शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
अन्तरवार्ता

‘नाइमा एक्स्पोमा ५० भन्दा बढी ब्राण्डको सहभागिता हुन्छ, अवलोकनकर्ताले फरक अनुभव पाउँछन्’

बुधबार, ३२ असार २०८२, ०८ : ४७
बुधबार, ३२ असार २०८२

सारांश

  • नाइमा नेपाल मोबिलिटी एक्स्पो साउन २१ गतेदेखि सुरु हुने भएको छ, जसमा ४८ स्टल र ५० भन्दा बढी ब्रान्ड सहभागी हुनेछन्।
  • एक्स्पोमा फोर-ह्विलर, टु-ह्विलर र कमर्सियल गाडीलाई प्राथमिकता दिइनेछ, र ग्राहकहरूले नयाँ गाडी र विशेष अफरको अपेक्षा गर्न सक्छन्।
  • एक्स्पोमा रोड सेफ्टी र स्किल डेभलपमेन्ट जस्ता विषयमा प्यानल डिस्कसन हुनेछन्, साथै युरो-६ मापदण्डबारे पनि जानकारी दिइनेछ।

नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) को आयोजनामा आगामी साउन २१ गतेदेखि ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ हुँदैछ । गत फागुनमा स्थापना भएको उक्त कम्पनीले स्थापनाको छोटो समयमै एक्स्पो आयोजना गर्न लागेको हो । 

आर्थिक शिथिलताका कारण केही वर्षदेखि सुस्त बनेको नेपाली अर्थतन्त्रमा अहिले केही सुधारका सङ्केत देखिएका छन् । बाह्य क्षेत्रसँगै राजस्व सङ्कलन, आयात लगायतका आन्तरिक मागका क्षेत्रमा समेत सकारात्मक अवस्था देखिँदै गएको छ । यो अवस्थामा नाइमाले गर्न लागेको ‘अटो शो’ कस्तो हुनेछ भन्ने विषयमा केन्द्रित रही ‘एक्स्पो’का संयोजक शिशिर कुमार मुरारकासँग गरिएको अन्तर्वार्ता प्रस्तुत गरिएको छ । 

साउन २१ देखि ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ हुँदैछ, यसको तयारी कस्तो छ ?

एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको छ । हामीले स्टल बाँडफाँटको काम सम्पन्न गरिसकेका छौँ । सहभागी ब्रान्डहरूले पनि एक्स्पोका लागि आफ्नो तयारी थालिसक्नु भएको छ । 

हामी आयोजकको तर्फबाट भृकुटीमण्डपको व्यवस्थापन, सरसफाइ र अवलोकनकर्ताको सहजताका लागि काम भइरहेको छ । अबको केही दिनमा स्टल निर्माणको काम सुरु हुन्छ । यो सुरु भएपछि भौतिक रूपमै एक्स्पोको रौनक देखिन थाल्नेछ ।

यस एक्स्पोमा कति स्टल र ब्रान्ड सहभागी छन् ?

हाम्रो एक्स्पोमा कुल ४८ वटा स्टल बुक भएका छन्, जसमा ५० भन्दा बढी ब्रान्डले आफ्ना उत्पादन प्रदर्शन गर्नेछन् । कतिपय कम्पनीले एउटै स्टलमा दुई वटा ब्रान्ड प्रदर्शन गर्ने भएकाले स्टल संख्याभन्दा ब्रान्ड संख्या बढी भएको हो ।

एक्स्पोमा ग्राहकले पाउने मुख्य आकर्षण के हो ? कस्ता प्रकारका गाडीलाई प्राथमिकता दिइएको छ ? आईस र ईभीको गाडीको अनुपातको अवस्था कस्तो छ ?

यस एक्स्पोमा विशेषगरी फोर–ह्विलर, टु–ह्विलर र कमर्सियल गाडीहरूलाई फोकस गरिएको छ । हामीसँग भएका ४८ वटा स्टलमा ५० ब्राण्डको प्रदर्शनी हुनेछ । यसरी सहभागी हुने ब्रान्डहरूमा २१ वटा फोर–ह्विलर, १७ वटा टु–ह्विलर, सात वटा कमर्सियल र एउटा थ्री–ह्विलर ब्रान्ड छन् । 

2-Shishir Kumar Murarka (5)

तर हामीले आईस (पेट्रोल/डिजेल) र ईभी (विद्युतीय) साधनको लागि भनेर छुट्टै स्टलको व्यवस्था गरेका छैनौँ । नाइमाको लागि दुवै ब्रान्ड उत्तिकै प्राथमिकतामा छ । धेरै ब्रान्डका दुवै प्रकारका गाडी छन्, स्टलमा दुवै प्रकारका गाडी राख्न सकिन्छ । केही हाइब्रिड गाडी पनि प्रदर्शनीमा आउन सक्छन् । त्यससम्बन्धी निर्णय एक्जिबिटर आफैँले गर्ने कुरा हो । 

नेपाली बजारमा धेरै वर्षदेखि ‘अटो शो’हरू हुँदै आएका छन् । ‘नाइमा मोबिलिटी अटो एक्स्पो’मा के कुरामा फरक छ ? अवलोकनकर्ताले के नयाँ कुराको अपेक्षा गर्ने ?

हामीले यस पटकको एक्स्पोलाई बढी ‘फोकस्ड’ बनाएका छौँ । फोर–ह्विलर र टु–ह्विलरमा केन्द्रित भएकाले अवलोकनकर्ताले फराकिलो स्पेसमा गाडीहरू हेर्न र बुझ्न पाउनुहुनेछ । ब्रान्डहरूले पनि आफ्ना उत्पादन राम्ररी प्रदर्शन गर्न ठुलो स्टल पाएका छन् । 

यसबाहेक, हामीले रोड सेफ्टी, स्किल डेभलपमेन्ट जस्ता विषयमा प्यानल डिस्कसनहरू पनि आयोजना गर्दैछौँ, जुन विगतका एक्स्पोहरूभन्दा फरक र नयाँ हुनेछ । हाम्रो प्रयास भनेको अवलोकनकर्ता र एक्जिबिटर दुवैलाई सहज र फलदायी वातावरण प्रदान गर्नु हो ।

विगतका एक्स्पो वा अटो शोमा मोटर, पार्टपुर्जा र मोबिल लगायत सबै वस्तुको प्रदर्शनी स्टल राखिन्थ्यो । यसपटक यी वस्तुको प्रदर्शनी हुन्छ कि हुँदैन ? यसको व्यवस्थापन कसरी हुँदैछ ?

हाम्रो एक्स्पोमा सहभागी सबै ब्रान्डहरूले नेपालमा आधिकारिक सर्भिस सेन्टर र पार्टपुर्जा तथा विद्युतीय गाडीको हकमा चार्जिङ स्टेशनको व्यवस्था गरेका छन् । 

गाडी डिस्प्ले भएपछि त्यससँग जोडिएको पार्टपुर्जा र सर्भिसको कुरा स्वतः आउँछ । यदि कुनै ब्रान्डले त्यस्तो स्टल राखेनन् भने पनि हरेक ब्रान्डले आफ्नो बिक्रीपछिको सेवा र पार्टपुर्जाको विश्वसनीयताको ग्यारेन्टी दिनेछन् ।

पछिल्लो समय (विशेषगरी ईभीमा) बजारमा नयाँ–नयाँ ब्रान्ड आएका छन् । तर तीमध्ये सबै विश्वसनीय छैनन् । कुनैमा पार्टपुर्जा नपाउने समस्या र कुनैमा सर्भिस नपाउने जस्ता समस्या पनि छ । तपाईंको एक्स्पोमा सहभागी ब्रान्डको विश्वसनीयता कसरी सुनिश्चित गर्नुभएको छ ?

यो एउटा महत्त्वपूर्ण प्रश्न हो । हामीले एक्स्पोमा सहभागी गराएका सबै ब्रान्ड नेपालमा आधिकारिक रूपमा स्थापित भइसकेका छन् । उहाँहरूको सर्भिस सेन्टर, पार्टपुर्जाको उपलब्धता र बिक्रीपछिको सेवा सुनिश्चित गरिएको छ । हामीले ग्राहकले ढुक्क भएर गाडी खरिद गर्न सक्ने वातावरण बनाएका छौँ । एक्स्पोमा प्रदर्शनमा राखिने कुनै पनि गाडी किन्दा भोलि पछुताउनु पर्ने अवस्था आउने छैन भन्नेमा हामी विश्वस्त छौँ ।

मोबिलिटी वा अटो एक्स्पोहरूको मुख्य उद्देश्य ब्रान्डिङ हो कि व्यापार ?

यो दुवैको समिश्रण हो । विश्वभरका अटो शोहरूमा ब्रान्डिङ, व्यापार र भविष्यको प्रविधि प्रदर्शन एकैसाथ हुन्छ । हाम्रो एक्स्पोमा पनि नयाँ गाडीको लञ्चमार्फत ब्रान्डिङ हुन्छ, ग्राहकले गाडी किनेर व्यापार हुन्छ र हाइब्रिड जस्ता नयाँ प्रविधिबारे जानकारी दिएर भविष्यको दिशा देखाइन्छ । यी तीन वटै कुरा एकअर्काका परिपूरक हुन् ।

3-Shishir Kumar Murarka (2)

विगतमा बजारमा एउटा अटो शो हुन्थ्यो । अब दुई वटा हुने भएका छन्, तपाईंहरूको एक्स्पो सकिएको केही दिनमै अर्को शोको घोषणा गरिएको छ, यसले प्रतिस्पर्धालाई कति बढाएको छ ?

हामीले यसलाई प्रतिस्पर्धाको रूपमा हेरेका छैनौँ । हाम्रो फोकस भनेको फोर–ह्विलर र टु–ह्विलर बजारलाई व्यवस्थित र प्रवर्द्धन गर्नु हो । यदि प्रतिस्पर्धा नै हुन्छ भने पनि यसले अन्ततः समग्र अटो उद्योगलाई नै फाइदा पुर्‍याउँछ । तर हाम्रो उद्देश्यचाहिँ नाइमाको उद्देश्य र एजेन्डाअनुसार अटोमोबाइल क्षेत्रको विकासमा सहयोग गर्नुमात्रै हो ।

नाइमामा रहेका अधिकांश सदस्य अहिले अर्को संस्था (नाडा) मा पनि छन् । तपाईंको एक्स्पोमा सहभागी भएका ब्राण्ड अर्को शोमा पनि सहभागी हुने सम्भावना छ कि छैन, खुला छ कि छैन ?

यो व्यवसायीको व्यक्तिगत र व्यावसायिक निर्णयको कुरा हो । हामीले कसैलाई पनि अन्य एक्स्पोमा सहभागी हुनबाट रोकेका छैनौँ । कुनै ब्रान्डले अरु कुनै पनि प्लेटफर्मको प्रयोग गरेर आफ्नो ब्रान्डको प्रदर्शनी गर्न चाहनुहुन्छ भने त्यो उहाँहरूको स्वतन्त्रता हो । हाम्रो एक्स्पोमा सहभागी भइसकेपछि अन्यत्र जान पाइँदैन भन्ने कुनै बाध्यता छैन ।

हालै सार्वजनिक मौद्रिक नीतिले अटो क्षेत्रलाई खासै सम्बोधन गरेन, यसले एक्स्पोलाई कस्तो प्रभाव पार्ला ?

हो ।  मौद्रिक नीतिले हाम्रो अपेक्षाअनुसार अटो लोनको लोन टू भ्यालु रेसियो बढाएन । हामीले आईस र ईभी दुवैमा ८०ः२० को अनुपात हुनुपर्छ भनेर माग गरेका थियौँ, तर मौद्रिक नीतिमा त्यो सम्बोधन भएन । यसले बजारमा ३० देखि ३५ प्रतिशतसम्मको गिरावट ल्याउन सक्ने हाम्रो अनुमान छ । 

तर, यसको एउटा सकारात्मक पक्ष पनि छ । हाल बैंकहरूको ब्याजदर घट्दो क्रममा छ र फिक्स्ड ब्याजदरको सुविधाले ग्राहकलाई आकर्षित गर्न सक्छ । यसले मौद्रिक नीतिको नकारात्मक प्रभावलाई केही हदसम्म सन्तुलनमा राख्न मद्दत गर्नेछ ।

पछिल्लो समय अर्थतन्त्रमा देखिएको सुधारले पनि अटो क्षेत्रलाई सकारात्मक प्रभाव नै पार्छ भन्ने हाम्रो अपेक्षा छ । त्यसैले हाम्रो एक्स्पोका राम्रो सहभागिता हुन्छ भन्नेमा हामी विश्वस्त छौँ । 

यो एकस्पोमा ग्राहकले कस्ता नयाँ गाडी र अफर अपेक्षा गर्न सक्छन् ?

हामीले सहभागी ब्रान्डहरूबाट नयाँ मोडलहरूको बारेमा जानकारी सङ्कलन गरिरहेका छौँ । हाम्रो अनुमान अनुसार आईसी, ईभी र हाइब्रिड तीन वटै सेग्मेन्टमा नयाँ र आकर्षक गाडीहरू सार्वजनिक हुनेछन् । धेरैजसो ब्रान्डहरूले एक्स्पोदेखि दसैँ–तिहारसम्म लागु हुने गरी विशेष अफर ल्याउने गर्छन् । त्यसैले, गाडी खरिद गर्न चाहने ग्राहकका लागि यो एउटा उत्कृष्ट अवसर हुनेछ । उहाँहरूले एउटै छानामुनि विभिन्न ब्रान्डका गाडीहरू तुलना गरेर किन्न सक्नुहुनेछ ।

4-Shishir Kumar Murarka (3)

सरकारले लागु गरेको युरो–६ मापदण्डले बजारमा कस्तो प्रभाव पार्छ ?

यो एउटा स्वाभाविक प्रक्रिया हो । समयसँगै प्रविधि र मापदण्ड परिवर्तन हुन्छन् । सुरुमा केही असहज भए पनि अन्ततः सबैले यसलाई अपनाउनै पर्छ । अहिले भारतबाट आउने अधिकांश गाडीहरू पहिलेदेखि नै युरो–६ मापदण्डका छन् । अन्य देशबाट आउने पनि बिस्तारै यो मापदण्डमा आउनेछन् । यो वातावरण र प्रविधि सुधारका लागि आवश्यक कदम हो । यसले हाम्रो एक्स्पोलाई खासै केही असर गर्दैन । 

अन्त्यमा, एक्स्पोमा आउन चाहने अवलोकनकर्ताका लागि टिकट शुल्क कति हो ? तपाईंले एक्स्पोमा कति सहभागी हुने अपेक्षा गर्नुभएको छ ?

एक्स्पोमा प्रवेशका लागि सर्वसाधारणलाई २०० रुपैयाँ तथा विद्यार्थी तथा ज्येष्ठ नागरिकका लागि परिचयपत्रको आधारमा १०० रुपैयाँ शुल्क तोकिएको छ । हामीले अहिलेसम्म अवलोकनकर्ताको यकिन संख्याको आकलन गरिसकेको अवस्था छैन । यद्यपि विगतमा वर्षमा भएका अन्य एक्स्पोहरूभन्दा कम नहुने हाम्रो अपेक्षा गरेका छौँ । हाम्रो मुख्य ध्यान संख्याभन्दा पनि अवलोकनकर्तालाई सहज र व्यवस्थित अनुभव प्रदान गर्नुमा केन्द्रित हुनेछ ।

5-Shishir Kumar Murarka (4)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप