पार्टीले निर्देशन दिए राजीनामा दिन तयार छु : मन्त्री गुप्ता
सारांश
- संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले घुस प्रकरणको अडियोमाथि छानबिनको माग गरेका छन्।
- मन्त्री गुप्ताले आफूमाथि फसाउने षड्यन्त्र भएको र पार्टीले निर्देशन दिए राजीनामा दिन तयार रहेको बताए।
- गुप्ताले आफूले घुस नलिएको र अडियो आफ्नो नभएको दाबी गर्दै छानबिनको लागि तयार रहेको बताए।
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सार्वजनिक भएको घुस काण्डबारेको अडियोमाथि छानबिन गर्न माग गरेका छन् । फसाउने षड्यन्त्रका साथ कसैले आफूमाथि घुसकाण्ड रचेको उनको दाबी छ ।
मन्त्री गुप्ताले आफूमाथि प्रश्न उठेकाले पार्टीले निर्देशन दिएमा मन्त्री पदबाट राजीनामा दिन तयार रहेको बताए । यसै विषयमा रातोपाटीले मन्त्री गुप्तालाई सार्वजनिक अडियो र घुस लेनदेनको वास्तविकता के हो ? भनेर आइतबार प्रश्न गरेको छ । प्रस्तुत छ, गुप्तासँगको संक्षिप्त कुराकानी-
- घुस प्रकरण र सार्वजनिक अडियोकाण्डको वास्तविकता के हो ?
मैले फेसबुक स्टाटसमा पनि हालिसकेको छु । पढ्नुभएको छ कि छैन ? नपढेको भए त्यो पढ्दा सबै खुल्छ ।
- तपाईंकै मुखबाट सुन्न खोजेको नि ?
ममाथि जुन आरोप लगाइएको छ, त्यो आरोप लगाउने मान्छे को हो ? त्यो थाहा छैन । कुन कर्मचारीसँग मैले डिल गरेँ ? अथवा कुन व्यक्तिसँग डिल गरेँ ? त्यो पनि थाहा छैन । पैसा टेबलमा हेराइएको छ । यहाँ म सरकारी क्वार्टरमा छु । सबै कुरा राज्यले नै दिएको छ । मेरो केही छैन र त्यस्तो टेबल पनि छैन यहाँ ।
- अडियो त तपाईंकै हुबहु मिल्छ नि ?
त्यो अडियो आवाज बनाइएको छ । त्यो आवाज पनि ९० प्रतिशत मेरो आवाज होइन । कहीँ थोरथोरै हुनसक्ला । यहाँ त कति मान्छे आउँछन्, भेट्छन् जान्छन् । कुनवेला कसले बनायो थाहा हुँदैन । मैले फेरि कसैसँग पैसा मागेको पनि छैन । लिएको पनि छैन । तर मिडियामा आएको छ, पोखरा..कहाँ कहाँ...। त्यो काम पनि मैले गरेको छैन । पोखरा मालपोत कार्यालय भूमिसुधार मन्त्रालय अन्तर्गतको कार्यालय हो । मैले भूमिसुधार मन्त्रालयमा पठाउने हो, भूमिसुधारले त्यहाँ पठाउने हो । तैपनि मैले त्यो गरेको छैन ।
- यसरी तपाईंमाथि प्रश्न उठेपछि के गर्नुहुन्छ त ? प्रधानमन्त्रीले पनि यसबारे चासो राख्नुभयो भनिएको छ नि ?
अहिले प्रधानमन्त्रीज्यूसँग भेट नै भएको छैन । उहाँ झापातिरै हुनुहुन्छ ।
- अव कसरी अघि बढ्नुहुन्छ त ?
छानबिन होस् । मैले चाहेको छानबिन हो । दुधको दुध पानीको पानी गरियोस् । अनावाश्यक ढंगले समाचार छापेर बदनाम गर्नु राम्रो होइन । राम्ररी छानबिन होस् । यदि त्यसरी छानबिन हुँदा म दोषी भए कारबाही पनि होस् । तर निर्दोष मानिसलाई फसाउने षड्यन्त्र नहोस् ।
- छानबिनका लागि मार्ग प्रशस्त गर्नुहुन्छ ?
छानबिनका लागि पार्टीले मार्ग प्रशस्त गर्नु भनेर पार्टीले निर्देशन दिन्छ भने तयार छु । त्यो नगर्ने त कुरै छैन । तर हरेक व्यक्तिमाथि प्रश्न उठ्दै जाने र राजीनामा गर्दै जाने परिपाटी पनि राम्रो त होइन । रास्वपाले कुरा उठाएका छन् । जसको अहिलेका कार्यवाहक अध्यक्षमाथि पनि प्रश्न उठेको छ ।
- कसले पैसा ल्याएर क्वार्टरमा छाडेछन्, मलाई थाहा नै छैन भनेर पनि भन्नुभएको रहेछ नि ?
त्यस्तो थाहा छैन ।
- अनि नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठलाई पनि मुछ्नु भएछ नि ?
मैले उहाँको नाम कतै लिएको छैन ।
- केही होइन भन्नुहुन्छ, तपाईंलाई फसाउन नै यो षड्यन्त्र भयो त ?
यो त फसाउने षड्यन्त्र बाहेक अरू केही होइन । पोखरा मालपोतमा पठाउने वा तान्ने काम भूमि सुधारको हो । त्यहाँ को कर्मचारी छ त्यो पनि थाहा छैन । म त कहीँ संलग्न नै छैन ।
- यत्रो हङ्गामा हुँदा प्रधानमन्त्रीले के हो भनेर पनि सोध्नुभएको छैन र ?
प्रधानमन्त्रीलाई मैले आफै यस्तो यस्तो आयो मिडियामा भनेर अलि अघि नै बताएँ । उहाँले ठिकै छ हेरौँला भन्नुभयो । एउटा मिडियामा सुरुमा आयो त्यसपछि सेलायो । हिजोबाट अरू मिडियाले पनि उचाले । तर मैले घुस खायो भनेपछि कोसँग खायो भन्ने त आउनुपर्छ नि !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘बाः एक योद्धा’ ले सार्वजनिक गर्यो कलाकार
-
कलाकार लुकाएर छायांकन सकेको ‘बाः एक योद्धा’ले सार्वजनिक गर्यो कलाकार
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण