निर्देशक ऋषिराजको गुनासो : 'सात देशले पत्याएको फिल्मलाई आफ्नै देशले पत्याएन’
सारांश
- सोमवार राष्ट्रपति भवनमा राष्ट्रिय चलचित्र पुरस्कार वितरण कार्यक्रममा कलाकर्मीले सामाजिक सञ्जालमा टिप्पणी गरेका छन्।
- पुरस्कार वितरणमा सञ्चारकर्मी र फिल्मकर्मीलाई निम्तो नदिएको र निवर्तमान सदस्यले समेत निम्तो नपाएको गुनासो छ।
- निर्देशक ऋषिराज आचार्यले फिल्म ‘द्रौपदी’ राष्ट्रिय अवार्डमा छनौट नभएको र निम्तोसमेत नपाएकोमा असन्तुष्टि जनाए।
काठमाडौँ । सोमवार राष्ट्रपति भवनमा वितरण गरिएको ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८१’को विषयमा कलाकर्मीले सामाजिक सञ्जालबाट टीकाटिप्पणी गर्ने क्रम बढ्दो छ ।
सञ्जालमा अहिले पुरस्कार पाउने फिल्म तथा फिल्मकर्मीको बारेमा मात्र टिप्पणी भएको छैन, सञ्चारकर्मी तथा फिल्मकर्मीलाई निमन्त्रणा दिन कन्जुस्याइँ गरिएको विषयमा समेत टिका–टिप्पणी गरिएको छ । यहाँसम्मकी बोर्डमा निवर्तमान सदस्यले समेत निम्तो नपाएको गुनासो गरिरहेका छन् ।
यसैबिच, दुई महिना अघिसम्म सूचना तथा सञ्चार प्रविधि मन्त्रालय अन्तर्गतको केन्द्रीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड) का सदस्यसमेत रहेका निर्देशक ऋषिराज आचार्यले पनि पुरस्कारको छनौटमा असन्तुष्टि राखेछन् । उनले निर्देशन गरेको पछिल्लो फिल्म ‘द्रौपदी’ विश्वका विभिन्न सात वटा देशका फिल्म फेस्टिभलहरूमा छनौट भैसकेको पृष्ठभूमिमा आफ्नै देशको राष्ट्रिय अवार्डमा पर्न नसक्नुलाई उनले आश्चर्यजनक रूपमा लिएका छन् । बोर्डको आग्रहमा उनले आफ्नो फिल्म बोर्डमा बुझाएका थिए, यद्यपि उनैले समारोहको निमन्त्रणा पाउन नसकेको उनले सामाजिक सञ्जालमै गुनासो गरेका छन् ।
‘हाम्रो फिल्म राष्ट्रिय अवार्डमा पर्न त टाढैको कुरा अवार्ड कार्यक्रममा निम्ता पाउनसमेत ‘हाम्रो मान्छे’ हुनै पर्दोरहेछ, उनले लेखेका छन् ‘यो सब देख्दा त लाज पनि भुतुक्कै लजायो होला । यो प्रवृत्तिको अन्त्य जरुरी छ ।’
निर्देशक आचार्यले विश्वका सात देशका फिल्म महोत्सवमा आफ्नो फिल्म छनोट भएको लिंक समेत शेयर गरेका छन् । उनले अगाडि लेखेका छन्। ‘ ‘यहाँ एउटा चलचित्रको मात्रै कुरा होइन, प्रवृत्तिको कुरा हो । जे होस् पुनः जानकारी गराउन चाहन्छु, नेपाली चलचित्र द्रौपदीले हालसम्म यी विभिन्न अन्तर्राष्ट्रिय उपलब्धिहरू प्राप्त गरिसकेको छ र अन्यत्र अझै केहि अन्तर्राष्ट्रिय फेस्टिभलहरूमा सहभागी हुँदै छ ।’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण