शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

मलाई अहिले एमाले नेता भन्न मिल्छ, अबको लक्ष्य पार्टी अध्यक्ष बन्ने हो: विद्यादेवी भण्डारी

शुक्रबार, २७ असार २०८२, ०७ : ००
शुक्रबार, २७ असार २०८२

सारांश

  • पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा एमालेको नेता भएको बताइन् र पार्टीको अध्यक्ष बन्ने लक्ष्य रहेको उल्लेख गरिन्।
  • उनले राष्ट्र र पार्टीको हितका लागि राजनीतिमा फर्किएको र अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढीकरणलगायतका विषयलाई प्राथमिकतामा राखेको बताइन्।
  • भण्डारीले केपी शर्मा ओली दोहोरिएर नेतृत्वमा नआउने विश्वास व्यक्त गर्दै पार्टीलाई सुदृढ बनाउने प्रतिबद्धता जनाइन्।

काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई अहिलेको अवस्थामा  नेकपा एमालेको नेता भन्न मिल्ने बताएकी छन् ।  उनले अबको आफ्नो लक्ष्य पार्टीको आगामी नेतृत्व (अध्यक्ष) भएको समेत बताइन्।

बिहीबार इमेज टेलिभिजनका पत्रकार जगदीश खरेलसँगको अन्तर्वार्तामा उनले आफूले सरकारी सेवा-सुविधा परित्याग गरेको जानकारी दिँदै राष्ट्र र पार्टीको हितका लागि राजनीतिमा फर्किएको बताइन्। 

‘व्यक्तिगत पदलोलुपता वा महत्त्वाकाङ्क्षा होइन, राष्ट्रिय आवश्यकताका विषयमा सक्रिय हुन खोजेकी हुँ,’ उनले भनिन्। केही साताअघि मात्रै उनले सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेको थिइन् । त्यसयता उनको राजनीति सक्रियताबारे चर्चा परिचर्चा परिचर्चा हुँदै आएकामा भण्डारीले आगामी योजनाबारे खुलेर कुराकानी गरेकी हुन् ।

राजनीतिमा फर्किँदै गर्दा भण्डारीले आफ्नो प्राथमिकतामा अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढीकरण, उद्योग, कृषि, रोजगारीका माध्यमबाट अर्थतन्त्रको सबलीकरण, शिक्षा तथा स्वास्थ्यको गुणस्तर वृद्धि र जलवायु परिवर्तनजस्ता विश्वव्यापी चुनौतीसहितका विषय रहेको उल्लेख गरिन्।

कार्यक्रममा ‘यो सबै गर्नका लागि तपाईँलाई एमालेको अध्यक्ष बन्नुपर्छ भन्ने हो ?’ भनेर सोधिएको प्रश्नमा उनले  ‘हो’ भन्ने स्पष्ट जवाफ दिइन्।

हालका अध्यक्ष केपी शर्मा ओलीबारे बोल्दै भण्डारीले दुई कार्यकाल अध्यक्ष भइसकेका उनी दोहोरिएर नेतृत्वमा नआउने विश्वास व्यक्त गरिन्। ‘मैले चिनेको केपी ओली त्यस्तो होइन,’ उनले भनिन्।

पार्टीभित्र विगतमा देखिएको विभाजन र गुटबन्दी स्वीकार गर्दै उनले त्यसलाई अब समाधान गरी एमालेलाई थप सुदृढ बनाउने अठोट व्यक्त गरिन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप