बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

बाढीले २५० मेगावाटभन्दा बढी विद्युत् उत्पादन बन्द, माग अनुसार आपूर्तिमा समस्या छैन: प्राधिकरण

मङ्गलबार, २४ असार २०८२, १२ : ४६
मङ्गलबार, २४ असार २०८२

सारांश

  • चीनबाट आएको बाढीले जलविद्युत् आयोजनामा क्षति पुर्‍याउँदा २ सय ५० मेगावाट विद्युत् उत्पादन बन्द भएको छ।
  • रसुवागढी जलविद्युत् आयोजनामा बाढीले क्षति पुर्‍याएको छ, बाँधको गेट बगाएर ड्याममा क्षति पुगेको छ।
  • त्रिशूली करिडोरका आयोजना बन्द गरिएका छन्, तर विद्युतको माग व्यवस्थापनमा समस्या नभएको प्राधिकरणले जनाएको छ।

काठमाडौँ। चीनतर्फबाट आएको बाढीका कारण नेपाल विद्युत् प्राधिकरण र यस अन्तर्गतका  जलविद्युत् आयोजनाहरूको २ सय ५० मेगावाट विद्युत् उत्पादन बन्द भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनामा बढी क्षति पुर्‍याएको छ । उक्त आयोजनाको बाँधको एउटा गेट बाढीले बगाएर ड्याममा समेत क्षति पुगेको उनको भनाई छ । 

प्रवक्ता ढकालले त्रिशूली कोरिडोरमा रहेका प्राधिकरणका आयोजनाहरूमा बाढीले क्षति पुर्‍याएपछि सम्भावित जोखिमबाट बच्न उक्त क्षेत्रका अन्य केही आयोजनाहरू पनि बन्द गरिएको बताए ।  

उनले बाढीले विशेषगरी त्रिशूली करिडोरका आयोजनाहरूमा असर पारेको छ। उनले भने, ‘बाढीले प्रत्यक्ष असर पारेका आयोजनामा रसुवागढी, चिलिमे र त्रिशूली थ्री ए रहेका छन्। त्रिशूली करिडोरका मात्रै करिब ६–७ वटा प्लान्ट बन्द अवस्थामा छन्।’

उनले यी सबै आयोजनाको कुल उत्पादन क्षमता २ सय ५० मेगावाटभन्दा बढी रहेको जानकारी दिए।

उक्त क्षेत्रका केही आयोजनामा बाढीले भौतिक क्षति पुर्‍याएर बन्द भएका छन् भने केहीलाई सम्भावित क्षतिबाट जोगाउन प्राधिकरणले नै गेट बन्द गरेर सुरक्षित राखेको जानकारी दिए । 

बाढीले माथिल्लो त्रिशूली ‘थ्री ए’ को ड्याममा क्षति पुर्‍याएको छ भने दुई गेट बगाएको छ । बाढीका कारण ६० मेगावाटको माथिल्लो त्रिशूली ‘थ्री ए’ जलविद्युत् आयोजनाको ड्याम साइटमा क्षति पुगेको छ भने २१ मेगावाटको तल्लो त्रिशूली आयोजनाको उत्पादन पनि ठप्प भएको छ।

नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक मदन तिमल्सिनाले बाढीले माथिल्लो त्रिशूली ‘थ्री ए’ को ड्याम साइटमा रहेका दुईवटा गेट बगाएको बताए ।  उनले भने, ‘ माथिल्लो त्रिशूली ‘थ्री ए’ को ड्याम साइडमा क्षति पुगेको छ र दुईवटा गेट बगाएको छ । यसका साथै आयोजनासँग सम्बन्धित त्रिशूली थ्री बी हब सबस्टेसनको टावरमा पनि केही क्षति पुगेको छ।’

उनले नुवाकोटमा रहेको २१ मेगावाट क्षमताको तल्लो त्रिशूली जलविद्युत् आयोजनाको उत्पादन पनि बाढीकै कारण उत्पादन रोकिएको जानकारी दिए । 

उपकार्यकारी निर्देशक तिमल्सिनाका अनुसार आयोजनामा ठुलो भौतिक क्षति नभए पनि बाढीको बहाव उच्च हुँदा गेटहरू अड्किएकाले उत्पादन बन्द गरिएको छ । ‘ त्यहाँ ठुलो क्षति त होइन, तर बाढीले गर्दा गेट अड्किएपछि उत्पादन रोकिएको अवस्था छ,’ उनले भने।

रसुवामा रहेका चिलिमे, साञ्जेन, रसुवागढी जस्ता अन्य आयोजनामा क्षति पुगेको तर  एकीकृत विवरण आउन बाँकी रहेको छ ।  

माग अनुसार विद्युतको आपूर्तिमा समस्या छैन

ठुलो क्षमताका आयोजना बन्द भए पनि देशभर विद्युत्को माग व्यवस्थापनमा कुनै समस्या नभएको प्राधिकरणले स्पष्ट पारेको छ। प्रवक्ता ढकालले भने,‘ उत्पादन बन्द भए पनि माग धान्न समस्या छैन, हामीले अन्य आयोजनाबाट आपूर्ति मिलाएका छौँ।’

काठमाडौँ उपत्यकालगायतका स्थानमा देखिइरहेको बत्ती जाने समस्या उत्पादन अभावले नभएको उनले बताए। ‘ उत्पादन नपुगेर बत्ती गएको होइन,‘ उनले भने, ‘ प्रणालीमा केही आयोजना बन्द हुँदा व्यवस्थापनका लागि ‘स्वीचिङ’ गर्दा देखिने प्राविधिक समस्याले केहीबेर बत्ती जाने–आउने भएको हो।’ उनले यो समस्या दीर्घकालीन नभएको र व्यवस्थापकीय कार्यका क्रममा मात्र देखिएको स्पष्ट पारे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप