एमालेमा विद्याको इन्ट्रीसँगै वामपन्थी एकता कति सम्भव ?
सारांश
- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिमा पुनरागमनले वामपन्थी एकताको चर्चा सुरु भएको छ।
- माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वामपन्थी एकताका लागि उत्साहित नहुने निष्कर्ष निकालेका छन्।
- विभिन्न नेताहरूले वामपन्थी एकताको सम्भावना कम रहेको र मोर्चाबन्दीको कुरा गरेका छन्।
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिमा पुनरागमनसँगै फेरि वामपन्थी एकताको चर्चा–परिचर्चा सुरु भएको छ । नेकपा(एमाले)का तत्कालीन महासचिव मदन भण्डारीको ७४ औँ जन्म जयन्तीको अवसरमा भण्डारीले सक्रिय राजनीतिमा जोडिएको घोषणा गरेकी थिइन् । तर उनको पुनरागमनलाई एमाले नेतृत्वले कसरी व्यवस्थापन गर्छ, त्यसको निष्कर्षमा पुग्न ११ औँ महाधिवेशनसम्म पर्खिनुपर्ने हुन्छ ।

संस्थापन पक्षका अधिकांश नेताहरू भण्डारीलाई रोक्नुपर्ने पक्षमा देखिएका छन् । इतर पक्षका नेताहरू उनलाई पार्टीभित्र भूमिका दिने मात्र होइन नेतृत्वमै स्थापित गर्न लागिपरेका छन् । यी सबै चुनौती झेलेर अगाडि बढ्न चाहेकी भण्डारीले सर्वसम्म नेतृत्वमा पुग्छिन् वा प्रतिस्पर्धाबाट नै आउँछिन्, त्यो एमालेको आन्तरिक विषय भयो । यद्यपि एमालेले अगामी भदौ(२०–२२)सम्म ललितपुरको गोदावरीमा हुने दोस्रो विधान महाधिवेशनमा नीति, विचार, सांगठनिक सिद्धान्तको साथसाथै उनको व्यवस्थापन सम्बन्धमा पनि निश्चय नै बहस होला । महाधिवेशन प्रतिनिधि नभएको व्यक्ति उनको उपस्थिति कसरी हुन्छ भन्ने विषयमा एमालेले अहिलेसम्म मुख खोलेको छैन ।
मदन भण्डारी फाउन्डेसनले असार ३१ गते राजधानीमा गरेको कार्यक्रममा सहभागी भएकी भण्डारीले आफ्नो उपस्थिति पार्टीले कसरी लिन्छ त्यसमा भर पर्ने बताएकी थिइन् । ‘मेरो उपस्थिति उहाँहरूले कसरी गराउनुहुन्छ उहाँहरूमै भर पर्ने हो । आमन्त्रित हुन्छ वा विधान महाधिवेशनमा प्रतिनिधिका रूपमा हुन्छ या अरू कुनै रूपमा हुन्छ ?’, उनले भनिन् ।
तर भण्डारीको पुनरागमनबाट एमालेभित्र मात्रै होइन प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) पनि उत्साहित देखिँदैन । असार २६ गते केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको माओवादीको पदाधिकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनको सक्रिय राजनीतिमा फर्किएको घोषणाले वामपन्थी एकताका लागि उत्साहित हुन आवश्यक नभएको निष्कर्ष निकालेका थिए । बैठकलाई ब्रिफिङ गर्ने क्रममा माओवादीलाई हेर्ने दृष्टिकोण वर्तमान अध्यक्ष केपी ओली र भण्डारीको उस्तै रहेकाले एकता सम्भव नभएको उनको भनाई थियो ।

‘माओवादीलाई हेर्ने वैचारिक र राजनीतिक दृष्टिकोणमा ओलीजी र विद्यामा केही फरक छैन । पात्र मात्र फरक हुन् । विचार, दृष्टिकोण र एजेण्डागत रूपमा तात्त्विक भिन्नता नभएकाले पार्टी एकता भइहाल्छ भन्नु उचित हुँदैन । बाँकी कुरा एमालेको आन्तरिक विषय भएकाले अहिले नै हतार गरेर बोल्नु आवश्यक छैन,’ उनले भनेका थिए ।
भण्डारीले असार २६ गते एक टेलिभिजन अन्तर्वार्तामा आफू एमालेको भावी अध्यक्ष बन्नकै लागि राजनीतिमा फर्किएको स्पष्ट सन्देश दिएकी थिइन् । अन्तर्वार्ताको क्रममा वामपन्थी एकताको विषयमा उनले दुई वटा महत्त्वपूर्ण तर्क पेस गरिन्, जुन माओवादीलाई झस्काउने खालको थियो । माओवादी आन्दोलनलाई उग्रवामपन्थी भड्कावको संज्ञा दिँदै आएकी उनले आफू एमाले अध्यक्ष बनेमा तत्काल वामपन्थी एकताको सम्भावनालाई नकारेकी थिइन् ।
‘पहिलो समान विचार (लाइक माइन्डेड) समूहबिच कुनै पनि विषयमा सहकार्य हुनसक्छ । दोस्रो राष्ट्रिय मुद्दामा हामीले सहकार्य गर्नुपर्छ । यो वा त्यो पक्ष भनेर सङ्कीर्णतामा जानुहुँदैन,’ उनले भनिन्, ‘म एमालेको स्कुलिङबाट आएको हुनाले सबैको जिम्मेवारी लिन सक्दिनँ । एमाले सबैभन्दा ठुलो वामपन्थी पार्टी हो । यसलाई सुदृढ बनाउने हो । एउटा शक्तिशाली चुम्बकीय शक्ति भएपछि स–साना कण तान्छ नै । एमाले एउटा सक्षम र निर्णायक राष्ट्रिय शक्ति हुन्छ । सबैको लागि सधैँ ढोका बन्द हुँदैन । पार्टीगत रूपमै एकता अहिले सोच्न सकिँदैन ।’
उनको अभिव्यक्तिले एमालेलाई नै रिब्राण्डिङ गरेर निर्णायक राष्ट्रिय (शक्तिशाली चुम्बकीय) शक्ति बनाउने र त्यसपछि अन्य वामपन्थी दलहरूलाई पार्टीमा मर्ज गराउनेतर्फ आफ्नो ध्यान केन्द्रित हुने स्पष्ट बुझ्न सकिन्छ, जुन माओवादीको बुझाइमा उनीहरूका लागि हितकर छैन ।

एमालेमा भण्डारी मात्र होइन, अध्यक्ष तथा प्रधानमन्त्री ओली पनि माओवादीसँग एकता गर्ने पक्षमा देखिँदैनन् । एमालेलाई कमजोर बनाउनका लागि प्रचण्डले नै योजनाबद्ध रूपमा प्रहार गरिरहेको उनले गम्भीर आरोप लगाएका छन् ।
उनले ओलीविनाको एमालेको कल्पन नगर्न समेत चेतावनी दिएका थिए । असार २९ गते झापा जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भनेका थिए–‘एमाले विनाको देश र केपी ओली विनाको एमाले होस् भन्ने कामना गर्नेहरूको कामना पुरा हुँदैन । एमाले साना स्वार्थ बोक्ने पार्टी होइन । यसको काँधमा देश बनाउने महान उद्देश्य छ ।’
ओलीको अभिव्यक्तिले एमालेभित्र नेतृत्व हस्तान्तरण सहज नहुने मात्र होइन वामपन्थीबिच एकता हुने स्थिति पनि देखिँदैन ।
पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले हिजोको जस्तो मार्क्सवाद, लेनिनवाद र माओवादको वैचारिक–राजनीतिक घेराभित्र मात्र सीमित भएर एकता सम्भव नहुने निष्कर्ष निकालेका छन् । माओवादी र अन्य कम्युनिस्ट पार्टीले नयाँ उचाइबाट रूपान्तरण गर्न आवश्यक भएको उनको जिकिर छ ।
‘माओवादी र अन्य कम्युनिस्ट धारका नेता–कार्यकर्ताहरूले सृजनशील ढंगले सोच्न र पहल लिन जरुरी छ । विगतका कम्युनिस्ट सत्ताहरू किन ढले ? संसदीय कम्युनिजम् किन लोप हुँदै गइरहेछ ? तिनको वस्तुनिष्ठ ढंगले सोधखोज गरेर देश काल सापेक्ष नयाँ वैकल्पिक राजनीतिको संश्लेषण गर्नु आजको आवश्यकता हो,’ भट्टराईले भनेका छन् ।
पहिल्यै बनिबनाउ नेताहरू जम्मा भएर विचार र आन्दोलन बन्न नसक्ने उनको तर्क छ । कम्युनिस्ट पार्टीबिच एकता सम्भव नभएको भन्दै उनले हरेक पार्टीबाट नयाँ र वैकल्पिक सोच राख्ने युवा नेताहरूले रूपान्तरण गर्न सके ध्रुवीकृत गर्न सम्भव भएको बताएका छन् ।
अर्का पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल सबैभन्दा ठुलो वामपन्थी दल एमालेले एकताका लागि पहल गरे मात्र सम्भव हुने बताएका छन् । चीन भ्रमणबाट असार २६ स्वदेश फर्किएका खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानीको क्रममा एमालेकै कारण एकता सम्भव नभएको दाबी गरे ।

भण्डारी वामपन्थी एकता गर्ने गरी राजनीतिमा फर्किएको भए सकारात्मक हुने उनको भनाइ छ । ‘अहिलेको नेपालमा सबैभन्दा ठुलो वामपन्थी समूह नेकपा एमाले नै हो । त्यो समूहले नै अरू सबैलाई एकताबद्ध गर्न नचाहेको हुनाले वामपन्थी आन्दोलन विभाजित अवस्थामा रहेको छ,’ उनले भनेका थिए, ‘एमालेले वामपन्थी एकता गरौँ, भनेर चाहना हुने हो भने अलि ठुलो मात्राको वामपन्थी एकता हुनसक्ने सम्भावना रहन्छ । यदि विद्या भण्डारीले त्यो कुरा महसुस गरेर राजनीतिमा प्रवेश गर्नुभएको हो भने हामीले सकारात्मक रूपमा लिनुपर्छ ।’
तर नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ समान विचार समूहबिच एकताका लागि आफूले पहल गरिरहेको भए पनि माओवादीका कारण सम्भव नभएको आरोप लगाएका छन् । केही दिनअघि रातोपाटीसँग कुरा गर्दै उनले पार्टी एकताका लागि अब प्रचण्डले नै पहल गर्नुपर्ने बताएका थिए ।

तत्काल एकता सम्भव नभए पनि वामपन्थी दलहरूबिच ध्रुवीकरण र मोर्चाबन्दी हुन सक्ने स्पष्ट पारे । ‘हामी पार्टी एकताबाट पछि हटेका छैनौँ । माओवादी केन्द्र लगायत विचार मिल्ने वामपन्थी दलहरूसँग एकता गर्ने पार्टीबाट नै निर्णय गरिसक्यौँ । तर माओवादी नेतृत्वले यसलाई गम्भीरताका साथ लिएको छैन । तत्काललाई एकता सम्भव नभए पनि ध्रुवीकरण र मोर्चाबन्दी गरेर जान सकिन्छ । यसबारे विभिन्न घटकहरूसँग छलफल गरिरहेका छौँ,’ उनले भने ।
चार दलीय समाजवादी मोर्चाका संयोजकसमेत रहेका विप्लवले असारको पहिलो हप्ता माओवादीका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल लगायत नेताहरूसँग भेटेर समाजवादी मोर्चालाई बिस्तार गर्नेबारे छलफल गरेका थिए । प्रचण्डसँगको भेटमा दुई पार्टीबिच एकताको सम्भावना सकिएको भन्दै मोर्चाबन्दी मार्फत सहकार्य जारी राख्नेबारे कुराकानी गरेका थिए ।
वामपन्थी आन्दोलनका पुराना नेता तथा नेकपा(मसाल)का महामन्त्री मोहनविक्रम सिंहले वामपन्थी दलहरूबिच एकता सम्भव नभएको जिकिर गरेका छन् । तर, आवश्यकता, राष्ट्रिय एजेण्डाको आधारमा मोर्चाबन्दी गर्न सकिने उनले स्पष्ट पारेका छन् ।
‘अहिले तत्काल कम्युनिस्ट पार्टीहरूको बिचमा एकता हुने सम्भावना म देख्दिनँ । तर, विभिन्न विषयमा मोर्चा बनाएर कार्यगत एकता गर्न सकिन्छ, त्यो हामीले गरिरहेका पनि छौँ । जस्तो, २०६२/६३ को आन्दोलनमा, ओलीले संसद् विघटन गर्दा र अहिले पनि विभिन्न अन्तर्राष्ट्रिय प्रश्नहरूमा हामीले संयुक्त सङ्घर्ष गरिरहेका छौँ । यो राजनीतिक परिपक्वता हो’, सिंहले भने, ‘२०८४ को चुनावमा हामीले कुनै गठबन्धन गरेर जाने सम्भावना देखेका छैनौँ । हामी आफ्नो स्वतन्त्र रूपमा नै भाग लिन्छौँ । हाम्रो लागि जित–हारभन्दा पनि राजनीतिक भण्डाफोर गर्ने र आफ्नो शक्तिको भूमिका स्थापित गर्ने कुरा महत्त्वपूर्ण हो ।’
सिंहले नेपालमा कम्युनिस्ट आन्दोलनको भविष्य जनतामा निर्भर रहने बताए । निर्णायक शक्ति भनेको जनता हुन् । जबसम्म जनतामा चेतना आउँदैन, के सही र के गलत भनेर उनीहरूले छुट्ट्याउन सक्दैनन्, तबसम्म देशको अवस्था यस्तै रहन्छ उनको विश्लेषण छ । यदि जनताले पैसा, रक्सी र झूटा आश्वासनको आधारमा भोट दिने हो भने, देश झनझन बर्बादीको दिशामा जाने सिंहले बताए ।
यता, राजनीतिक विश्लेषक झलक सुवेदीले दुई ठुला वामपन्थी दल एमाले र माओवादीबिच फेरि विश्वास स्थापित हुन निकै गाह्रो रहेको जिकिर गरे । एकपटक दुवै पार्टी मिलेर चुनाव लडेको, पार्टी एकता समेत भएको अवस्थामा एकता टिक्न नसकेकाले वामपन्थी दलहरू मिल्ने सम्भावना कठिन रहेको उनको विश्लेषण छ ।
‘प्रचण्ड र ओलीको बिचमा त त्यस्तो विश्वास स्थापित हुन धेरै गाह्रो छ किनभने एकचोटि पहिला चुनाव मिलेर लडे । त्यसपछि पार्टी नै एकीकरण गरे । त्यो आम पार्टी पंक्तिमा छलफल गरेर भन्दा पनि दुई जनाको बिचको वार्ताले भएको थियो । त्यो एकता धेरै समय कायम रहेन । उहाँहरूबिच पटक–पटक गठबन्धन बन्ने र टुट्ने क्रमले गहिरो अविश्वास पैदा भएको छ’, उनले भने ।
यदि दुवै पार्टीमा नेतृत्व परिवर्तन भयो त्यस्तो परिवर्तित नेतृत्वले पहल गर्दाखेरि भने योभन्दा अलि अनुकूलता हुन सक्ने सुवेदीको विश्लेषण छ । एकता नभए पनि सहकार्य, मोर्चा आदि इत्यादि हुन सक्ने उनले बताए ।
एमाले र माओवादीबिच २०७४ सालको निर्वाचनमा चुनावी तालमेल भएको थियो । २०७५ सालमा एकता गरी नेपाल कम्युनिस्ट पार्टी गठन गरेको थियो । तर ओली र प्रचण्डबिच नेतृत्व टकराब र शक्ति सङ्घर्षका कारण तीन वर्ष नपुग्दै नेकपा विघटन भयो । २०७९ सालको निर्वाचनपछि सत्ता सहकार्यको विषयमा यी दुई ठुला वामपन्थी दल एक ठाउँमा आएका थिए । ओली र प्रचण्डबिच सत्ता सहकार्य पनि लामो समय टिकेन । अहिले माओवादी, एकीकृत समाजवादी प्रतिपक्ष बेन्चमा रहेका छन् । एमालेले कांग्रेससँग सत्ता सहकार्य गरी सरकारको नेतृत्व गरिरहेको छ ।
नेपाल कम्युनिस्ट पार्टी स्थापना कालको ७६ वर्षे इतिहासमा नीति र नेतृत्वबिच संघर्ष हुँदा कम्युनिस्ट आन्दोलन धुजाधुजाबाट गुज्रिँदै आएको छ । विभिन्न कालखण्डदेखि अहिलेसम्म आइपुग्दा झण्डै २४ टुक्रामा विभाजन भइसकेको छ । नेपालमा २००६ साल वैशाख १० गते पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेकपा गठन भएको थियो । दुई पुरा नहुँदै पुष्पलाललाई महासचिवबाट हटाएर मनमोहन अधिकारी महासचिव बनेका थिए । २०१० सालमा पहिलो महाधिवेशनमा पुष्पलालको राजनीतिक कार्यदिशा अनुमोदन भयो । महासचिवमा अधिकारी निर्वाचित भए । २०१४ सालको दोस्रो महाधिवेशनमा डा. केशरजंग रायमाझी महासचिव निर्वाचित भए । २०१७ सालमा राजा महेन्द्रले संसद् विघटन गरी लादिएको निरङ्कुश पञ्चायती व्यवस्थालाई रायमाझीले समर्थन गरेका थिए । २०१९ सालमा भएको तेस्रो महाधिवेशनले रायमाझीलाई निष्कासन गरी तुलसीलाल अमात्य महासचिव भए । सोही महाधिवेशनबाट कम्युनिस्ट पार्टी टुटफुट र विभाजनको शृङ्खला सुरु भएको थियो ।
वामपन्थी नेता मोहनविक्रमले नेपाली कम्युनिस्ट आन्दोलनमा रुसी क्रान्ति र चिनिया क्रान्तिको प्रत्यक्ष प्रभाव परेको विश्लेषण गरेका छन् । आन्तरिक रूपमा राजतन्त्र पक्षधर र गणतन्त्र पक्षधरबिच वैचारिक तथा राजनीतिक सङ्घर्षका कारण कम्युनिस्ट पार्टी विभाजन भएको उनको निष्कर्ष रहेको छ । तथापि २०२८ सालमा पुष्पलाल, मनमोहन लगायत नेताहरूसँग मिलेर नेकपा पुनर्गठन गरी एकताबद्ध पार्ने प्रयास असफल भएको सिंहको भनाइ छ ।
‘हामीले २०२८ सालमा केन्द्रीय न्युक्लियस बनाएर एकताको प्रयास गर्यौँ, चौथो महाधिवेशन पनि गर्यौँ । तर, त्यो पनि टिक्न सकेन । मनमोहनजी, भरतमोहनजीहरू अलग हुनुभयो । यसरी पार्टीभित्रका विभिन्न वैचारिक मतभेद, व्यक्तिगत टकराब र अन्तर्राष्ट्रिय प्रभावले गर्दा एकताका प्रयासहरू सफल हुन सकेनन्’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण