शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एनआरएनएको १२औँ महाधिवेशनका लागि केन्द्रीय निर्वाचन समिति गठन

शनिबार, २८ असार २०८२, १६ : २३
शनिबार, २८ असार २०८२

सारांश

  • गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशन आगामी अक्टोबरमा काठमाडौँमा हुने भएको छ।
  • अधिवक्ता डा. राजेन्द्र घिमिरेको संयोजकत्वमा निर्वाचन समिति र रामप्रताप थापाको संयोजकत्वमा निर्वाचन अनुगमन समिति गठन गरियो।
  • एनआरएनको आधिकारिकताको विवाद कायमै रहेको र सर्वोच्च अदालतमा विचाराधीन रहेको बताइएको छ।

काठमाडौँ । बद्री केसी नेतृत्वको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को आगामी अक्टोबरमा हुने १२औँ महाधिवेशनका लागि केन्द्रीय निर्वाचन समिति गठन गरिएको छ।

सङ्घका अध्यक्ष डा बद्री केसीको अध्यक्षतामा शुक्रबार बसेको अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को बैठकले अधिवक्ता डा. राजेन्द्र घिमिरेको संयोजकत्वमा निर्वाचन समिति गठन गर्ने निर्णय गरेको हो।

समितिमा बेलायतबाट सङ्घका संस्थापक सचिव चिरञ्जीवी ढकालसहित टिबी कार्की, प्रितम श्रेष्ठ, होम पाण्डे, प्रकाश सापकोटा र रजनी प्रधान सदस्य रहेका छन्।

यस्तै, सङ्घको निर्वाचन प्रक्रिया अनुगमन गर्न रामप्रताप थापाको संयोजकत्वमा निर्वाचन अनुगमन समिति गठन गरिएको छ। उक्त समितिमा सञ्जय थापा, टेकराज निरौला, कमलमणि गुरागाईँ, नारायण काफ्ले, अतुल कोइराला र मुक्त गुरुङ सदस्य छन्।

बैठकले भीम उदास, भक्त गुरुङ, डा देवी बस्नेत, ओम गुरुङ, शमशेर थापा, यास्मीन बेगम र पुरुषोत्तम बोहरा सदस्य रहेको न्यायिक समिति पनि गठन गरिएको सङ्घका केन्द्रीय सदस्य चिरन शर्माले जानकारी दिए ।

सङ्घको विधानअनुसार अन्तर्राष्ट्रिय महाधिवेशन हुन तीन महिना अगावै यी समितिहरू गठन गर्नु पर्ने कानुनी प्रावधान छ।

शुक्रबारको बैठकमा सङ्घका केन्द्रीय पदाधिकारी, आईसीसी सदस्य, सल्लाहकार लगायतको उपस्थिति थियो। गैरआवासीय नेपाली सङ्घको १२औँ महाधिवेशन आगामी अक्टोबर ११ देखि १४ सम्म काठमाडौँमा हुँदैछ । यद्यपि एनआरएनमा आधिकारिकताको विवाद भने कायमै छ। 

गत वैशाखमा सम्पन्न एकता महाधिवेशनबाट महेश श्रेष्ठ अध्यक्ष चयन भएका थिए। तर केसीले पनि आफूलाई आधिकारिक भएको दाबी गर्दै आएका छन्। यस बारे विवाद सर्वोच्च अदालतमा अझै विचाराधीन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप