बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
स्वास्थ्य

सुर्तीजन्य पदार्थको प्याकेटमा अबदेखि शतप्रतिशत चेतावनीमूलक चित्र

मङ्गलबार, ३१ असार २०८२, १३ : ००
मङ्गलबार, ३१ असार २०८२

सारांश

  • आगामी साउन १ गतेदेखि सुर्तीजन्य पदार्थको खोलमा शतप्रतिशत चेतावनीमूलक चित्र छाप्नुपर्ने व्यवस्था लागू हुनेछ।
  • विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार सुर्तीजन्य पदार्थ सेवनका कारण नेपालमा वार्षिक ३९,२०० जनाको ज्यान जाने गर्छ।
  • सुर्तीजन्य पदार्थको प्याकेजिङमा चेतावनीमूलक चित्र राख्नु सकारात्मक भए पनि यसको सेवन कम गर्न कर बढाउनुपर्ने विज्ञको सुझाव छ।

काठमाडौँ । सुर्तीजन्य पदार्थको खोलमा शतप्रतिशत चेतावनीमूलक चित्र अनिवार्य बनाइएको छ । आगामी साउन १ गतेदेखि सुर्तीजन्य पदार्थ उत्पादन गर्ने कम्पनीहरूले बट्टा, प्याकेट, र्‍यापर्स, पेटी, पार्सल तथा प्याकेजिङमा चेतावनीमूलक शतप्रतिशत चित्र छाप्नुपर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट जारी निर्देशिकामा उल्लेख छ ।

बाहिरी खोलको शतप्रतिशत भागमा खतराको चिह्नसहित अगाडि र पछाडिको भागमा चित्र अनिवार्य रूपमा छाप्नुपर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सूचना अधिकारी डा. भक्त केसीले बताए । उनका अनुसार सुर्तीजन्य पदार्थको बाहिरी भागका लागि खतराको चिह्नसहित ६ वटा चित्र तयार पारिएको छ ।

सुर्तीजन्य पदार्थको बाहिरी खोलको ८० प्रतिशत भाग चित्रले ओगट्नुपर्नेछ भने २० प्रतिशत भागमा सन्देशहरू उल्लेख गर्नुपर्नेछ । जस्तैः ‘यसको सेवनले क्यान्सर हुन्छ’जस्ता अन्य सन्देशमूलक कुरा उल्लेख गर्नुपर्ने हुन्छ ।

Untitled-1

विश्व स्वास्थ्य संगठनको विश्वव्यापी सुर्तीजन्य पदार्थ महामारी २०२५ प्रतिवेदनले चित्रसहितको स्वास्थ्य चेतावनीलाई सबैभन्दा उल्लेखनीय उपलब्धिका रूपमा देखाएको छ । यो डब्लूएचओ र एफसीटीसी ( फ्रेमवर्क कन्भेन्सन अन टोबाको कन्ट्रोल) अन्तर्गत एक प्रमुख उपाय हो ।

अहिले १ सय १० देशहरूले यसलाई अनिवार्य गरेका छन् भने २५ देशले सादा प्याकेजिङ ( प्लेन प्याकेजिङ) अपनाएका छन् ।

अध्ययनहरूले सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्‍यापर्स, पेटी, पार्सल तथा प्याकेजिङमा चेतावनीमूलक सन्देश र चित्र छाप्दा खतराका डरलाग्दा चिह्नहरूको आकार बढाउँदै गएमा प्रयोगकर्ता घट्ने देखाएको छ । यस्तै प्रयोग गर्दै आइरहेका मानिसले छाड्ने र कहिल्यै प्रयोग नगरेका मानिस पनि प्रयोग गर्न हिचकिचाउने कुरा अध्ययनहरूले देखाएका छन् ।

त्यही आधारमा नेपाल सरकारले सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्‍यापर्स, पेटी, पार्सल तथा प्याकेजिङमा चेतावनीमूलक सन्देश शतप्रतिशत बनाएको सूचना अधिकारी डा. केसीको जिकिर छ ।

surti

विश्वमा सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्‍यापर्स, पेटी, पार्सल तथा प्याकेजिङमा चेतावनीमूलक खतराको चिह्न भएको चित्र शतप्रतिशत बनाएर निर्देशिका जारी गरी लागू गराउने राष्ट्रमा नेपाल पहिलो भएको डा. केसीले दाबी गरे । 

उता, एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्द भने सरकारले बाहिरी खोलमा खतराको चिह्न भएका चित्र राख्न लगाउनु सकारात्मक पक्ष भए पनि त्यतिले मात्रै नपुग्ने बताउँछन् । ‘खतराको चिह्न निर्देशिकामा राख्दैमा सेवन गर्नेको सङ्ख्या स्वाट्टै घट्दैन । सुर्तीजन्य पदार्थको सेवन कम गर्न यसमा कर बढाउनेतर्फ ध्यान दिनुपर्छ ।’

यद्यपि जति ठुलो चित्र, त्यति ठुलो सन्देश हुने उनी बताउँछन् । फरक–फरक चित्र भए चेतना पनि बढ्ने उनी तर्क गर्छन् । 

काठमाडौँ मेडिकल कलेजका विभागीय प्रमुख एवं छातीरोग विशेषज्ञ डा. नवीन मिश्र  भने सुर्तीजन्य पदार्थ नियमन र नियन्त्रण गर्न शतप्रतिशत खतराको चिह्न राख्नु सकारात्मक पक्ष भए पनि बहुआयामिक अवधारणा नभएसम्म सेवन कम हुन नसकिने बताउँछन् ।

उनले प्रचारप्रसारलाई प्राथमिकता दिन, आमनागरिकमा सचेतना बढाउन र यसको प्रयोग दर कम गर्न संघीय, प्रदेश र स्थानीय सरकार चुक्न नहुने सुझाव दिए । 

विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा सुर्तीजन्य पदार्थको सेवनका कारण वार्षिक ३९ हजार २०० जनाको ज्यान जाने गरेको छ । यस्तै कुल मृत्युको ११ प्रतिशत सुर्तीजन्य पदार्थ सेवनकै कारण रहेको देखिएको छ । 

छातीरोग विशेषज्ञ डा. मिश्रका अनुसार सुर्तीजन्य पदार्थ जुनसुकै तरिकाले प्याकिङ गरिए पनि शरीरका लागि हानिकारक हुन्छ । यसको सेवनका कारण श्वासप्रश्वास, मुख, ओठ, अन्ननली, फोक्सो, घाँटी, मिर्गौलालगायत २० भन्दा धेरै प्रकारका क्यान्सर हुने डा. मिश्र बताउँछन् । 

  • फर्टिलिटीमा असर

बच्चा जन्माउने योजना बनाएका दम्पतीले सुर्तीजन्य पदार्थ सेवन गर्छन् भने फर्टिलिटीमा समस्या आउने डा. मिश्र बताउँछन् । यदि गर्भ बसेपछि सुर्तीजन्य पदार्थको सेवन गरे बच्चाको तौल कम हुन्छ । गर्भ बस्नुअघि र गर्भ बसेपछि सुर्तीजन्य पदार्थ सेवन गर्दा जन्मने बच्चाको आयु नै दुई वर्ष कम हुने उनी बताउँछन् । भन्छन्, ‘सुर्तीजन्य पदार्थले फर्टिलिटी र मस्तिष्कमा असर पुर्‍याउने भएकाले प्याकिङमा शतप्रतिशत खतराको चिह्न राख्नाले मात्रै प्रयोग कम हुँदैन । चुरोट, सुर्तीजन्य पदार्थहरूको बाहिरी प्याकेटमा विगतमा पनि डरलाग्दा खतराका चिह्नहरू राखिएका थिए ।’

विद्यालय, शिक्षा, सार्वजनिक यातायात, सार्वजनिक स्थानहरूमा चुरोट तथा सुर्तीजन्य पदार्थ सेवन गरे कारबाही गर्ने नियम भए पनि व्यवहारमा पूर्ण रूपमा लागू हुन नसकेको उनले बताए । 

  • अनुगमन कसले गर्ने ?

सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्‍यापर्स, पेटी, पार्सल तथा प्याकेजिङसम्बन्धी निर्देशिका लागु भए/नभएको हेर्ने जिम्मा पालिकालाई रहेको मन्त्रालयका सूचना अधिकारी डा. केसीले बताए । नियमन तथा नियन्त्रणको जिम्मा निरीक्षकका रूपमा हरेक ७५३ वटै पालिकाका प्रशासकीय अधिकृतलाई दिइएको छ । यस्तै, सहायक प्रमुख जिल्ला अधिकारीलाई पनि निरीक्षणको जिम्मेवारी दिइएको हुन्छ । निर्देशिकाअनुसार सुर्तीजन्य पदार्थको खोलमा शतप्रतिशत खतराको चिह्न भएका चित्र राखिए/नराखिएको अनुगमन गर्ने जिम्मा पालिकालाई दिइएको छ । नियमसंगत नभएमा जफत गर्ने र कारबाही गर्ने अधिकार प्रशासकीय अधिकृतलाई हुन्छ ।

  • विश्वको अवस्था

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी ‘ग्लोबल टोबाको इपिडेमिक २०२५’ बारे प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनले सुर्ती उद्योगको बढ्दो हस्तक्षेपले सुर्ती नियन्त्रणका नीति र प्रयासहरूमा चुनौती थपिरहेकाले यस क्षेत्रमा भएको प्रगतिलाई कायम राख्न र तीव्र पार्न तत्काल कदम चाल्नुपर्ने आवश्यकता रहेको चेतावनी दिएको छ ।

विश्वमा सुर्तीजन्य पदार्थका कारण वार्षिक ७० लाखभन्दा बढी मानिसको ज्यान जाने गर्दछ । प्रतिवेदनले सुर्तीजन्य पदार्थको प्रयोग घटाउनका लागि विश्व स्वास्थ्य संगठनका प्रमाणित ६ उपायहरूमा ध्यान केन्द्रित गरेको छ ।

  • पहिलो– अनुगमन: सुर्तीजन्य पदार्थको प्रयोग र रोकथाम नीतिहरूको अनुगमन गर्ने ।
  • दोस्रो– संरक्षण: धूम्रपान–रहित कानुनमार्फत मानिसहरूलाई सुर्तीको धुवाँबाट बचाउने ।
  • तेस्रो– सहयोग: सुर्तीजन्य पदार्थ छाड्न मद्दत गर्ने ।
  • चौथो– चेतावनी: प्याकेटमा चेतावनीमूलक लेबल र आमसञ्चार माध्यमबाट सुर्तीको खतराहरूबारे सचेत गराउने ।
  • पाँचौँ– कार्यान्वयन: सुर्तीजन्य पदार्थको विज्ञापन, प्रवर्द्धन र प्रायोजनमा लगाइएको प्रतिबन्ध लागू गर्ने ।
  • छैटौँ– वृद्धि: सुर्तीजन्य पदार्थमा कर बढाउने ।

सुर्तीजन्य पदार्थको प्रयोग ठुलो स्वास्थ्य चुनौतीका रूपमा देखा परिरहेको जनस्वास्थ्यविद्हरू बताउँछन् । डब्ल्यूएचओका अनुसार सन् २००७ देखि, १५५ देशहरूले कम्तीमा एउटा प्रमाणित उपायलाई उत्कृष्ट स्तरमा लागु गरेका छन् । 

विश्वका चार देशहरूले प्रमाणित ६ उपायलाई पूर्ण रूपमा लागु गरेका छन् । ४० देशहरूमा अझै पनि कुनै पनि प्रमाणित उपाय उत्कृष्ट स्तरमा लागु भएको छैन र ३० भन्दा बढी देशले अनिवार्य स्वास्थ्य चेतावनीविनै चुरोट बिक्री गर्न अनुमति दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप