बिचौलियाले ‘काउन्टर सेटिङ’ गर्छन्, छानबिन चल्दाचल्दै सेटिङमा उड्दैछन् युवा
सारांश
- भिजिट भिसा प्रकरणमा पूर्वमुख्यसचिवको नेतृत्वमा छानबिन भइरहेको छ, भने अख्तियारले पनि अनुसन्धान गर्दैछ।
- त्रिभुवन विमानस्थलका कर्मचारी र बिचौलियाको सेटिङमा युवतीहरूलाई विदेश पठाएर रकम असुल्ने गरेको खुलासा भएको छ।
- भिजिट भिसामा जानेहरूका लागि तोकिएका नियम मिचेर नक्कली कागजात बनाएर पठाउने गरेको आरोप लागेको छ।
काठमाडौँ । भिजिट भिसा प्रकरणमा पूर्वमुख्यसचिव शंकरदास बैरागी नेतृत्वको समितिले छानबिन गरिरहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख तीर्थराज भट्टराई र ३ जना बिचौलियामाथि विस्तृत अनुसन्धान गर्दैछ ।
भट्टराई, ‘द होलिडेज’ ट्राभलका सञ्चालक बालकृष्ण पौडेल, खगेन्द्र सुवेदी र अर्की एक महिला भिजिट भिसा प्रकरणमा अनुसन्धानको दायरामा छन् ।
प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले प्रश्न उठाइरहँदा असार २८ (१२ जुलाई)मा सरिता थापा, मनमाया दुलाल पोखरेल, डोमा शेर्पा र मानियम तामाङ कतारको दोहाका लागि उड्ने तरखरमा थिए । आर्थिक रूपमा विदेश घुम्ने क्षमता नभएका तर घुम्ने आवरणमा विदेशमा काम गर्न पठाएर रकम असुल्ने गरेको विषयमा राज्य संयन्त्रमाथि नै प्रश्न उठेकोबारे ती चार जना युवतीलाई कुनै परवाह थिएन ।
उनीहरू बिचौलियाले भनेअनुसारको अध्यागमन काउन्टरमा पुग्छन् र त्यहाँ अध्यागमन अधिकृतले छाप लगाएसँगै दोहा उड्ने विमान चढ्छन् । १३ जुलाईमा दोहाबाट ‘हाउस वर्कर’को भिसा बोकेर उनीहरू कुवेत लाग्छन् ।
बिचौलियाले उनीहरूलाई हाउस वर्करको भिसा काठमाडौँ विमानस्थलमै दिएका थिए । विमानस्थलका एक जना सुरक्षा अधिकृत भन्छन्, ‘कुवेतको भिसा पेपरमा हुन्छ, त्यहाँ ओर्लिएपछि अराइभल भिसा लगाएर उनीहरू त्यतै बस्छन् ।’
असार २४ मा रुपन्देहीकी अर्चना बिके पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारतर्फ उडिन् । अर्चना यहाँबाट कतारको भिजिट भिसा लगाएर उडेकी थिइन् । विमानस्थलका एक जना सुरक्षा अधिकृतका अनुसार ८ जुलाईमा काठमाडौँ एयरपोर्ट छाड्दा उनको झोलामा बिचौलियाले कुवेतको ‘डोमेस्टिक वर्कर’को भिसा प्रिन्ट गरेर राख्न लगाइसकेका थिए । ती अधिकृत भन्छन्, ‘कुवेतमा पुगेपछि त्यहाँको कानुन अनुसार प्रवेषाज्ञा छाप लगाउने र नफर्किने प्रचलन छ ।’
बिचौलियाहरूले विमानस्थल अध्यागमन कार्यालयको काउन्टरमा सेटिङ गरेर युवा–युवतीहरूलाई भिजिट भिसामा पठाउने गरेका छन् । यात्रुलाई विमानस्थल बाहिर नै भनिएको हुन्छ– यो नम्बरको काउन्टरमा जानु, त्यहाँ छाप लगाइदिन्छन् ।
आजभोलि काउन्टर तोकेर दैनिक करिब ५० जना भिजिट भिसामा बिदेसिने गरेका छन् । सेटिङमा पठाउँदा प्रतिमहिला ४० हजार र पुरुषसँग २० हजार रुपैयाँसम्म लिने गरिन्थ्यो तर छानबिन सुरु भएपछि अध्यागमनका कर्मचारीहरूले थप शुल्क असुल्न थालेको स्रोत बताउँछ ।
भिटिज भिसामा जानेहरूका लागि दुईतर्फी हवाई टिकट र ५ सय डलर बराबरको नगद सटही गरेर छाप लगाउनुपर्ने नियम छ । विदेशमा बस्ने होटल पनि ‘बुकिङ’ गर्नुपर्छ । तर, बिचौलियाहरूसँगको सेटिङमा अध्यागमनका कर्मचारीहरूले त्यस्ता कागजात नै नहेर्ने विमानस्थल अध्यागमनमा यसअघि काम गरेका एक जना अधिकृतले बताए ।
ती अधिकृत भन्छन्, ‘सेटिङमा जानेहरूको कुनै पनि कागजात चेक गरिँदैन ।’
एयरलाइन्सको पनि ‘कनेक्सन’
भिजिट भिसामा एयरलाइन्सका कर्मचारीहरूको पनि मिलेमतो हुने जानकारहरू बताउँछन् । भिजिट भिसामा जानेहरूका लागि दुईतर्फी हवाई टिकट चाहिन्छ, तर बिचौलियासँग मिलेर एयरलाइन्सका कर्मचारीहरूले काठमाडौँबाट यात्रु उडेपछि फर्किने टिकट अटोमेटिक क्यान्सिल गर्ने गरेको जानकारहरू बताउँछन् ।
हिमालयन एयरलाइन्स र एयर अरेबियाले त्यसरी टिकट क्यान्सिल गरेर मिलेमतो गर्ने गरेको आरोप छ ।

भिजिट भिसामा मानव तस्करी गर्ने गिरोहले होटल बुकिङ पनि फर्जी बनाउने गरेको स्रोत बताउँछ । भिजिट भिसामा युएई गएका युद्ध बहादुर थापाले युुनाइटेड अरब इमिरेट्समा १२ रातको लागि भनेर होटल बुक गरेको कागजात बुझाए । उनले ‘माउन्ट रोयल होटल’ जुलाई ४ देखि १६ सम्मको अनलाइन बुकिङ गरेको देखाएका थिए ।
तर, सो होटल उनको नाममा बुक नै नभएको भेटिएको छ । अध्यागमन क्लियर गर्नुअघि सबै कागजात हेर्नुपर्ने भए पनि अधिकृतहरूले रकम असुलेर त्यस्ता कागजात वास्ता गर्दैनन् ।
६ बुँदे निर्देशन ‘बेकामे’
गृहमन्त्रीस्तरीय निर्णय गरेर विभागले २०८० माघ १० देखि भिजिट तथा पर्यटक भिसामा विदेश जानेहरूका लागि ६ बुँदे निर्देशन लागु गरेको थियो । तर, बिचौलियासँग मिलेर अध्यागमनका कर्मचारीहरूले सो निर्देशनलाई ‘बेकामे’ बनाएको आरोप छ ।
भिजिट भिसामा जानेहरूका लागि दुईतर्फी हवाई टिकट र ५ सय डलर बराबरको नगद सटही गरेको छाप लगाउनुपर्ने नियम छ । तर, कर्मचारीहरूले बिचौलियाहरूसँग मिलेर एकतर्फी टिकट र डलर साटेको ‘फर्जी छाप’ लगाएर यात्रा अनुमति दिने गरेको विमानस्थलमा कार्यरत कर्मचारी बताउँछन् ।
यसअघि मानव बेचबिखन ब्युरोबाट भिजिट भिसामा हुने बदमासी नियन्त्रण गर्न प्रहरी खटाउने गरिएको थियो । तर, विमानस्थल अध्यागमन कार्यालयका प्रमुखको सक्रियतामा अहिले ब्युरोका प्रहरी फिर्ता भएका छन् । त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका कर्मचारीले पनि भिजिट भिसामा हुने चलखेल निगरानी गर्न पाउँदैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण