एमसीसीको निरन्तरता : अमेरिकी ‘निगाह’ कि नेपालमाथिको रणनीति ?
काठमाडौँ । गत असार ४ गते बुधबार नेपालस्थित अमेरिकी दूतावासले अमेरिकाको अनुदानसम्बन्धी सम्झौता ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ कार्यान्वयनलाई निरन्तरता दिने र पूर्ण कार्यान्वयन गर्ने भन्दै विज्ञप्ति निकाल्यो ।
अमेरिकी सरकारी प्रभावकारिता विभाग (डज) को सिफारिसमा विश्वभर तीन महिनाका लागि परियोजना स्थगित गर्ने निर्णय भएपछि पछिल्लो पाँच महिनादेखि एमसीसी परियोजनाको कार्यान्वयन निरन्तर हुने वा नहुने भन्नेमा अन्योल थियो । उक्त अन्योलबिच दूतावासको विज्ञप्तिले पूर्ण कार्यान्वयनका लागि निरन्तरता पाउने जानकारी गरायो ।


सन् २०२५ फेब्रुअरीमा स्टेट सेक्रेटरीले अमेरिकाको विदेशी सहायता ९० दिनका लागि स्थगित गर्ने निर्णयमा नेपालका लागि एमसीसी कम्प्याक्टमा विशेष छुट दिने प्रस्ताव स्वीकृत गरेका थिए । सोही छुटअनुसार एमसीसी पूर्ण कार्यान्वयनसहित निरन्तर रहने अधिकार प्राप्त भएको बताइन्छ ।
एमसीसी र नेपालस्थित अमेरिकी नियोगले समीक्षालाई रचनात्मक रूपमा समर्थन गर्दै सरोकारवालासँग निरन्तर छलफल गरिरहेको पनि उल्लेख थियो । त्यस्तै, ‘संयुक्त राज्य अमेरिका समृद्धिको प्रवर्द्धन र दीर्घकालीन आर्थिक दिगोपनाबाट नेपाली जनतालाई सहयोग गर्न र आफ्नो नेपालसँगको द्विपक्षीय सम्बन्धप्रति प्रतिबद्ध छ,’ विज्ञप्तिमा भनिएको थियो ।
दूतावासको विज्ञप्तिले एमसीसी परियोजनाले निरन्तरता पाउने आशा त जगायो, तर सरकारले भने अमेरिकी सरकार तथा एमसीसीबाट कुनै पनि आधिकारिक जानकारी नआएको बताउँदै आएको छ । सरकारले आधिकारिक जानकारी नआएको बताए पनि गत असार १८ गते बुधबार भने मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) ले सम्झौताको पूर्ण कार्यान्वयनलाई स्वागत गरेको छ ।

पछिल्लो पाँच महिनायता एमसीसीलाई लिएर विभिन्न टीका–टिप्पणीसमेत भइरहेका छन् । यस सन्दर्भमा एमसीसीमा अमेरिकी सरकारले नेपालप्रति ‘निगाह’ गरेको हो वा अन्य कुनै रणनीति बुनेको हो भन्ने विश्लेषण हुन थालेको छ ।
तर, एमसीए–नेपालले २९७ किमी विद्युत् प्रसारण लाइन निर्माण तथा सडक मर्मतलगायत कार्यसम्बन्धी खरिद प्रक्रिया सम्पन्न गर्न एमसीसीसँग निकटतापूर्वक काम गरिरहेको बताएको छ । वैदेशिक सहयोगसम्बन्धी समीक्षा सुरु हुनुअघि नै अगाडि बढिसकेका तीनवटा सबस्टेसन एवं १८ किमी सीमापार प्रसारण लाइन निर्माणसम्बन्धी कार्यलाई निरन्तरता दिइरहेको एमसीए–नेपालले रातोपाटीलाई जानकारी दियो ।
एमसीए–नेपालले सहायता निरन्तरताका लागि अमेरिकी सरकारसँग निरन्तर छलफल भइरहेको जनाएको छ । पछिल्लो पाँच महिनामा पनि कुनै पनि काम नरोकिएको र परियोजनाका काम निरन्तर अघि बढेको एमसीए–नेपालको भनाइ छ । एमसीए–नेपालले काममा केही ढिलाइ भए पनि कुनै काम नरोकिएको जनाएको छ ।
‘नेपालको ऊर्जा र यातायात क्षेत्रको विकासमा महत्त्वपूर्ण प्रभाव पार्ने यी पूर्वाधार आयोजनाहरू सम्पन्न गर्न प्रतिबद्ध छौँ,’ उसले भनेको छ ।
अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले अमेरिकी सरकारबाट परियोजना कार्यान्वयनको औपचारिक पत्र नआए पनि निरन्तरता पाउने आशा रहेको बताए । उनले भने, ‘यो ट्रान्जिसन वा सङ्क्रमणकालीन अवस्था हो, जहाँ काम पनि भइरहेको छ र पूर्ण स्पष्टता पनि आइसकेको छैन । तर, अमेरिकी दूतावासको सकारात्मक सङ्केत र एमसीए–नेपालको सक्रियताले निरन्तरताको आशा बलियो बनाएको छ ।’
उनले अमेरिकामा नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पको आगमनपछि जारी कार्यकारी आदेशले विश्वभरका अमेरिकी सहयोग परियोजनाहरूमा एक प्रकारको संशय पैदा गरेको बताए । उक्त कार्यकारी आदेशको असर नेपालको एमसीसीमा देखिए पनि यस अन्योलका बिच परियोजनाको काम नरोकिएको उनको दाबी छ ।
त्यस्तै, अमेरिकासँग एमसीसी परियोजना निरन्तरताका लागि नेपालले गरेको सघन प्रयत्नको परिणाम भएको भण्डारीले बताए । एमसीसी परियोजना अन्य देशको भन्दा नेपालको हकमा फरक रहेको उनको दाबी छ ।
विश्लेषक सुवेदीले पनि अमेरिकाले नेपाल, मंगोलिया, सेनेगल र आइभरी कोस्टजस्ता चारवटा देशलाई निरन्तरता दिएको जानकारी दिए । उनले भने, ‘अमेरिकाले नेपाललाई मात्रै दिएको होइन, नेपालको हकमा यो परियोजना भारतसँग पनि जोडिएको छ । यो परियोजनाअन्तर्गत प्रसारणलाइन भारतसँग जोडिने भएकाले अमेरिकाले नेपाललाई मात्रै हेरेर हुँदैनथ्यो ।’
यो सहायता नेपाललाई दिइएको भए पनि भारतसँग जोडिएकाले नै निरन्तरता पाएको उनको ठोकुवा छ । सुवेदीले परियोजनामा भारत पनि जोडिएकाले खारेज गर्न असहज भएको तर्क गरे ।
त्यस्तै, प्रवक्ता भण्डारीले पनि नेपालको आफ्नै प्रस्ट आवश्यकता, परियोजनाको रणनीतिक महत्त्व र कार्यान्वयन निकायको निरन्तर सक्रियताले काम गरेको बताए । ‘यो नेपालका लागि एक महत्त्वपूर्ण सिकाइ पनि हो । यसले दातामाथिको परनिर्भरताको जोखिम र आत्मनिर्भरताको आवश्यकतालाई एकैसाथ उजागर गरेको छ,’ उनले तर्क गरे ।

- अमेरिकी ‘निगाह’ कि नेपालमाथिको रणनीति
अमेरिकी राष्ट्रपतिका रूपमा दोस्रो कार्यकालका लागि निर्वाचित भएर पदभार ग्रहण गरेकै दिन डोनाल्ड ट्रम्पले विभिन्न कार्यकारी आदेशहरूमा हस्ताक्षर गरेका थिए ।
राष्ट्रपति ट्रम्पका तत्कालीन ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी’ (डज) का प्रमुख एलन मस्कले सरकारी खर्च कटौती गर्दै अमेरिकी सहायता रोक्ने निर्णय गर्दा नेपालमा सञ्चालित ६ परियोजना रद्द भएका थिए ।
उक्त निर्णयअनुसार अमेरिकी नियोग यूएसएड तथा एमसीसी परियोजनाजस्ता अनुदानमा नेपालमा सञ्चालित सबै कार्यक्रम खारेज भए । अमेरिकाले यूएसएडको अनुदान सहयोगमा विश्वभरि सञ्चालित २३० भन्दा बढी करार रद्द गरेको थियो । यी परियोजनाको कुल लागत १६ करोड ८१ लाख अमेरिकी डलर (२३ अर्ब ५४ करोड रुपैयाँ) छ ।
तर, यूएसएडअन्तर्गतका सबै कार्यक्रम खारेज भए पनि एमसीसी भने नेपाललगायत चार देशमा निरन्तरता दिने निर्णयमा पुगेको देखिन्छ । यद्यपि, परियोजनाहरूको निरन्तरता देशको आधारमा गरिएको हो वा परियोजनाको आधारमा भन्नेबारे अहिलेसम्म खुलाइएको छैन ।
तर, एमसीसीले नेपाल कम्प्याक्टलाई खारेज गर्ने र निरन्तरता दिने निर्णयले नेपालप्रतिको अमेरिकी ‘निगाह’ हो वा ‘रणनीति’ भन्नेमा बहस चल्न थालेको छ । तर, अन्तर्राष्ट्रिय क्षेत्रका जानकार तथा अर्थविद्हरूले त्यसरी हेर्न नमिल्ने बताउँछन् । भू–राजनीतिक विश्लेषक सुवेदी यसलाई नेपालप्रतिको सामान्य निगाहभन्दा पनि अमेरिकाको ‘रणनीतिक बाध्यता’को उपज मान्छन् ।
सुवेदीका अनुसार नेपालको एमसीसी परियोजना अन्य देशको भन्दा जटिल र फरक प्रकृतिको भएको उनको भनाइ छ । नेपाललाई मात्रै हेरेर अमेरिकाले गरेको निर्णय मान्न नसकिने सुवेदीको तर्क छ ।

‘अमेरिकाले भारतलाई प्रसारणलाइन निर्माणमा सघाउने वचन दिएपछि मात्र नेपालतर्फ लगानी जुटाएको हो । त्यसैले यो सम्झौताबाट पछि हट्नु भनेको नेपालसँग मात्र नभई भारतसँगको प्रतिबद्धताबाट पनि पन्छिनुहुन्थ्यो, जसले अमेरिकाको अन्तर्राष्ट्रिय विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाउँथ्यो,’ सुवेदी भन्छन्, ‘त्यसैले यो निरन्तरता पाएको हो । त्यसमा पनि नेपाल सुखी हुनुपर्छ । यो नेपालका लागि आवश्यक थियो ।’
एमसीसी नेपालमा लामो समयदेखि विवादित रह्यो र यसलाई विभिन्न ‘षड्यन्त्रको सिद्धान्त’सँग जोडेर विरोध गरियो । तर, परियोजनाले निरन्तरता पाएसँगै ती आरोपहरू स्वतः खण्डित भएको सुवेदी बताउँछन् ।
त्यस्तै, अर्थ मन्त्रालयका प्रवक्ता भण्डारीले पनि एमसीसी परियोजना निरन्तरतालाई निगाहको रूपमा हेर्न नहुने बताउँछन् । उनले भने, ‘यो न त नेपाल सरकारले कुनै विशेष पहल गरेर भएको हो, न त यसलाई उनीहरूको निगाह शब्द प्रयोग गर्नु उपयुक्त हुन्छ । यो नेपाली आवश्यकता र अमेरिकाको प्रतिबद्धता हो ।’
अर्थविद् केशव आचार्य एमसीसी निरन्तरतालाई अमेरिकाले नेपालमाथि ‘निगाह’ गरेको भन्दा पनि नेपालको आवश्यकता र प्रतिस्पर्धात्मक लाभको रूपमा हेर्नुपर्ने तर्क गर्छन् ।
उनले एमसीसी सम्झौतालाई नेपालले अमेरिका र चीनजस्ता एकआपसमा प्रतिस्पर्धी शक्तिहरूबिच विकासमा प्रतिस्पर्धा गराउने अवसरका रूपमा उपयोग गर्नुपर्ने बताउँछन् । एमसीसी निरन्तरतालाई नेपालको रणनीतिक अवस्थिति र विकासको आवश्यकतासँग जोडेर विश्लेषण गर्नुपर्ने उनको धारणा छ । उनले भने, ‘यो विषयलाई षड्यन्त्रको सिद्धान्तबाट मात्र हेर्नु हुँदैन । अहिले अमेरिका र चीनबिच सामरिक र आर्थिक द्वन्द्व चलिरहेको छ । नेपाल रणनीतिक ठाउँमा भएकाले अमेरिकाले यसको महत्त्व बुझेर एमसीसीलाई जारी राख्न चाहेको हुन सक्छ ।’
उनले एमसीसीअन्तर्गत बन्ने प्रसारण लाइन र सडकहरू नेपाललाई नभई नहुने पूर्वाधार भएको बताए । ‘यो प्रसारण लाइन हामीलाई चाहिएकै हो । सडक विस्तार पनि हाम्रो आवश्यकता हो,’ आचार्यले उल्लेख गरे ।
उनले एमसीसीलाई कसैको ‘निगाह’ वा ‘अनुग्रह’ भन्दा पनि नेपालले आयोजना गरेका लगानी सम्मेलनहरूको परिणाम र विकासको आवश्यकताका आधारमा हेरिनुपर्ने बताउँछन् ।

- वित्तीय प्रगति १६ प्रतिशत, समयमा सम्पन्न हुनेमा आशंका
एमसीए–नेपाल सञ्चालित परियोजना यी सबै अन्योलबिच पनि रोकिएको छैन । अहिले पनि निरन्तर काम भइरहेको छ । अर्थ मन्त्रालयका अनुसार हालसम्म परियोजनाको कुल बजेटको करिब १६ प्रतिशत वित्तीय प्रगति भइसकेको छ ।
एमसीए–नेपालले कार्यान्वयन सुरु भएदेखि अहिलेसम्म १६ प्रतिशत वित्तीय प्रगति हुनु सन्तोषजनक नै मान्न सकिने बताएको छ । ठेक्का प्रक्रियाहरू अगाडि बढिरहेका छन् र मूल्यांकनको अन्तिम चरणमा रहेको एमसीए–नेपालले जानकारी दिएको छ ।
अर्थ मन्त्रालयका अनुसार तीन महिनाका लागि परियोजना स्थगित गर्ने निर्णय भए पनि तीन महिनापछि भुक्तानी निरन्तर दिइरहेको छ । एमसीसीले नेपाल सरकार तथा एमसीए–नेपाललाई भन्दा पनि सीधै परियोजना निर्माण कम्पनीलाई भुक्तानी गरिरहेको छ ।
त्यस्तै, सम्झौताअनुसार यो परियोजना पाँच वर्षभित्र सम्पन्न गरिसक्नुपर्छ । अन्यथा, सहयोग फिर्ता जाने सर्त छ । बिचको अन्योलले केही समय खेर गए पनि निर्धारित समयभित्रै काम सम्पन्न हुन सक्नेमा सरकार आशावादी छ । ठेक्का सम्झौता भएर काम अगाडि बढ्ने बित्तिकै परियोजनाले गति लिने विश्वास सरकारको छ ।
तर, विश्लेषक सुवेदी परियोजना अघि बढ्दै गर्दा सबैभन्दा ठुलो चुनौती आन्तरिक व्यवस्थापन र समयसीमा रहेको बताउँछन् । उनका अनुसार परियोजनाको टेन्डर प्रक्रिया पूरा नहुँदै पाँच वर्षे समयावधि तोकिनु नै समस्या हो ।
उनले भने, ‘अमेरिकी स्तरको स्पेसिफिकेसन र नेपाली बजेटको अपेक्षाबिच तालमेल नमिल्दा टेन्डर प्रक्रियामै दुई वर्ष खेर गयो । अब तोकिएको समयमा काम नसकिए पैसा फिर्ता जाने जोखिम छ ।’
सरकारले टेन्डर स्वीकृत भएको मितिबाट मात्र समय गणना सुरु गर्नुपर्ने भनी सम्झौता संशोधनका लागि अमेरिकालाई औपचारिक अनुरोध पठाउनुपर्ने उनको सुझाव छ । आन्तरिक ढिलासुस्ती र अव्यवस्थापनकै कारण यो महत्त्वपूर्ण परियोजना अधुरो बन्न सक्ने खतरा कायमै रहेको उनको भनाइ छ ।
- एमसीसी कार्यान्वयनको चरणमा प्रवेश गरेको दुई वर्ष
अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना कार्यान्वयनको चरणमा प्रवेश गरेको करिब दुई वर्ष पुग्न लागेको छ । पाँच वर्षे यो परियोजना २०८० भदौ १३ गते लामो बहस र छलफलपछि औपचारिक रूपमा कार्यान्वयनको चरणमा प्रवेश गरेको थियो ।
तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसीसीका कम्प्याक्ट सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डबिच एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश (इन्ट्री इन्टु फोर्स–ईआईएफ) सम्बन्धी पत्रमा हस्ताक्षर भएको थियो ।

नेपाल र अमेरिकाबिच २०७४ भदौ २९ गते एमसीसी परियोजना अघि बढाउने सम्झौता भएको थियो । तर, उक्त सम्झौता भएको छ वर्षपछि कार्यान्वयनको चरणमा प्रवेश गरेको हो ।
सम्झौतालाई लिएर विभिन्न राजनीतिक दल विरोधमा उत्रिएका कारण कार्यान्वयन सुरु गर्न यति लामो समय लागेको हो । सरकारमै रहेका दलले समेत विरोध गरेका कारण २०७८ फागुन १५ मा प्रतिनिधिसभाले १२ बुँदे व्याख्यात्मक घोषणासहित सम्झौता अनुमोदन गरेको थियो ।
यो परियोजना ५० करोड अमेरिकी डलर अनुदानको हो । यसमा नेपालले थप १९.७ करोड डलर लगानी गर्नेछ । परियोजना पाँच वर्षभित्र नसकिए अमेरिकी सरकारले ५० करोड डलर अनुदान फिर्ता लैजानेछ । समयमा नसकिए त्यो पैसा नेपालले आफैँले लगानी गरेर परियोजना सक्नुपर्ने अवस्था आउँछ ।
एमसीसी कम्प्याक्टअन्तर्गत ३१५ किलोमिटर ४०० केभी प्रसारणलाइन र तीन वटा सबस्टेसन तथा पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने ७७ किलोमिटर सडक आधुनिक प्रविधि प्रयोग गरेर मर्मत गरिनेछ ।
एमसीसी कार्यान्वयनमा आएसँगै एमसीए–नेपाल (मिलेनियम च्यालेन्ज एकाउन्ट) ले २८ नोभेम्बर २०२२ मा ट्रान्समिसन लाइनको ठेक्का प्रक्रिया सुरु गरेको थियो । यो परियोजनाअन्तर्गत बन्ने प्रसारण लाइन तथा सबस्टेसनको भौतिक निर्माणको काम सुरु भइसकेको छ ।

एमसीसीको सञ्चालक समितिले गत पुसमा नेपाल कम्प्याक्टका लागि ५० करोडमा थप पाँच करोड अमेरिकी डलर सहयोग स्वीकृतसमेत गरेको थियो ।
सम्झौतादेखि पाँच वर्षको अवधिमा एमसीए–नेपालले ७४.७ करोड अमेरिकी डलर अर्थात् ९२ अर्ब रुपैयाँ बराबर खर्च गर्नुपर्नेछ । जसमा अमेरिकी सरकारको कुल ५५ करोड अमेरिकी डलर अनुदान र १९.७ करोड डलर नेपाल सरकारले लगानी गर्नुपर्नेछ ।
यसअन्तर्गत डबल सर्किट ४०० केभी प्रसारणलाइन, रातमाटे, दमौली र नयाँ बुटवलमा सबस्टेसन निर्माण गर्ने योजना छ । निर्माणाधीन प्रसारणलाइन लप्सीफेदीदेखि भारतीय सीमासम्म निर्माण हुनेछ, जसको ठेक्का आह्वान भएर काम सुरु भइसकेको छ ।
एमसीसीमा विद्युत् प्रसारण लाइन निर्माणका लागि ५८.२४ अर्ब र सडक सुधारका लागि ५.४९ करोड डलर खर्च गर्ने गरी काम भइरहेको थियो ।
एमसीसीले अहिलेसम्म ३१५ किलोमिटर लामो डबल सर्किटयुक्त ४०० केभी प्रसारण लाइन (केही क्वाड–सर्किट टावरहरूसहित) डिजाइन तथा निर्माण गरिरहेको थियो ।
एमसीसीमार्फत महेन्द्र राजमार्ग (पूर्व–पश्चिम) को धानखोला–लमही ४० किमी सडकखण्ड मर्मतका लागि फुल डेप्थ रिक्लेमेसन प्रविधि प्रयोग गरी तयार गरिएको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृत भइसकेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण