असारे खडेरीले रोपाइँ नहुँदा किसान चिन्तित
सारांश
- मेचीनगरका किसान गोविन्द घिमिरे आकाशे पानी नपरेका कारण धान रोप्न नपाएर चिन्तित छन्।
- अर्जुनधाराका किसान श्याम अधिकारीले समयमा रोपाइँ गर्न नसक्दा समस्या भएको बताए, जसले गर्दा उनलाई ठेक्काको चिन्ता छ।
- झापामा सिँचाइको अभावले पर्याप्त रोपाइँ हुन नसकेको र हालसम्म २१ प्रतिशत मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।
झापा । मेचीनगर नगरपालिका–१५ का किसान गोविन्द घिमिरे अकासे पानी पर्याप्त नपरेका कारण बेलैमा धान रोप्न नपाएर चिन्तित छन् । विगतमा असारभित्र रोपाइँ सकिने गरेकामा यसपालि असार बितिसक्न लाग्दा उनको दुई बिघा खेतका सुक्खा गरामा कमिला कुदिरहेका छन् ।
“गरा भरिने गरी आकाशबाट पानी पर्छ र धान रोपौँला भनेर पर्खेको धेरै भइसक्यो”, उनी भन्छन्, “ब्याडमा बीउ छिप्पिइसक्यो । पानी परेको छैन । यो पाला धान रोप्न पाइन्छ जस्तो छैन ।”
अर्जुनधारा नगरपालिका–८ का किसान श्याम अधिकारीको पीडा पनि उस्तै छ । विगत पाँच वर्षदेखि एक बिघा खेत वार्षिक ठेक्कामा लिएर धान खेती गर्दै आएका उनी असारमा खडेरी पर्दा किसानलाई ठुलो क्षति भएको बताउँछन् ।
समयमा रोपाइँ गर्न नसक्दा जग्गाधनीलाई वार्षिक रूपमा ठेक्काबापत तिर्नुपर्ने रु ५० हजार कहाँबाट जुटाउने भन्ने चिन्ताले पिरोल्ने गरेको उनी बताउँछन् । झापाका अधिकांश खेतमा सिँचाइका लागि कुलो र बोरिङको व्यवस्था नभएको हुँदा धान खेती गर्ने किसान अकासे पानीमा निर्भर छन् ।
धान उत्पादनका लागि उर्वर भूमि मानिएको झापामा सिँचाइको अभावले पर्याप्त रोपाइँ हुन नसकेको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख सागर विष्टले हालसम्म जिल्लामा २१ प्रतिशत मात्र रोपाइँ भएको बताए । उनले भने, “वर्षा नभएका कारण किसानले पर्याप्त रोपाइँ गर्न पाएका छैनन् । जति रोपाइँ भएको छ, ती सबै कुलो र भूमिगत सिँचाइबाट सम्भव भएको हो ।”
कोशी प्रदेशमा जेठ १५ गते नै मनसुन भित्रिएको थियो । मनसुन भित्रिए लगत्तै जेठ १७ गते पूर्वी नेपालमा ठुलो वर्षा र बाढी आयो । झापामा माईखोलाको बाढीले २२ घर डुबान भयो । त्यसपछि खेतमा रोपाइँ हुने गरी वर्षा भएको छैन । झापामा खेतीयोग्य जमिन ९८ हजार ७१६ हेक्टर रहेको छ । त्यसमध्ये ७५ हजार ५५९.१८ हेक्टरमा धान खेती हुने गरेको विष्टले बताए । छिटो पाक्ने अगुवा धान असारभित्रै रोपिसक्नुपर्ने हुन्छ ।
जिल्लामा नियमित सिँचाइका लागि कनकाई, निन्दा, टाङटिङ, पालिया, खुदुनाबारी, सिद्धिनहर, भुतेनी खोलालगायत सिँचाइ आयोजना सञ्चालनमा छन् । कचनकबल, कनकाई, कमल, गौरादह, मेचीनगर, बिर्तामोड, बाह्रदशीलगायत पालिकाका केही जग्गामा भूमिगत सिँचाइको व्यवस्था छ । बाँकी अधिकांश जग्गामा धान खेतीका लागि अकासे पानीको निर्भरता हटेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
-
महिनावारीमा दुखाइ कम गर्ने औषधिले बाँझोपन निम्त्याउँछ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण