बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

गुणस्तरीय आयोडिनयुक्त नुन आपूर्तिको सुनिश्चितता गर्न निर्देशन

बिहीबार, २६ असार २०८२, १६ : ५२
बिहीबार, २६ असार २०८२

सारांश

  • उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले आयोडिनयुक्त नून ऐन परिमार्जन गर्न सरकारलाई निर्देशन दिएको छ।
  • समितिले नुनको सहज आपूर्ति सुनिश्चित गर्न र निजी क्षेत्रको संलग्नताले पार्ने असरबारे अध्ययन गर्न निर्देशन दिएको छ।
  • उद्योगमन्त्रीले आयोडिनयुक्त नुनको सहज बिक्री वितरणमा कुनै कमी हुन नदिने बताए।

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले आयोडिनयुक्त नून उत्पादन तथा बिक्री वितरण ऐनको समयानुकुल परिमार्जन गरी कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ । 

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले उक्त ऐनमा नुनको सहज र सरल आपूर्ति सम्बन्धमा सबै पक्षहरू नसमेटिएको भन्दै समयानुकुल परिमार्जन गरि कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको हो ।

मुलुकमा आयोडिनयुक्त नुनको आपूर्ति विक्री वितरण प्रणालीमा हाल कुनै पनि समस्या नभएको सन्दर्भमा निरन्तर सहज सर्वसुलभ र गुणस्तरीय आयोडिनयुक्त नुन आपूर्तिको सुनिश्चितता गर्न समेत बैठकले निर्देशन दिएको छ ।

बैठकले नुनको कारोबारमा निजी क्षेत्र एवं अन्य निकायहरूलाई खुला गर्दा नुनको आपूर्ति गुणस्तरीयता, मूल्य तथा दुर्गम क्षेत्रका नागरिकहरुका लागि नुनको आपूर्तिमा पर्न सक्ने असरको सम्बन्धमा विस्तृत अध्ययन गर्न समेत प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, उद्योग मन्त्रालय र स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति अव्दुल खानले जानकारी दिए । 

बैठकमा उद्योगमन्त्री दामोदर भण्डारीले आयोडिनयुक्त नुनको सहज रुपमा बिक्रिबितरणमा कुनै कमि हुन नदिने बताए । 

उद्योग मन्त्रालयले गर्दै आएको आयोडिनयुक्त नुनको आपूर्ति ढुवानी तथा बिक्री वितरणको जिम्मेवारी ऐनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी रहने गरी व्यवस्था गरेको छ । तर ऐनको थप परिमार्जन नहुँदा सम्म नुनको आपूर्ति ढुवानी तथा बिक्री वितरण सम्बन्धि व्यवस्था साबिक बमोजिम नै हुने गरी आवश्यक व्यवस्था गर्न समितिले उद्योग मन्त्रालयलाई निर्देशन दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप