तत्काल वामपन्थीबिच एकता सम्भव छैन, मोर्चाबन्दी हुन सक्छ : मोहनविक्रम सिंह
सारांश
- नेकपा(मसाल)का महामन्त्री मोहनविक्रम सिंहले कम्युनिस्ट आन्दोलनको ७६ वर्षको यात्रामा भएका उतारचढावबारे अनुभव सुनाए।
- सिंहले पार्टीभित्रका विभिन्न मतभेद, नेतृत्व परिवर्तन र सैद्धान्तिक विचलनबारे चर्चा गर्दै माओवादी जनयुद्धलाई 'उग्रबामपन्थी भड्काव' भने।
- उनले कम्युनिस्ट पार्टीहरूमा देखिएको दुर्दशाको कारण सत्तामा पुगेका नेताहरूको सिद्धान्त र आदर्शमा विचलन भएको बताए।
२००६ सालमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापना हुँदादेखि आजसम्मका अनेकौँ उथलपुथल, एकता र विभाजनका शृङ्खलाको जीवित साक्षी रहेका नेकपा(मसाल)का महामन्त्री मोहनविक्रम सिंह ९१ वर्षको उमेरमा पनि राजनीतिमा उत्तिकै सक्रिय छन् ।
नेकपाका महासचिव पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, केशरजंग रायमाझीदेखि र तुलसीलाल अमात्यसम्मका नेताहरूसँगको सहकार्य, एकता र सङ्घर्ष गरेका सिंह २०३३ सालमा आइपुग्दा आफै कारबाहीमा परे । झापा विद्रोहदेखि माओवादी जनयुद्धसम्मका सशस्त्र संघर्षका लाइनहरूलाई कसरी हेर्नुभयो ? किन कम्युनिस्ट पार्टीहरू एक हुन सकेनन् ? र, अब के फेरि एकता सम्भव होला ? यसै विषयमा केन्द्रित रहेर रातोपाटीका संवाददाता गणेश पाण्डेले सिंहसँग कुराकानी गरेका छन् ।
- नेकपा स्थापना हुँदा तपाईं १४ वर्षको किशोर हुनुहुन्थ्यो । त्यो बेलादेखि आजसम्मको ७६ वर्ष लामो कम्युनिस्ट आन्दोलनको यात्रालाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?
कम्युनिस्ट आन्दोलन, चाहे त्यो अन्तर्राष्ट्रिय होस् वा नेपालको, धेरै अप्ठ्यारो स्थितिबाट गुज्रिँदै अगाडि बढेको छ । यो यात्रामा हामीले कयौँ क्रान्ति र प्रतिक्रान्तिहरू देख्यौँ । विश्वव्यापी रूपमा थुप्रै उथलपुथलहरू भए । नेपालकै सन्दर्भमा, २००६ सालमा पार्टी स्थापना भएदेखि नै पार्टीभित्र विभिन्न समस्याहरू देखा परे । कहिले उग्रबामपन्थी भड्काऊ, कहिले दक्षिणपन्थी अवसरवाद जस्ता अनेकौँ सैद्धान्तिक विचलनहरू देखा परे ।
यसबिचमा दुस्मन शक्तिबाट हमलाहरू भए, खुकुरी दलजस्ता प्रतिगामी शक्तिहरूले प्रतिबन्ध लगाए । हाम्रा कयौँ साथीहरू जेल पर्नुभयो, भूमिगत हुनुभयो, कयौँको हत्यासमेत भयो । तर, यस्तो उथलपुथलको बिचबाट पनि कम्युनिस्ट आन्दोलन अगाडि बढ्दै आयो । यसको मुख्य कारण के हो भने, कम्युनिस्ट आन्दोलनको एउटा बलियो सैद्धान्तिक आधार छ । जस्तोसुकै कठिन परिस्थिति आए पनि मार्क्सवाद–लेनिनवादको त्यो वैचारिक जगले हामीलाई टिकाइरह्यो ।
पार्टीमा को व्यक्ति कहिले नेतृत्वमा आउँछ, कहिले हट्छ, यो एउटा सामान्य प्रक्रिया हो । यो पार्टीभित्रका विभिन्न छलफल, मतभेद र समझदारीको आधारमा हुने गर्छ ।
तर, यो यात्रामा हामीले ठुल्ठुला क्षतिहरू पनि बेहोर्यौँ । सोभियत सङ्घको विघटन, चीनमा पुँजीवादको पुनर्स्थापना, विश्व समाजवादी व्यवस्थाको पतन जस्ता घटनाले हामीलाई ठुलो धक्का दियो । नेपालमा पनि कम्युनिस्ट आन्दोलन कयौँ पटक विभाजित भयो । तैपनि, यी सबैका बाबजुद आन्दोलन जीवित छ र अगाडि बढिरहेको छ ।
- नेकपाको प्रारम्भिक दिनहरूमा, विशेषगरी पहिलो र दोस्रो महाधिवेशनताका नेताहरूबिच गहिरो मतभेद देखिन्छ । पुष्पलाल, जो संस्थापक महासचिव हुनुहुन्थ्यो, उहाँ नेतृत्वबाट बाहिरिनुपर्ने अवस्था आयो । २००८ सालमा मनमोहन अधिकारी र पछि केशरजंग रायमाझी नेतृत्वमा आउनुभयो । यो नेतृत्व परिवर्तनको पछाडि के–कस्ता वैचारिक र राजनीतिक कारणहरू थिए ?
पार्टीमा को व्यक्ति कहिले नेतृत्वमा आउँछ, कहिले हट्छ, यो एउटा सामान्य प्रक्रिया हो । यो पार्टीभित्रका विभिन्न छलफल, मतभेद र समझदारीको आधारमा हुने गर्छ । त्यसकारण, पुष्पलालजी नेतृत्वमा निरन्तर रहन सक्नुभएन भन्ने कुरालाई मात्रै हेरेर कुनै ठुलो समस्याको रूपमा लिनु हुँदैन ।
_4OnRBbj1QE.jpg)
दोस्रो महाधिवेशनको कुरा गर्दा, त्यहाँ एउटा गम्भीर वैचारिक मतभेद थियो । त्यो थियो— गणतन्त्र र संवैधानिक राजतन्त्रको विषयमा । डा. केशरजंग रायमाझी वैधानिक राजतन्त्रको पक्षमा हुनुहुन्थ्यो । पुष्पलालजीबारे आम रूपमा के भ्रम छ भने, उहाँ सुरुदेखि नै गणतन्त्रको पक्षमा हुनुहुन्थ्यो । त्यो सत्य होइन । केन्द्रीय कमिटीमा जब मतभेद भयो, शम्भुराम श्रेष्ठ, तुलसीलाल अमात्य, कमलराज रेग्मी र पी.वी. मल्लहरू गणतन्त्रको पक्षमा उभिनुभयो । पुष्पलाल, मनमोहन अधिकारी, कमर शाह, डी.पी. अधिकारीहरु पनि सुरुमा वैधानिक राजतन्त्रकै पक्षमा हुनुहुन्थ्यो । गणतन्त्रको पक्षमा प्रष्ट वातावरण बनेपछि नै पुष्पलालले गणतन्त्रको लाइनलाई समर्थन गर्नु भएको थियो । गणतन्त्रको पक्षमा निर्णय गर्दा भने उनले पनि त्यो प्रस्तावलाजई समर्थन गर्नुभएको थियो ।
झापा विद्रोहबाट आएका साथीहरूसँगको हाम्रो मतभेद पनि सैद्धान्तिक नै थियो । उहाँहरूको सोचाई के थियो भने, नेपालमा सशस्त्र सङ्घर्ष गर्नको लागि परिस्थिति तयार भइसक्यो ।
त्यसपछि, महाधिवेशनको ’हाउस’मा गणतन्त्रको पक्षमा एकदम प्रष्ट वातावरण बन्यो र अत्यधिक बहुमतले गणतन्त्रको प्रस्ताव पारित भयो । तर, केन्द्रीय कमिटीमा जाँदा परिस्थिति फेरियो । रायमाझीले क्षेत्रीयतावादी भावनालाई उचाल्नुभयो । ‘उपत्यकाका नेताहरूले हामी बाहिरकालाई हेप्छन्’ भन्ने जस्ता सेन्टिमेन्ट प्रयोग गरेर उहाँले आफ्नो पक्षमा बहुमत जुटाउनुभयो र महामन्त्रीमा जित्नुभयो । त्यो कुनै राजनीतिक वा सैद्धान्तिक कारणले भएको जित थिएन, त्यो एउटा अवसरवादी र सिद्धान्तहीन राजनीतिको परिणाम थियो । यसरी पार्टीभित्रका यस्ता अनेकौँ अन्तर्विरोध र सङ्घर्षहरूले नेतृत्वमा परिवर्तन ल्याउने गथ्र्यो ।
- तेस्रो महाधिवेशनपछि त कम्युनिस्ट पार्टी टुक्रा–टुक्रामा विभाजित भयो । २०२८ सालमा यहाँहरूले कोअर्डिनेसन केन्द्रमार्फत एकताको प्रयास गर्नुभयो तर, त्यो एकता पनि टिकेन । झापा विद्रोहबाट आएको धार, जो पछि माले बन्यो, उनीहरूले चौथो महाधिवेशनलाई मान्यता दिएनन् । यो टुट–फुटको शृङ्खलामा रुसी र चिनियाँ क्रान्तिको प्रभाव कत्तिको थियो? वा यो आन्तरिक अवसरवाद र नेतृत्वको टकराबको परिणाम थियो ?
यसमा दुवै कुराको प्रभाव थियो । अन्तर्राष्ट्रिय रूपमा रुस र चीनबिच जुन वैचारिक सङ्घर्ष चलिरहेको थियो, त्यसको असर नेपालमा पनि पर्यो । पुष्पलालजीमा भारतको सीपीएमको मध्यपन्थी लाइनको प्रभाव थियो, जो रुस र चीन दुवैसँग नजिक देखिन्थ्यो । हामीले भने स्पष्ट रूपमा रुसी संशोधनवादको विरोध गरेर चिनियाँ नयाँ जनवादी क्रान्तिको लाइनलाई समर्थन गर्नुपर्छ भन्ने थियो । यो एउटा मुख्य मतभेद थियो ।
झापा विद्रोहबाट आएका साथीहरूसँगको हाम्रो मतभेद पनि सैद्धान्तिक नै थियो । उहाँहरूको सोचाई के थियो भने, नेपालमा सशस्त्र सङ्घर्ष गर्नको लागि परिस्थिति तयार भइसक्यो । उहाँहरू भारतको नक्सलवादी आन्दोलनबाट बढी प्रभावित हुनुहुन्थ्यो । हामीले भनेका थियौँ, सशस्त्र सङ्घर्ष गर्ने परिस्थिति नेपालमा तयार भएको छैन, यो दुस्साहस हुन्छ । पछि उहाँहरूले पनि आफ्नो लाइन गलत थियो भनेर स्वीकार गर्नुभयो ।
जब राजाले सत्ता दिएनन्, त्यसपछि उनीहरू भारतसँग मिल्न थाले, भारतले पनि उनीहरूलाई उपयोग गर्यो । अन्तमा, जब उनीहरू सात दलको आन्दोलनमा मिल्न आए, त्यो उनीहरूको बाध्यता थियो ।
हामीले २०२८ सालमा केन्द्रीय न्युक्लियस बनाएर एकताको प्रयास गर्यौँ, चौथो महाधिवेशन पनि गर्यौँ । तर, त्यो पनि टिक्न सकेन । मनमोहनजी, भरतमोहनजीहरू अलग हुनुभयो । यसरी पार्टीभित्रका विभिन्न वैचारिक मतभेद, व्यक्तिगत टकराब र अन्तर्राष्ट्रिय प्रभावले गर्दा एकताका प्रयासहरू सफल हुन सकेनन् ।
- यहाँहरूले सशस्त्र सङ्घर्षको लाइनलाई सधैँ परिस्थितिको मूल्याङ्कन गरेर मात्र अपनाउनुपर्छ भन्नुभयो । माओवादीले २०५२ सालबाट सुरु गरेको १० वर्षे जनयुद्धलाई यहाँहरूले ‘उग्रबामपन्थी भड्काव’ भन्नुभयो । आज उनीहरू हाम्रै कारणले गणतन्त्र आयो भन्छन् । यो दाबीलाई कसरी हेर्नुहुन्छ ?
माओवादीले सुरु गरेको सशस्त्र सङ्घर्षको लाइन गलत थियो र त्यो उग्रबामपन्थी भड्काव नै थियो भन्ने हाम्रो ठहर आज पनि कायमै छ । उनीहरूको त्यो दाबीमा सत्यता छैन कि उनीहरूकै कारणले मात्र गणतन्त्र आयो । यदि उनीहरूको लाइन मात्र सफल भएको भए, देशमा गणतन्त्र आउँदैनथ्यो । उनीहरू त सुरुमा राजासँग मिलेर बहुदलीय व्यवस्थामाथि हमला गरिरहेका थिए । उनीहरूले आशा गरेका थिए, राजालाई सहयोग गरेपछि सत्तामा पुग्न सकिन्छ । तर, राजाले उनीहरूलाई उपयोग मात्र गरे ।
जब राजाले सत्ता दिएनन्, त्यसपछि उनीहरू भारतसँग मिल्न थाले, भारतले पनि उनीहरूलाई उपयोग गर्यो । अन्तमा, जब उनीहरू सात दलको आन्दोलनमा मिल्न आए, त्यो उनीहरूको बाध्यता थियो । यदि माओवादी त्यसरी मिल्न नआएको भए, गणतन्त्रको सङ्घर्ष सफल हुन मुस्किल पर्थ्यो होला, त्यस अर्थमा उनीहरूको योगदान छ । तर, सुरुदेखि नै उनीहरू गणतन्त्रको पक्षमा थिए भन्ने कुरा गलत हो । उनीहरूको पतन दक्षिणपन्थी भड्कावमा भयो, जुन मार्क्सवादी सिद्धान्तले नै भन्छ ।
- आज कम्युनिस्ट पार्टीहरूको अवस्था हेर्दा छिन्नभिन्न छ । नेताहरूमाथि भ्रष्टाचार, पदलोलुपता र सिद्धान्तबाट विचलित भएको आरोप छ । जनतामा वितृष्णा बढ्दो छ । यो दुर्दशाको मुख्य कारण के हो?
यसको मूल कारण के हो भने, सत्तामा पुगेका कम्युनिस्ट नेताहरूले आफ्नो सिद्धान्त र आदर्शलाई बिर्सिए । उनीहरू इमानदार र दृढ रहन सकेनन् । एमालेले महाकाली सन्धि गर्यो, माओवादीले राजाको पछि लागेर बहुदलीय व्यवस्थामाथि हमला गर्यो । सत्तामा पुगेपछि उनीहरूको कम्युनिस्ट चरित्र पतन हुँदै गयो ।
२०८४ को चुनावमा हामीले कुनै गठबन्धन गरेर जाने सम्भावना देखेका छैनौँ । हामी स्वतन्त्र रूपमा नै भाग लिन्छौँ ।
यो एउटा जटिल प्रश्न हो । आज सबैले आफूलाई सच्चा कम्युनिस्ट नै बताइरहेका छन् । हामीले पनि भनेका छौँ, अरूले पनि भनेका छन् । को सही हो ? को गलत हो ? को क्रान्तिकारी हो ? यो हामीले भनेर मात्र टुङ्गिने कुरा होइन । यो त इतिहासले र भविष्यले फैसला गर्ने कुरा हो ।
- अबको बाटो के त ? के कम्युनिस्ट आन्दोलनको भविष्य अन्धकार छ ? वा फेरि एकता र पुनर्गठनको सम्भावना छ ?
अहिले तत्काल कम्युनिस्ट पार्टीहरूको बिचमा एकता हुने सम्भावना म देख्दिनँ । तर, विभिन्न विषयमा मोर्चा बनाएर कार्यगत एकता गर्न सकिन्छ, र त्यो हामीले गरिरहेका पनि छौँ । जस्तो, २०६२/६३ को आन्दोलनमा, ओलीले संसद् विघटन गर्दा र अहिले पनि विभिन्न अन्तर्राष्ट्रिय प्रश्नहरूमा हामीले संयुक्त सङ्घर्ष गरिरहेका छौँ । यो राजनीतिक परिपक्वता हो ।
२०८४ को चुनावमा हामीले कुनै गठबन्धन गरेर जाने सम्भावना देखेका छैनौँ । हामी स्वतन्त्र रूपमा नै भाग लिन्छौँ । हाम्रो लागि जित–हारभन्दा पनि राजनीतिक भण्डाफोर गर्ने र आफ्नो शक्तिको भूमिका स्थापित गर्ने कुरा महत्त्वपूर्ण हो ।
अहिले पनि कम्युनिस्ट आन्दोलनमा धेरै समस्या छन् । तर, म निराश छैन ।
कम्युनिस्ट आन्दोलनको भविष्यको कुरा गर्दा, यो जनतामा निर्भर छ । निर्णायक शक्ति भनेको जनता हुन् । जबसम्म जनतामा चेतना आउँदैन, के सही र के गलत भनेर उनीहरूले छुट्याउन सक्दैनन्, तबसम्म देशको अवस्था यस्तै रहन्छ । यदि जनताले पैसा, रक्सी र झूटा आश्वासनको आधारमा भोट दिने हो भने, देश झन्झन् बर्बादीको दिशामा जान्छ ।
- एउटा जीवन्त इतिहासको रूपमा रहनुभएका तपाईंले भोगेको, देखेको र सिकेको कुरालाई कसरी संक्षिप्तमा व्यक्त गर्नुहुन्छ ?
मेरो जीवनको सार भनेकै निरन्तर सङ्घर्ष हो । मैले सुरुदेखि नै सैद्धान्तिक निष्ठा र इमानदारितालाई महत्त्व दिएँ । हामीले कयौँ पटक फुटको सामना गर्यौँ, तर त्यो सधैँ गलत थिएन । कयौँ पटक सिद्धान्तको रक्षाको लागि फुट आवश्यक पनि हुन्छ । हामीले रायमाझीको अवसरवादविरुद्ध सङ्घर्ष गर्यौँ, झापालीहरूको उग्रबामपन्थविरुद्ध सङ्घर्ष गर्यौँ र माओवादीको भड्कावविरुद्ध पनि सङ्घर्ष गर्यौँ ।
अहिले पनि कम्युनिस्ट आन्दोलनमा धेरै समस्या छन् । तर, म निराश छैन । जबसम्म समाजमा वर्गसंघर्ष रहन्छ, तबसम्म कम्युनिस्ट आन्दोलनको आवश्यकता पनि रहन्छ । यो आन्दोलनको भविष्य जनताको चेतना र उनीहरूको सही निर्णयमा निर्भर गर्छ । मेरो आग्रह के हो भने, सबैले, विशेषगरी नयाँ पुस्ताले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताको हितमा सोच्नुपर्छ । त्यसो भयो भने मात्र देशको भविष्य उज्ज्वल हुन सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण