ओलीले बालेनबाट खोसेको धरहराका कतिपय काम अझै अलपत्र
सारांश
- धरहराका कतिपय संरचना निर्माण १ वर्षदेखि अलपत्र रहेको छ, जसमा बेसमेन्ट पार्किङ र सुन्धाराको पुनर्निर्माण समावेश छन्।
- निर्माण कम्पनीका सञ्चालक पक्राउ परेका कारण धरहराको म्याद थप हुन सकेको छैन, जसले निर्माण कार्यलाई प्रभावित पारेको छ।
- काठमाडौं महानगर र ओली सरकारबीचको विवादका कारण धरहराको पार्किङमा समस्या आएको थियो, तर अहिले सञ्चालन अवधि बढाइएको छ।
काठमाडौँ । केपी शर्मा ओली नेतृत्वको सरकारले काठमाडौँ महानगरपालिकासँग खोसेर सञ्चालनमा ल्याएको धरहराका कतिपय संरचनाको निर्माण कार्य करिब १ वर्षदेखि अलपत्र बनेको छ । धरहरा हाल सञ्चालनमै रहेपनि बेसमेन्ट पार्किङ, सुन्धारालगायत धरहरा परिसरका संरचनाका काम अलपत्र बनेका हुन् ।
बेसमेन्ट पार्किङमा एउटा तला मोटरसाइकल पार्किङमा प्रयोग भएको छ भने दुई तला लामो समयदेखि अलपत्र अवस्थामा छ । यस्तै सुन्धारा पुनर्निर्माण काम पनि अघि बढ्न सकेको छैन ।
सहरी विकास तथा भवन निर्माण विभागका एक अधिकारीले धरहरा सञ्चालनमा आए पनि अन्य बाँकी काम सम्पन्न हुन नसकेको बताए ।
‘गत वर्षको भदौ १० मा म्याद सकिए पछि काम रोकिएको थियो । त्यसयता नयाँ कुनै काम अघि बढाएको छैन । पुरानो धरहरालाई ओतका लागि छत लाउने काम र सुन्धारामा एकफेर ढुङ्गा कटाउने काम भयो,’ ती अधिकारीले भने, ‘त्यसपछि अरू काम भएको छैन ।
धरहराको निर्माण कम्पनी रमण कन्ट्रक्सन हो । सोही कम्पनीले काम गर्न पूरा गर्न नसकेपछि निर्माण अझै अधुरो रहेको हो । सार्वजनिक खरिद नियमावलीको १४ औँ संशोधनसँगै म्याद थप गर्न मिल्ने व्यवस्था पनि छ । तर, निर्माण कम्पनीका सञ्चालन पवन महतो नै पक्राउ परेपछि समस्या उत्पन्न भएको हो ।
उनले भने, ‘तर धरहराका ठेकेदार ठगीको केसमा पक्राउ परेका छन् । यसले म्याद थपको काम पनि अघि बढ्न सकेको छैन ।’
महतो गत जेठ २१ गते पक्राउ परेका थिए । लेनदेन विवाद हुँदा उनीविरुद्ध धनुषा जिल्ला अदालतमा उजुरी परेको थियो । अदालतले पक्राउ पुर्जी जारी गरेपछि प्रहरीले काठमाडौँको सिफलचौरबाट पक्राउ गरी धनुषा लगिएको थियो ।

२०७२ वैशाख १२ गते आएको विनाशकारी भूकम्पले धरहरा भत्किएको थियो । भूकम्पले भत्किनु अघि धरहरा काठमाडौँ महानगरलाई सञ्चालनको ठेक्का दिइएको थियो । तर भूकम्पपछि पुनर्निर्माण सुरु हुन ३ वर्ष लागेको थियो । कुल ३ अर्ब ४८ करोडमा धरहरा निर्माण सम्झौता भएको यो धरहराको २०७५ साल पुस १२ गते प्रधानमन्त्री केपी ओलीले शिलान्यास गरेका थिए ।
सातौँ पटक म्याद थप्दा पनि निर्माण सम्पन्न हुन सकेको थिएन । २०८१ भदौ १० गतेसम्म अन्तिम म्याद थियो । यस्तै म्याद सकिएपछि पुनर्निर्माणका काम नसकिँदै धरहरा सञ्चालनमा ल्याइयो ।
पूर्ण रूपमा धरहरा निर्माण सम्पन्न नहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ असोज ३ गते धरहरा उद्घाटन गरी सञ्चालनमा ल्याए । सुरुमा धरहरा निःशुल्क खुला गरिएको थियो । मंसिर ९ गतेदेखि धरहरामा शुल्क लाग्ने व्यवस्था गरिएको छ ।
२०८० माघमा काठमाडौँ महानगरले न्युरोडको कालोपत्र सडकमा पार्किङ निषेध गरेपछि धरहराको बेसमेन्ट पार्किङ खुला गरिएको थियो । महानगरले नै विगतमा जस्तै धरहरा सञ्चालन गर्न चाहेको थियो । सोहीअनुसार महानगर प्रमुख बालेन्द्र शाह ‘बालेन’ले धरहरामा निःशुल्क सवारी पार्किङ खुला गरेपछि ओली सरकार र महानगरबिच विवाद भएको थियो ।
विवादकै कारण सहरी विकास मन्त्रालयले काठमाडौँ महानगरपालिकाले सम्बन्धित निकायसँगको कुनै समन्वय नै नगरी बिना जानकारी बल–जबरजस्ती धरहरामा पार्किङ तोकेको भन्दै पार्किङ बन्द गर्न निर्देश गरेको थियो । तर बालेनले भने बन्द नगर्ने अडान लिएका थिए । सोही विवादपछि महानगरबाट खोजेर सहरी विकास मन्त्रालयलाई आवश्यक सहजीकरणको जिम्मेवारी दिइयो भने निर्माण पूरा नहुँदै धरहरा सञ्चालनमा पनि ल्याइयो ।
हाल धरहरामा पहिलो तलाबाहेक दोस्रो र तेस्रो तलामा पार्किङ स्थल निर्माण सम्पन्न हुन सकेको छैन । साथै पार्किङ शुल्क पनि लिन थालिएको छैन ।
के–के बाँकी छन् निर्माण हुन ?
केन्द्रीय आयोजना कार्यान्वयन इकाईका नवनियुक्त कामु निर्देशकमा रोशन श्रेष्ठले आफू भरखर नियुक्त भएकाले सबै कुरा जानकारी नभए पनि मेजर काम बाँकी स–साना कामहरू बाँकी भएको बताए ।
‘भरखर आएकाले मैले पनि बुझिसकेको छैन । ठ्याक्क अहिले बुझ्न बुझिनसकेको कारणले गर्दा अहिले तत्कालै जवाफ दिन सक्ने अवस्थामा रहिनँ । तर मेजर काम सकिसकेको छ । अब सानोतिनो काम बाँकी हो । यसलाई के कसरी काम अघि बढाउने अब काम अघि बढाउँछौँ,’ उनले भने ।
किन लम्बियो सञ्चालन अवधि ?
बिहीबारदेखि धरहरा सञ्चालनको अवधि लम्बिएको छ । यसअघि ८ घण्टा खुला रहेको धरहरा अब दैनिक १२ घण्टा खुला रहनेछ ।
नागरिकका मागलाई मध्यनजर गर्दै दुई सिफ्टमा धरहरा खुला हुने र सार्वजनिक बिदाका दिनमा पनि खुला रहने कामु निर्देशक श्रेष्ठले बताए ।

‘नागरिकको मागअनुसार दुई सिफ्टमा खुलाउन लागेका हौँ । अहिले एक सिफ्टमा कर्मचारी राखेर चलाइरहेका थियौँ । यो अफिस टाइममा मात्र थियो । यी नै कर्मचारी राखेर अब बिहान ८ बजेदेखि दिउँसोसम्म र अनि थोरै समय ब्रेक गरेर दिउँसो २ बजेबाट फेरि बेलुका ७–८ बजेसम्म, कति बजेसम्म चलाउन सकिन्छ । यसरी सञ्चालन गर्छौँ,’ उनले भने ।
धरहरा चढ्नेको तथ्यांक
२०८१ असोज ३ गते खुला गरिएको धरहरा सुरुमा निःशुल्क गरिएको थियो । मंसिर ९ गतेदेखि स–शुल्क गरिएको यस धरहराबाट हालसम्म ५ करोडभन्दा बढी शुल्क संकलन भएको छ ।
मंसिर ९ गतेदेखि असार मसान्तसम्ममा २ लाख ८० हजार ४ सय जना धरहरा स–शुल्क चढेका छन् । उनीहरू धरहरा चढ्दा ५ करोड १२ लाख ६२ हजार ९९५ रुपैयाँ संकलन भएको धरहरा संचालन ईकाइ कार्यालयका प्रमुख महेश राईले रातोपाटीलाई जानकारी दिए ।
उनकाअनुसार धरहरा परिसर प्रवेशमा शुल्क लगाइएको छ । तर सवारी पार्किङको शुल्क लिन थालिएको छैन ।
‘धरहराको पार्किङमा शुल्क लिन थालेको छैन । शुल्क तोकिएको छ तर कहिलेदेखि लिने टुङ्गो छैन । अनि फेरि निर्माण पनि भइसकेको रहेनछ । नबनी कसरी लिनु त्यहाँ मोटरसाइकलहरू मात्र पार्किङ छन्,’ उनले भने ।
शुल्क लिन थालेपछि र तिनै तलामा पार्किङ सुरु भएपछि थप १२ जना सुरक्षा गार्ड आवश्यक पर्ने बताए ।
उनकाअनुसार हाल धरहरामा २५ जना कर्मचारी छन् । यसमध्ये कार्यालय प्रमुख, ९ जना सुरक्षा गार्ड, प्रशासनदेखि टिकट काउन्टरमा ७ जना, सरसफाइ ४, प्लम्बर १ र कार्यालय सहयोगी ३ जना रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण