नागढुंगा–मुग्लिन सडकः म्याद थप्ने मात्र काम, ढिलासुस्ती कहिलेसम्म ?
सारांश
- नागढुंगा-मुग्लिन सडकको स्तरोन्नतिमा ढिलासुस्ती भइरहेको छ, जसका कारण यात्रुहरूले सास्ती भोग्नुपरेको छ।
- सडक निर्माणका लागि विश्व बैंकबाट ऋण लिइएको छ, तर विभिन्न प्याकेजहरू समयमै सम्पन्न हुन सकेका छैनन्, र म्याद थपिने क्रम जारी छ।
- सडक निर्माणमा ढिलाइ हुनुका कारणहरूमा मुआब्जा विवाद, निर्माण सामग्रीको अभाव, र गत वर्षको बाढीपहिरोले पुर्याएको क्षतिलाई लिइएको छ।
काठमाडौँ । सरकारले पूर्वाधार आयोजना समयमा सम्पन्न गर्न नसक्ने प्रवृत्तिको पछिल्लो उदाहरण बनेको छ, नागढुंगा–मुग्लिन सडक । संघीय राजधानी भित्रिने प्रमुख सडक निर्माणको गति कछुवाको चालमा छ । म्याद थप्नु सामान्य प्रक्रियाजस्तै भएको छ ।
विश्व बैंकको सहुलियतपूर्ण ऋणमा निर्माणाधीन यो सडकका तीनवटै प्याकेज लक्ष्यअनुसार निर्माण सम्पन्न हुन सकेका छैनन् । नागढुंगा–नौबिसे खण्डकै म्याद तेस्रो पटक थप्ने तयारी भइरहेको छ । अन्य दुई आयोजना आधा काम पनि हुन सकेको छैन । दैनिक १५ हजारभन्दा बढी सवारी ओहोरदोहोर गर्ने यो सडक समयमा निर्माण हुन नसक्दा ठुलो सास्ती भइरहेको छ ।
धुलो र हिलोका कारण सडक छेउका व्यापार व्यवसाय नै ठप्प छन् । यतिमात्र होइन स्थानीयबासीले स्वास्थ्य समस्या परेको गुनासो गरिरहेका छन् । तर सरकार भने सडक निर्माणमा ढिलासुस्ती गरिरहेको छ ।
नागढुंगा मुग्लिन सडक करिब ९५ किलोमिटर दूरी रहेको यो सडक खण्ड तीन वटा प्याकेज छुट्याएर स्तरोन्नति गरिँदै छ । पहिलो प्याकेजमा नागढुंगा–नौबिसे, दोस्रोमा नौबिसे–मलेखु र तेस्रोमा मलेखु–मुग्लिन भनी छुट्याइएको छ ।
पहिलो प्याकेजअन्तर्गत नागढुंगा–नौबिसे १२.२६ किलोमिटर, दोस्रो ४३.५४ किलोमिटर र तेस्रो ३८.८६ किलोमिटर छ । यी तीन वटै प्याकेजको निर्माणका लागि सरकारले विश्व बैंकबाट सहुलियतपूर्ण ऋण लिइएको छ ।
तीन प्याकेजमध्ये पहिलो र दोस्रो नागढुंगा–मुग्लिन सडक योजना पूर्वीखण्ड गजुरी धादिङअन्तर्गत निर्माणको चरणमा छ । तेस्रो प्याकेज नागढुंगा–मुग्लिन सडक योजना पश्चिम खण्ड चितवनअन्तर्गत निर्माणको क्रममा छ ।
नागढुंगा–नौबिसे खण्डमा म्याद थप्ने तयारी
नागढुंगा–मुग्लिन सडकको पूर्वी खण्डको पहिलो प्याकेज नागढुंगा–नौबिसे खण्डको १२.२६ किलोमिटर सडक हो । यसको भौतिक प्रगति करिब ८५ प्रतिशतसम्म पुगेको छ । १२.२६ किलो मिटर सडक पहिलो लेयरको कालोपत्र सकिएको सडक विस्तार आयोजना पूर्वी खण्डले जनाएको छ ।
पूर्वी खण्डका आयोजना प्रमुख केशव ओझाकाअनुसार करिब ६ किलोमिटर सडक दोस्रो लेयरको कालोपत्र सकिएको छ । तेस्रो तहको कालोपत्र बर्खा सकिएपछि सुरु गरिने भएको छ ।
साथै नागढुंगाको सुरुङको छेउको भाग र झ्याप्ले खोलाबाहेक सबै सडकमा कालोपत्र सकिएको छ । यो खण्डमा पर्ने दुईवटा पुलहरू नौबिसे र खत्रीपौवाको स्लाव ढलान भइसकेको छ । पहुँच मार्ग निर्माणको काम बाँकी छ ।
तीनै लेयरको कालोपत्र सकिएपछि यो खण्डमा यातायात सञ्चालनमा सहजता हुने आयोजनाले जनाएको छ । यो खण्ड १ अर्ब ३० करोड रुपैयाँ लागतमा जाङ्सु–सगुन जेभीले २०७८ चैत २९ गते २४ महिनाभित्र स्तरोन्नति सम्पन्न गर्नेगरी सम्झौता भएको थियो ।
तर डेढ वर्षपछि मात्रै निर्माण थालिएको थियो । २०८१ जेठ २८ गते सक्नुपर्नेमा नसकिएपछि २०८१ माघसम्मका लागि म्याद थपियो । उक्त म्यादमा नसकिएपछि दोस्रोपटक २०८२ साउन १० गतेसम्मका लागि म्याद थप गरिएको थियो ।
उक्त अवधिमा नसकिने भएपछि म्याद थप गर्ने तयारी भइरहेको आयोजना प्रमुख ओझाले बताए । ‘ठेकेदारले म्याद थपका लागि माग गरेको छ । एउटा आकाशे पुल निर्माण गर्नुपर्नेमा स्थानीयको अवरोधले रोकिएको थियो । पुल निर्माण क्षेत्रको मुआब्जाको समस्या हामीले समाधान गर्न नसक्दा निर्माण हुन सकेको थिएन,’ ओझा भन्छन्, ‘हाम्रै कारणले यो पुल निर्माण अघि बढेको थिएन । अहिले स्थानीयसँग सहमति भएर मुआब्जा पनि वितरण भइसक्यो । तर वर्खा लागेको हुनाले अहिले तत्काल काम सुरु गर्ने अवस्था छैन ।’
वर्खापछि मात्रै खानीखोलामा आकाशेपुल निर्माण सुरु हुने भएकाले म्याद थप गर्नुपर्ने उनको तर्क छ । साथै अहिले निर्माण थाल्दा निर्माण क्षेत्र आसपास थप क्षति पुग्न सक्ने भएकाले वर्खामा निर्माण अघि बढाउन नहुने उनले बताए ।
नौबिसे–मलेखु ४३ प्रतिशत मात्रै
पूर्वी खण्डको दोस्रो प्याकेज नौबिसे–मलेखु खण्डको करिब ४३ प्रतिशत काम सम्पन्न भएको छ । ४३.५४ किलोमिटरको यो खण्ड विस्तारका लागि ५ अर्ब ३३ करोड १९ लाख रुपैयाँ लागतमा जेडआईसीजी–शर्मा–लामा जेभीले २०७९ वैशाख १४ गते ३ वर्षभित्र सक्ने गरी ठेक्का सम्झौता गरेको थियो । तर सो अवधिमा विस्तार कार्यले गति लिन नसकेपछि २०८३ कात्तिकसम्मका लागि म्याद थप गरेको छ ।
यो खण्डको सडकमा केही स्थानमा ढलान गरिको छ केही स्थानमा कालोपत्र गरिएको छ । हालसम्म १५ किमी सडकमा पहिलो तहको कालोपत्र गरिएको आयोजनाले जनाएको छ ।
यस खण्डमा पर्ने १३ मध्ये ८ वटा पुल निर्माण सकिएर सञ्चालनमा समेत आइसकेका छन् । गणेशखोलाको १७ मिटर लम्बाइको पुल, डाङ्डुङे खोला १७ मिटर, खेस्ती खोला २२ मिटर, मछेडी खोला १०.७ मिटर, गर्दो खोला २७.७ मिटर, जुण्डी खोला १०.३ मिटर, पोखरे १७ मिटर र सोती खोला ११.१ मिटर गरी ८ वटा पुल सञ्चालनमा आएका छन् ।
सोप्याङ खोला, खहरे खोला, फेदी खोला, चिरौदी र गलौदी खोला गरी ५ वटा पुल निर्माणधीन अवस्थामा छन् । यसमध्ये गलौदी खोला पुल (२२ मिटर) ८० प्रतिशत निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार चिरौदी खोला पुल (१७ मिटर) ४५ प्रतिशत, फेदीखोला पुल (९.२ मिटर) २० प्रतिशत, खहरे खोला पुल (२५ मिटर) ६२ प्रतिशत र सोप्याङखोला पुल (२२ मिटर) ३० प्रतिशत निर्माण सम्पन्न भएको छ ।
मलेखु–मुग्लिन ३२ प्रतिशत काम
नागढुंगा मुग्लिन सडकअन्तर्गत पश्चिम खण्ड मलेखु–मुग्लिन खण्ड ३८.८६ किलोमिटर सडक हो । यो खण्डमा अहिलेसम्म ८ किलोमिटर सडक कालोपत्र गरिएको आयोजनाको पश्चिम खण्डले जनाएको छ । पश्चिम खण्डका आयोजना प्रमुख केदारप्रसाद नेपालका अनुसार करिब ३२ प्रतिशत काम सम्पन्न भएको छ ।
‘पश्चिम खण्डको कामको अहिलेसम्म प्रगति ३२ प्रतिशत भयो । त्यसमा ८ किलोमिटर चार लेनको कालोपत्रे सम्पन्न भएको छ । यस खण्डमा ६ वटा पुलमध्ये चार वटा अन्तिम चरणमा पुगेको छ,’ नेपालले भने, ‘दुईवटा पुलहरू भर्खर काम सुरु भएको छ ।’
हालसम्म ३० किलोमिटर सडक कालोपत्र हुन बाँकी छ । २०७९ पुस १५ गते ठेक्का सम्झौता भएको यो खण्ड कुल ४ अर्ब ८० करोड ५९ लाख रुपैयाँ लागतमा शर्मा–जेडआईसीजीले निर्माणको जिम्मा पाएको थियो । सम्झौताअनुसार २०८२ पुस १५ भित्र सक्नुपर्ने म्याद छ । तर आगामी आर्थिक वर्षभित्र निर्माणसम्पन्न हुने नेपाल बताउँछन् ।
यो खण्ड ढिला हुनुमा थुप्रै कारणहरू रहेको नेपाल बताउँछन् । ‘यो सडक खण्ड निर्माणमा ढिलाई हुनुको मुख्य कारण विजुलीका पोल र सडक दायाँ–बायाँका रूखहरू समयमा नकाट्नु हो,’ नेपालले भने, ‘त्यसपछि निर्माण सामग्रीहरूको उपलब्धता समयमा नहुनु र निर्माण व्यवसायीको पनि स्रोत परिचालनमा ढिला सुस्ती आदि कारणहरू हुन् ।’
उनका अनुसार ४०४ वटा पोलहरू हटाउन पर्नेमा ३०३ वटा हटाइसकेको छ । ९७ वटा पोल अझै हटाउँन बाँकी छ । रूख काट्ने कामहरू सम्पन्न भइसकेको छ ।
यसैगरी सडक सीमाभित्र घर टहराको मुआब्जा तथा क्षतिपूर्ति दिनेबारे करिब मूल्यांकन भइसकेको छ । तर वितरण हुने कामहरू बाँकी छ । केही घर टहराहरूको मूल्याङ्कन हुन बाँकी छ । ७० प्रतिशत घर टहराको मुआब्जा वितरण भइसकेको छ भने ३० प्रतिशतको मुआब्जा वितरण हुन बाँकी छ ।
साथै गत असोजको दोस्रो साता परेको अविरल वर्षाका कारण आएको बाढिले सडकमा क्षति पुग्दा थप चुनौति थपिएको नेपाल बताउँछन् । ‘असोज १०, ११, १२ गते आएको भीषण बाढी पहिरोले धेरै ठाउँमा सडकलाई क्षति पुरÞ्याएको हुनाले थप काम गर्न पनि ढिलो भय,’ उनले भने, ‘असोजमा क्षति पुर्याएको ठाउँहरूमा चाहिँ पुनर्निर्माणको काम हुँदैछ । कृष्णभिरमा पुगेको क्षतिका कारण सडक निर्माणमा थप चुनौती थपियो ।’
उनका अनुसार बाढी पहिरोका कारण यस खण्डका १० स्थानको सडक ठुलो क्षति पुगेको थियो । त्यसमध्ये पनि सबैभन्दा ठुलो क्षति कृष्णभीरको हो । कृष्णभिरलगायत सबै क्षतिग्रस्त स्थानमा पुनर्निर्माण भइरहेको छ । केही स्थानमा भने सम्पन्न भइसकेको उनको भनाइ छ ।
‘बाढीले गर्दा पनि हाम्रो काम ढिला सुस्ती भयो । हामीले आवश्यकता भन्दा बढी समय लगायौँ,’ उनले भने, ‘लगभग १० ठाउँमा ठुला पहिरो आएकाले बढी नै क्षति पुग्यो । अन्य धेरै ठाउँमा सामान्य क्षति भएका थिए । तर धेरै ठाउँमा पर्खाल लगाएर काम भइरहेको छ । पुनर्निर्माणको काम छिटो गर्नुपर्ने अवस्था छ ।’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण