बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिम विश्वविद्यालयको १३औँ सभा सम्पन्न, तीन प्रस्ताव संशोधनसहित पारित

बुधबार, ३२ असार २०८२, १३ : ४०
बुधबार, ३२ असार २०८२

सारांश

  • सुदूरपश्चिम विश्वविद्यालयको १३औँ सभाको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भयो।
  • बैठकमा आर्थिक वर्ष २०८२/०८३ को बजेट र अन्य प्रस्तावहरू संशोधनसहित पारित गरियो।
  • प्रधानमन्त्री ओलीले विश्वविद्यालयको शैक्षिक प्रगतिका लागि सरकारको ध्यान केन्द्रित हुने बताए।

काठमाडौँ । सुदूरपश्चिम विश्वविद्यालयको १३औँ सभाको साधारण बैठक मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको छ। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बसेको उक्त बैठकले तीनवटा प्रस्तावहरू संशोधनसहित पारित गरेको छ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा विश्वविद्यालयका सह–कुलपति रघुजी पन्त, राष्ट्रिय योजना आयोगकी सदस्य गीता कुमारी पौड्याल, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष डा. देवराज अधिकारी, त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. दिपक अर्याल, काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा. अच्युत वाग्ले, शिक्षा तथा अर्थ मन्त्रालयका सचिवहरू, विश्वविद्यालयका सभासद तथा आमन्त्रित विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

बैठकमा विश्वविद्यालयका उपकुलपति प्रा. डा. हेमराज पन्तले स्वागत मन्तव्यसहित नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। बैठकको सञ्चालन रजिष्ट्रार प्रा. डा. विनोद लेखकले गरेका थिए।

बैठकमा आर्थिक वर्ष २०८२/०८३ को प्रस्तावित बजेट तथा कार्यक्रम, आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदन र आर्थिक वर्ष २०८१/०८२ को संशोधित आय–व्यय सम्बन्धी प्रस्तावहरू पेश गरिएको थियो। विश्वविद्यालयले जनाएअनुसार ती सबै प्रस्तावहरू छलफलपछि आवश्यक संशोधनसहित सर्वसम्मतिले पारित भएका हुन्।

बैठकको समापन गर्दै प्रधानमन्त्री तथा कुलपति ओलीले विश्वविद्यालयको शैक्षिक, प्रशासनिक र आर्थिक प्रगतिको विषयमा सरकारको ध्यान केन्द्रित हुने बताएका थिए। उनले संस्थागत सुधार र गुणस्तरीय शिक्षाका लागि विश्वविद्यालयको नेतृत्व थप सक्रिय रहनुपर्नेमा जोड दिएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप