बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
वार्ताकाे तयारी

चिकित्सकको मागबारे स्वास्थ्य मन्त्रालयमा अनौपचारिक छलफल

आजै औपचारिक वार्ताको तयारी
मङ्गलबार, २४ असार २०८२, १६ : ५४
मङ्गलबार, २४ असार २०८२

सारांश

  • सरकारले आन्दोलनरत चिकित्सकहरूसँग वार्ताको तयारी गरेको छ, जसमा तीन सदस्यीय मन्त्रीस्तरीय टोली गठन भएको छ।
  • नेपाल चिकित्सक संघका महासचिवका अनुसार, सरकारले औपचारिक वार्ताका लागि बोलाउने तयारी गरेको छ।
  • चिकित्सकहरू स्वास्थ्य संस्थालाई ठुलो रकम तिराउने उपभोक्ता अदालतको फैसलाको विरोधमा आन्दोलनमा छन्।

काठमाडौँ । सरकारले आन्दोलनरत चिकित्सकहरूसँग वार्ताको तयारी गरेको छ । प्रधानमन्त्री केपीको निर्देशनमा तीन सदस्यीय मन्त्रीस्तरीय वार्ता टोली गठन भएसँगै मंगलबार साँझसम्म औपचारिक वार्ताको तयारी भएको हो । 

नेपाल चिकित्सक संघका महासचिव सञ्जीव तिवारीले रातोपाटीसँग कुरा गर्दै सरकारले अनौपचारिक रूपमा वार्ताका लागि बोलाएको र आजै साँझसम्म औपचारिक पत्र पठाउने जानकारी दिएको बताए ।

‘अहिलेसम्म औपचारिक वार्ता भएको छैन, तर अनौपचारिक रूपमा कुराकानी भएको छ,’ उनले भने, ‘उहाँहरूले आजै साँझसम्म पत्र पठाएर औपचारिक वार्तामा बोलाउँछौँ भन्नुभएको छ ।’

सरकारले चिकित्सकहरूसँग वार्ता गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री सम्मिलित तीन सदस्यीय टोली गठन गरेको छ ।

यता, चिकित्सकहरूको तर्फबाट पनि अध्यक्ष डा अनिल विक्रम कार्की, महासचिव तिवारीसहित पूर्व अध्यक्षहरू वार्तामा सहभागी हुनेछन् । 

सोही टोलीले तीन मन्त्रीसँग आज दिउँसो स्वास्थ्य मन्त्रालयमा अनौपचारिक छलफल गरेको थियो ।  ‘हामी माइतीघर मण्डलामा कोण सभा सकेर फर्किने क्रममा भेटघाट भएको हो’, महासचिव तिवारीले भने, ‘‘अनौपचारिक रूपमा के कसरी अगाडि बढ्ने भन्ने सामान्य कुराकानी भएको हो ।’

वार्ताका लागि सरकारको पहल सकारात्मक रहेको बताउँदै उनले आफूहरू वार्ताका लागि तयार रहेको बताए ।चिकित्सक र स्वास्थ्य संस्थालाई ठुलो रकम तिराउने गरी उपभोक्ता अदालतबाट धमाधम फैसला भएको विरोधमा चिकित्सकहरू आन्दोलित भएका हुन् । उनीहरुले २ दिनदेखि आकस्मिकबाहेकका सेवा ठप्प बनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप