आयातित वस्तु सुरक्षित ठाउँमा राख्न राष्ट्रिय व्यवसायी महासङ्घको सरकारसँग माग
काठमाडौँ । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले व्यवसायीले ल्याएको सामान सुरक्षित स्थानमा राख्न सरकारसँग माग गरेको छ । रसुवागढीमा मंगलबार बिहान भोटेकोशी नदीको बाढीले गरेको क्षतिपछि व्यवसायी चिन्तित भएको भन्दै मंगलबार विज्ञप्ति जारी गर्दै महासङ्घले यस्तो माग गरेको हो ।
महासङ्घले बाढीबाट जोगिएका मालवस्तु छिटै सुरक्षित ठाउँमा सार्न पाए क्षति कम हुने समेत बताएको छ । व्यवसायीले चीनबाट चाडपर्वलाई लक्ष्य गर्दै आयात गरेका सामान थिए। के कति बगे र क्षति भए भन्ने पूर्ण विवरण अझै आइसकेको छैन । तर, आयातकर्ता व्यवसायी आत्तिएका छन्। त्यसैले बाढीबाट जोगिएका कन्टेनर र सामानलाई सुरक्षित स्थानमा राख्न महासङ्घले सरकारसँग माग गरेको हो ।
बाढीले चीन जोड्ने नाका र त्यस आसपासका क्षेत्र प्रभावित भएको छ । बाढीले मितेरी पुल, केही ठाउँका सडक तथा भौतिक संरचनाहरू मात्रै बगाएको छैन, बाटो र भन्सार परिसरमा रहेका गाडी र कन्टेनर बगाएको छ । व्यवसायीहरूको मालवाहक कन्टेनर तथा सवारीसाधन बगाएपछि महासङ्घले चासो लिएको हो ।
साथै क्षतिग्रस्त भौतिक संरचनाहरू पुननिर्माण गरी छिटो भन्दा छिटो कार्य सञ्चालनको वातावरण मिलाइदिन सरकार र सम्बन्धित निकायहरूलाई सङ्घले आग्रह गरेको छ ।

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण