ऐनापहरामा स्काइ वाक निर्माण अन्तिम चरणमा
सारांश
- तनहुँको ऐनापहरामा स्काइ वाक निर्माण अन्तिम चरणमा पुगेको छ, जसले पर्यटनलाई बढावा दिनेछ।
- आँबुखैरेनी गाउँपालिकाले १५ लाख लगानीमा स्काइ वाक बनाएको छ, जसले साहसिक अनुभव दिनेछ।
- ऐनापहरामा पर्यटकको आकर्षण बढेको छ, र यसले ६० लाखभन्दा बढी आम्दानी गरेको छ।
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित पर्यटकीय गन्तव्य स्थल ऐनापहरामा ‘स्काइ वाक’ निर्माण अन्तिम चरणमा पुगेको छ । गत जेठ दोस्रो हप्तादेखि यहाँ स्काइ वाक निर्माण सुरु गरिएकामा काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।
आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरालाई पर्यटन हब बनाउने उद्देश्यसहित स्काइ वाक निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । रु १५ लाखको लगानीमा स्काइ वाक निर्माण गरिएको र केही दिनभित्रै यसलाई व्यावसायिक सञ्चालनमा ल्याउने तयारी गरिएको उनको भनाइ छ ।
कूल ५० मिटर अग्लो र ५७ मिटर लामो स्काइ वाकको प्रत्येक पाइला बिचमा एक फिटको खाली स्थान राखिएको छ । उनले भने, “स्काइ वाकमा हिँड्दा हरियाली, शान्त पहरा र खुला आकाशको बिचमा एक अनौठो साहसिक अनुभव गर्न सकिनेछ । सुरक्षा उपायसहितको उच्च गुणस्तरीय निर्माण भएकाले डर मान्नुपर्ने अवस्था छैन ।”
यो स्थान पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बनिरहेको रहेकाले यहाँ पूर्वाधार थप गरिएको उनको भनाइ छ । स्काइ वाकले यहाँको पर्यटन विकास र साहसिक गतिविधिका लागि सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।
पृथ्वीराजमार्गसँगै जोडिएको यस ठाउँ पर्यटकको घुम्ने गन्तव्यको रूपमा विकास भएको छ । सार्वजनिक बिदाका दिन यहाँ आन्तरिक पर्यटकको घुइँचो नै लाग्ने गरेको छ । शनिबार यहाँ एक हजारभन्दा बढी पर्यटकको आगमन हुने गरेको आँबुखैरेनी गाउँपालिका–२ का वडाध्यक्ष आशबहादुर गुरुङले जानकारी दिए ।
ढुङ्गामा विभिन्न कलात्मक आकृति कोरिएको यस ठाउँ पर्यटकको रोजाइमा परेको उनले बताए । उनले भने, “गाउँपालिकाले यस ठाउँलाई पर्यटकीय गन्तव्य स्थलको रूपमा अगाडि बढाएको छ, राजमार्गसँगै जोडिएकाले पनि यस ठाउँ रोजाइमा पर्ने गरेको छ ।”
ऐना पहराबाट गाउँपालिकाले रु ६० लाखभन्दा बढी आम्दानी गरिसकेको छ । राजमार्गको नजिकै रहेको उक्त ठाउँ पर्यटकीय स्थलको रूपमा विकास भएपछि यस ठाउँलाई थप सुन्दर र आकर्षक बनाउन उद्यान निर्माण गरिएको छ ।
यहाँ झरना झरेको ठाउँको ढुङ्गामा गणेशको आकृति बनाइएको छ भने झरना नजिकैको ढुङ्गामा आमा र बच्चा तथा परीको आकृति बनाइएको छ । तनहुँकै अग्लो महाभारत पर्वत शृङ्खला छिम्केश्वरीको फेदीमा अवस्थित सिउढी खोलाको पानी बगेर झरनामा मिसिएको छ । ऐना पहरा झरनालाई व्यवस्थित बनाउन गाउँपालिकाले विस्तृत गुरुयोजना प्रतिवेदन तयार गरेको जनाएको छ । यस ठाउँलाई व्यवस्थित गर्न विस्तृत आयोजना प्रतिवेदनअनुसार रु १० करोड बजेट आवश्यक पर्छ । डिपिआरअनुसार यस ठाउँमा बुद्धको मूर्ति, रेलिङ, पार्किङलगायतका संरचना निर्माण गर्ने उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनमा विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित
-
पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु
-
१० बजे १० समाचार : अभिषेकले चलाएको यमराजको शासन, रास्वपा पदाधिकारीमा क–कसको चर्चा ?
-
खेलको सातौँ मिनेटमै इंग्ल्याण्डविरुद्ध कङ्गोको गोल
-
विश्वकप : इंग्ल्याण्ड र कङ्गोबिचको खेल सुरु
-
पेट्रोलियम पदार्थको बिक्री सामान्य अवस्थामा फर्कियो, १४ पेट्रोल पम्पको ताला खोलियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण