपमा कार्यान्वयन सम्भव हुँदैन। जापानले विपद् व्यवस्थापनको शिक्षा विद्यालय तहदेखि सुरु गरेको छ। विद्यालय, टोल विकास संस्था, महिला समूह, युवा क्लब आदिलाई संलग्न गराई “सहभागी योजना” बनाउने अभ्यास नेपालमा पनि बढाउनुपर्छ।
•    वार्षिक विपद् अभ्यास : सामूहिक रूपमा बाढीको समय के गर्ने भन्ने अभ्यास गराउने।
•    बालबालिका, महिलालाई लक्षित तालिम: जोखिममा परेकाहरूलाई सुरक्षित राख्न, प्राथमिक उपचार सिकाउन।
•    स्थानीय सतर्कता समूह: गाउँ/टोलमै निगरानी र सूचनाको आदानप्रदान गर्न सक्ने “बाढी चौकी” जस्तै संरचना।

६. संघीय तहमा दीर्घकालीन नीति र स्पष्ट समन्वय
नेपाल संघीय मुलुक भएकोले बाढी नियन्त्रणका जिम्मेवारीहरू विभिन्न तहमा बाँडिएका छन्। तर कार्यान्वयनमा नीति अस्पष्टता, समन्वयको अभाव र वित्तीय स्रोतको अनिश्चितता जस्ता समस्या देखिन्छन्।
जापानमा संघीय सरकार, प्रान्तीय निकाय र स्थानीय तहबीच स्पष्ट समन्वय, जिम्मेवारी बाँडफाँड, र नियमित अनुगमन गरिन्छ। नेपालले पनि:
•    बाढी नियन्त्रण र विपद् न्यूनीकरण सम्बन्धी एकीकृत नीति बनाउने
•    स्थानीय तहलाई क्षमता अभिवृद्धि गराउने, प्रविधि हस्तान्तरण गर्ने
•    अनुदान र प्रोत्साहनको माध्यमबाट सस्तो प्रविधिको प्रयोगलाई प्राथमिकता दिने

यस्ता प्रयासले दीर्घकालीन, स्वदेशमै उत्पादन हुने प्रविधिको विकासमा समेत टेवा पुग्छ।

निष्कर्ष
नेपालमा बाढी एक प्राकृतिक घटना हो, तर त्यसलाई विपद् बन्नबाट जोगाउने उपाय हाम्रो हातमा छ। यसका लागि अब आवश्यक छ, महँगो प्रविधि होइन, सही सोच, समन्वय र सस्तो–व्यवहारिक समाधान।

जापानले प्राकृतिकसँग लड्न होइन, मिल्न सिक्ने नीति अपनाएको छ, जसले उनीहरूलाई विश्वकै सुरक्षित देशमध्ये राखेको छ। नेपालले पनि वैज्ञानिक सोच, जनसहभागिता र प्रविधिसँगको सहकार्य बढाएर बाढीको समस्या समाधान मात्र होइन, समृद्ध, सुरक्षित र वातावरणमैत्री भविष्य निर्माण गर्न सक्छ।

अब समय आएको छ — हामीले प्रकृति नियन्त्रण गर्ने सोच छोडेर, त्यसलाई बुझ्ने र सहकार्य गर्ने बाटो समाउने। यही बाटो सस्तो पनि छ, दिगो पनि। यही बाटो नेपालको उज्यालो भविष्यको आधार बन्न सक्छ।

(सुरेश लौडारी जापानको एहिमे विश्वविद्यालयबाट बाढी नियन्त्रण प्रबिधिमा विद्यावारिधि प्राप्त अनुसन्धानकर्ता हुन्। हाल उनी जापानको कोची विश्वविद्यालयमा जल तथा विपद् सम्बन्धी विषयमा अनुसन्धान गरिरहेका छन्।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ई.  डा. सुरेश लौडारी
ई. डा. सुरेश लौडारी
लेखकबाट थप