लोकतन्त्र र मानव अधिकारप्रति अमेरिकाको दोहोरो नीति
संयुक्त राज्य अमेरिकाले आफूलाई पूरै विश्वमा ‘लोकतन्त्रको प्रहरी’ तथा ‘मानव अधिकारको रक्षक’ बताउँदै आएको छ तर आज जब हामी क्यालफोर्नियाका सडकहरूमा ध्यान केन्द्रित गर्छौं तब अमेरिकाको यो दाबी आधारहीन साबित हुन्छ ।
लस एन्जलस, स्यान्डियागो र अन्य सहरहरूमा जुन दृश्य देखापरिरहेका छन्, त्यसमा त लोकतन्त्रको बेग्लै तस्बिर भएको पाइन्छ । आप्रवासीका विरुद्धमा जारी यस दमनचक्रको विरोधमा भइरहेका प्रदर्शन अब अमेरिकाका एक दर्जनभन्दा बढी प्रदेशका दुई दर्जनभन्दा पनि बढी सहरहरूमा फैलिएका छन् । स्यानफ्रान्सिस्को, डलास, अस्टिन, टेक्सास र न्युयोर्कजस्ता सहरहरूमा प्रदर्शन चरममा पुगेको छ । यस प्रदर्शनमा सामाजिक असमानता र मानव अधिकारहरूको हननका विरुद्धमा एउटा सामूहिक आवाज हेर्न सकिन्छ, जसमा न्याय र परिवर्तनको माग भइरहेका छन् ।
प्रदर्शनकारी आप्रवासी दोहोरो पीडाबाट ग्रसित छन् । आफ्नो स्वदेशको त्रासदीपूर्ण एवं दुःखद अवस्थाबाट भागेर सुरक्षाका लागि र अपेक्षाकृत राम्रो जीवनको खोजीमा उनीहरु अमेरिका आएका हुन्छन् तर उनीहरूले अमेरिकामा कानुनी असुरक्षा, प्रशासनिक कठोरता र सामाजिक भेदभावको सामना गर्नुपर्ने हुन्छ । लस एन्जलसका गल्लीहरूमा उनीहरूले ‘स्वतन्त्रता’का लागि आवाज उठाइरहेका छन् । सरकारको दमनात्मक रबैयाले उनीहरूको आन्दोलनलाई कुल्चिदिने प्रत्येक सम्भव प्रयास गरिरहेको छ । वर्तमान अवस्थामा यो समयकै माग हो कि मानवताका पक्षधरहरूले आप्रवासीहरूको पक्षमा ऐक्यबद्धता देखाउनुपर्छ, न कि दमनकारीको पक्षमा चुपचाप सरकारी नीतिको समर्थन गर्नुपर्छ ।
लस एन्जलस, क्यालिफोर्नियासहित अमेरिकी अन्य सहरहरूमा जुन आप्रवासीहरू अत्याचार र दमनको सामना गरिरहेका छन्, तिनका बारेमा केही जान्नु पनि आवश्यक छ । पहिलो पंक्तिमा मुख्य रूपमा मेक्सिको, ग्वाटेमाला, होन्डुरस, एलसाल्भाडोर र ल्याटिन अमेरिकी प्रवासी छन्, जो निरन्तरको गरिबी, हिंसा र भ्रष्ट शासन प्रणालीबाट ज्यान जोगाई अमेरिकामा शरण लिन आउँछन् । यस्ता व्यक्तिहरूलाई पटकपटक अवैध आप्रवासी भनेर निसाना पनि बनाउने गरिन्छ । आईसीई (इमिग्रेसन एन्ड कस्टमस इन्फोर्समेन्ट)द्वारा बिनावारेन्ट छापामारी, गिरफ्तारी र बलजफ्ती निर्वासनजस्ता पाइला पनि यिनीहरूमाथि नै चाल्ने गरिन्छ ।
दोस्रो पंक्तिमा एसियाली मूलका खासगरी फिलिपिन्स, भियतनाम र चीनजस्ता देशका प्रवासी छन् । यिनीहरूमध्ये केही मानिस वैद्य भिसामा आएका हुन्छन् तर आप्रवासन नियमका जटिल जालमा अल्झेर ‘आनेभरस्टे’ (अन इन्डोर्समेन्ट) गर्नेहरूको सूचीमा परिहाल्छन् । ट्रम्प युगका नीतिहरूले यिनीहरूलाई गम्भीर रूपमा प्रभावित पारेको छ । यिनीहरूसित रङका आधारमा पनि भेदभाव हुन्छ र प्रहरीहरूले पनि अपेक्षाकृत बढी नै कठोर व्यवहार गर्छन् ।
आफ्नो स्वदेशको त्रासदीपूर्ण एवं दुःखद अवस्थाबाट भागेर सुरक्षाका लागि र अपेक्षाकृत राम्रो जीवनको खोजीमा उनीहरु अमेरिका आएका हुन्छन् तर उनीहरूले अमेरिकामा कानुनी असुरक्षा, प्रशासनिक कठोरता र सामाजिक भेदभावको सामना गर्नुपर्ने हुन्छ ।
तेस्रो पंक्तिमा इरिट्रिया, सुडान, इथियोपियाजस्ता अफ्रिकी देशबाट आएका शरणार्थी हुन्छन् । यी व्यक्ति अफ्रिकामा जारी युद्ध, राजनीतिक अस्थिरता र मानव अधिकारबाट बच्न अमेरिकामा शरण माग्ने गर्छन् तर यिनका भिसा आवेदनलाई वर्षौंसम्म थन्क्याएर राख्ने गरिन्छ र पछि गएर यिनीहरूलाई ‘डिटेन्सन सेन्टर्स’मा बन्द गरिन्छन् ।
चौथो पंक्तिमा इरान, सिरिया, यमन, अफ्गानिस्तानजस्ता मुस्लिम देशबाट आउने प्रवासी छन् । यिनीहरूलाई ट्रम्प प्रशासनले ‘मुस्लिम ब्यान’ नीति अन्तर्गत अपेक्षाकृत बढी ध्यान केन्द्रित गर्छ । आपराधिक गतिविधिमा सामेल होलान् कि भन्ने शंका गर्ने गरिन्छ । यिनीहरूलाई शंकाकै नजरले हेर्ने गरिन्छ र बढी नै सामाजिक र प्रशासनिक भेदभावको सामना गर्नुपर्ने हुन्छ ।
चौथो पंक्तिमा उभिएका आप्रवासी अनधिकृत श्रमिक र न्यून आय भएका छन् । जो प्रवासी निर्माण सफाइ, होटल वा कृषिजस्ता क्षेत्रमा परिश्रम गर्छन् । उनीहरूलाई सधैँ नै श्रम कानुनबाट वञ्चित गरिन्छ साथै आईसीईको छापामारीको मुख्य सिकार पनि यिनै व्यक्तिहरू हुने गर्छन् । कोभिड–१९ पछि यिनीहरूको अवस्था झन् बढी दयनीय हुन गएको छ ।
सन् २०२० मा जर्ज फ्लायडको हत्यापश्चात् सुरु भएको ‘ब्ल्याक लाइभ्स म्याटर’ आन्दोलनमा क्यालिफोर्नियामा मात्रै दश हजारभन्दा पनि बढी आन्दोलनकारीलाई पक्राउ गरिएको थियो । शान्तिपूर्ण तरिकाले विरोध प्रदर्शन गरिरहेका यी प्रदर्शनकारीमाथि प्रहरीले आँसु ग्यास, रबडको गोली प्रयोग गरेको थियो । रिपोर्टका अनुसार त्यतिबेला लस एन्जलसमा २० भन्दा बढी व्यक्तिको ज्यान गएको थियो भने सयौँ व्यक्ति घाइते भएका थिए । सन् २०२४ र २०२५ मा पनि अब आप्रवासीका अधिकार, पुलिस सुधार र रङ्गभेदी न्यायका लागि आन्दोलन भएका छन् । फेरि पनि त्यही अवस्थाको पुनरावृत्ति भएको छ, अर्थात् सत्ताको डरलाग्दो प्रदर्शन र विरोधका स्वरलाई दबाउने काम भएको छ ।
डोनाल्ड ट्रम्पको ‘जिरो टलरेन्स’ नीतिका कारण सन् २०१८ मा २,६०० बच्चाहरूलाई तिनका आमा–बुवाबाट अलग गरी ‘डिटेन्सन सेन्टर’मा राखिएको थियो । ह्युमन राइटस वाच, युएन एचसीआर र युनिसेफजस्ता संस्थाहरूले उक्त ‘डिटेन्सन सेन्टर’लाई अमावनीय भनेको थियो । आईसीईद्वारा वर्ष २०१९ मा एक लाख ४० हजारभन्दा बढी आप्रवासीलाई पक्राउ गरिएको थियो, जसमध्ये ७० प्रतिशतका विरुद्धमा कुनै पनि किसिमको आपराधिक कसुर नै थिएन । क्लालिफोर्नियामा २७ प्रतिशत आप्रवासी मूलका मानिस छन्, त्यहाँ विनाकुनै वारेन्ट घरभित्र प्रवेश गरेर छापामारीका घटना हुनु लोकतान्त्रिक अधिकारीको खुला उल्लंघन हो । क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युसम र लस एन्जेलसका मेयरले जब यसको विरोधमा केही बोल्न थाले, अनि केन्द्र सरकारले कुराकानी गर्नुको सट्टा सैन्य बलको मार्गलाई रोज्यो । एक हजारभन्दा बढी नेसनल गार्ड र सैन्य बललाई तैनाथ गरियो, तिनको उपस्थिति मात्रले नै भयको माहोल बनाउने काम गर्छ ।
एउटा लोकतान्त्रिक राज्यमा सैन्य तानाशाहीको झलक शोभायमान हुँदैन । ट्रम्पको केन्द्रीय सत्ताले त क्यालिफोर्नियाका गर्भनरको गिरफ्तारीको कुरा यस कारण गर्न थाल्यो कि गर्भनर राज्यको कानुनी व्यवस्थामा केन्द्रीय सत्ताको अनावश्यक हस्तक्षेपको उनले विरोध गरेका थिए । यसका निम्ति न्यायपालिकासम्म जाने धम्की पनि केन्द्र सरकारलाई दिएका थिए ।
अमेरिकाले युक्रेन, चीन, इरान, नेपाल अथवा भारतजस्ता देशमा मानव अधिकारको विषयलाई चर्को रूपमा उठाउने गर्छ तर आफ्नो देशभित्र हुने गरेका घटनामा अपेक्षाकृत नरमी देखिएको हुन्छ । न्युयोर्क टाइम्स, वासिंगटन पोस्ट र सीएनएनजस्ता सञ्चारमाध्यमले कहिलेकाहीँ आलोचना गरे पनि समग्र रूपमा एउटा संगठित सत्यलाई सामुन्ने ल्याउँदैनन् । संयुक्त राष्ट्र संघले विश्वको प्रत्येक कुनामा मानव अधिकारको कुरा गर्छ तर अमेरिकाको सवालमा सधैँ मौन बसेको हुन्छ । यस्ता खाले दोहोरो मापदण्डले न्याय प्रणालीको विश्वसनीयतामाथि प्रश्नचिह्न खडा गर्दछ ।
अतः अब एउटा यस्तो समय आएको छ, जसमा अमेरिकाले पनि ऐनामा हेरेर आफ्नो भनाइ र गराइबिचको अन्तरलाई बुझ्नु र यसको समीक्षा गर्नु आवश्यक भएको छ । पूरै विश्वमा लोकतन्त्र र मानव अधिकारको कुरा गर्नेले आफ्नो देशभित्रको अवस्थालाई हेर्न आवश्यक छ । क्यालिफोर्नियाका घटनाले अमेरिकी लोकतन्त्रको कमजोरीलाई नै उजागर गर्र्छ । आफ्नै जनताको विरोधलाई सुन्न नसक्ने देश लोकतन्त्रको पाठ अरुलाई कसरी पढाउन सक्छ । मानवता कुनै सिमाना र मर्यादाको मुखापेक्षी हुँदैन । क्यालिफोर्नियाका घटनाको पक्षमा लोकतन्त्र समर्थकको आवाज आउनुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण