बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

उच्च अदालत पोखराको मुद्दा फर्छ्यौटमा सुधार

बुधबार, ३२ असार २०८२, २३ : ११
बुधबार, ३२ असार २०८२

सारांश

  • उच्च अदालत पोखराले मुद्दा फर्छ्यौटमा तीव्रता दिँदै गत वर्षको तुलनामा यो वर्ष मुद्दा फर्छ्यौट दर बढेको छ।
  • यस वर्ष २,६७० मुद्दा फर्छ्यौट भएका छन् भने ७५० मुद्दा फर्छ्यौट हुन बाँकी छन् ।
  • १८ महिना नाघेका मुद्दाको संख्या शून्यमा झरेको छ, र अदालतले ६५ प्रतिशतको लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट गरेको छ।

गण्डकी । सर्वोच्च अदालतको पञ्चवर्षीय रणनीतिक योजनाअन्तर्गत उच्च अदालत पोखराले मुद्दाको फर्छ्यौटमा तीव्रता दिएको छ । उच्च अदालतको आँकडाअनुसार मुद्दा फर्छ्यौटको दर यस वर्ष वृद्धि भएको हो । गत आवमा अदालतमा रहेका कूल तीन हजार ४ सय ८८ मुद्दामध्ये एक हजार ८ सय ९८ अर्थात् जम्मा ५४.४१ प्रतिशत मुद्दा फर्छ्यौट भएकामा यस आवमा मुद्दा फर्छ्यौटको दर ७८.०७ प्रतिशत पुगेको छ । 

यस वर्ष अदालतमा रहेका कूल तीन हजार ४ सय २० मुद्दामध्ये दुई हजार ६ सय ७० मुद्दा फर्छ्यौट भएको अदालतका रजिष्ट्रार खड्गराज अधिकारीले जानकारी दिए । फर्छ्यौट हुन बाँकी मुद्दाको सङ्ख्या ७ सय ५० रहेको छ । गत आवमा १८ महिना नाघेका मुद्दा १२ रहेकामा चालु आवमा त्यस्ता मुद्दाको सङ्ख्या शून्यमा झरेको रजिष्ट्रार अधिकारीले बताए । बर्सेनि पुराना मुद्दाको सङ्ख्या घटेको उनको भनाइ छ । 

अदालतमा आव २०७७/०७८ मा १२१, २०७८/०७९ मा ६३ र २०७९/०८० मा १७ मुद्दा १८ महिना नाघेका थिए । फर्छ्यौट हुन बाँकी ७५० मुद्दामध्ये सरल प्रकृतिका ५३४, सामान्य प्रकृतिका १८६ र विशेष प्रकृतिका ३० मुद्दा रहेको रजिष्ट्रार अधिकारीले जानकारी दिए । सर्वोच्च अदालतको ६५ प्रतिशत मुद्दा फर्छ्यौटको लक्ष्य तोके पनि त्योभन्दा बढी ७८.०७ प्रतिशत मुद्दा फर्छ्यौट भएको उनको भनाइ छ ।  

उच्च अदालतका मुख्य न्यायाधीश डा रत्नबहादुर बागचन्दले छरितो र चुस्त कार्यसम्पादनका कारण मुद्दा फर्छ्यौटमा उल्लेख्य सुधार आएको बताए । सीमित स्रोतसाधनका बाबजुद न्याय सम्पादनलाई प्रभावकारी बनाउँदै न्यायमा सबैको पहुँच अभिवृद्धिका लागि आफूहरू लागिपरेको मुख्य न्यायाधीश डा बागचन्दले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप