बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नेप्सेले भन्यो ‘सेयर कारोबारमा आव २०८१/८२ ऐतिहासिक’, बजार पुँजीकरण ४६ खर्ब नाघ्यो

बिहीबार, ०१ साउन २०८२, १८ : ००
बिहीबार, ०१ साउन २०८२

काठमाडौँ । नेपालको धितोपत्र बजारले आर्थिक वर्ष २०८१/८२ मा कारोबार रकममा ऐतिहासिक रेकर्ड कायम गरेको छ । 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार यस अवधिमा २१ खर्ब २४ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा करिब १८९ प्रतिशतले बढी हो ।

नेप्सेले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो। प्रवक्ता मुराहरि पराजुलीले जारी गरेको विज्ञप्तिमा आर्थिक वर्ष २०८१/८२ मा कुल २१ खर्ब २४ अर्ब ९१ करोड रुपैयाँ बराबरको कारोबार भएको उल्लेख छ ।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ७ खर्ब ३४ अर्ब ६८ करोड रुपैयाँको मात्र कारोबार भएको थियो । कारोबार रकममा आएको यो उछालले आर्थिक वर्ष २०७७/७८ मा कायम भएको १४ खर्ब ५४ अर्ब ४४ करोडको सर्वाधिक कारोबारको कीर्तिमानलाई समेत तोडेको छ ।

कारोबार रकमसँगै बजार पुँजीकरणमा पनि उल्लेख्य वृद्धि देखिएको छ। आर्थिक वर्ष २०८१ को सुरुमा ३५ खर्ब ५३ अर्ब ६७ करोड रहेको बजार पुँजीकरण, २०८२ असार मसान्तमा ३१.०५ प्रतिशतले बढेर ४६ खर्ब ५६ अर्ब ९८ करोड पुगेको नेप्सेले जनाएको छ ।

यस्तै, आर्थिक वर्षको अन्त्यसम्ममा नेप्सेमा सूचीकृत कम्पनीहरूको सङ्ख्या २७२ पुगेको छ। यस अवधिमा मर्जर तथा एक्विजिसनका कारण ३ कम्पनी सूचीकरणबाट हटेका छन् भने ४ वटा नयाँ कम्पनी प्राथमिक निष्कासन (आईपीओ) मार्फत थपिएका छन् ।

वर्षभरिमा आईपीओ, एफपीओ, सामूहिक लगानी कोष, ऋणपत्र र स्थानीयलाई वितरण गरिएको गरी कुल ८० करोड ४२ लाख ८५ हजार कित्ता नयाँ धितोपत्र सूचीकृत भएका छन् ।

विज्ञप्तिमा आर्थिक वर्ष २०८१/८२ मा भएको उत्साहजनक कारोबारका लागि नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड, तथा पुँजी बजारका सम्पूर्ण सरोकारवालालाई धन्यवाद ज्ञापन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप