बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

टिकटकमा भाइरल बनेको ‘प्रिटी लिटिल बेबी’ की गायिकाको निधन

बिहीबार, ०१ साउन २०८२, २० : ४६
बिहीबार, ०१ साउन २०८२

सारांश

  • अमेरिकी पप गायिका कोनी फ्रान्सिसको ८७ वर्षको उमेरमा निधन भएको छ।
  • उनको निधनको पुष्टि कपीराइट म्यानेजर रोन रोबर्ट्सले गरेका हुन्, मृत्युको कारण खुलाइएको छैन।
  • कोनी फ्रान्सिस 'प्रिटी लिटिल बेबी' गीतका लागि पुनः चर्चामा थिइन्, र उनी बिलबोर्ड हट १०० चार्टको शीर्ष स्थानमा पुग्ने पहिलो महिला गायिका हुन्।

न्युयोर्क । अमेरिकी पप संगीतकी चर्चित गायिका कोनी फ्रान्सिसको ८७ वर्षको उमेरमा निधन भएको छ। सन् १९६० को दशकमा लोकप्रिय बनेकी फ्रान्सिस ‘प्रिटी लिटिल बेबी’ गीतका लागि हाल पुनः चर्चामा थिइन्। उनको निधनको पुष्टि उनका कपीराइट म्यानेजर तथा मित्र रोन रोबर्ट्सले गरेका हुन्।

कोनी फ्रान्सिसको आधिकारिक फेसबुक पेजमा पोस्ट गर्दै रोबर्ट्सले लेखे, ‘म भारी मनले र अत्यन्त दुखका साथ मेरो प्रिय मित्र कोनी फ्रान्सिसको निधन भएको जानकारी गराउँदैछु। मलाई थाहा छ, कोनी चाहन्थिन् कि उनका प्रशंसकहरूलाई यो खबर सबैभन्दा पहिला थाहा होस्। थप विवरण पछि सार्वजनिक गरिनेछ।’

यद्यपि, उनको मृत्युको कारण खुलाइएको छैन। हालै उनी अस्पतालमा भर्ना भएकी थिइन् र गम्भीर दुखाइका कारण स्वास्थ्य परीक्षण गराइरहेकी थिइन्। केही समयदेखि हिपसम्बन्धी उपचारको क्रममा रहेकी थिइन्।

कोनी फ्रान्सिस अमेरिकी पप संगीत इतिहासमा पहिलो महिला एकल गायिका हुन् जसले बिलबोर्ड हट १०० चार्टको शीर्ष स्थान प्राप्त गरेकी थिइन्। 

सन् १९५० को अन्त्यतिर ‘हुज सरी नाउ ?’ गीतबाट उनले लोकप्रियता कमाएकी थिइन्। त्यसपछि ‘माई हार्ट ह्याज अ माइन्ड अफ इट्स ओन’ ‘डन्ट ब्रेक द हार्ट द्याट लभ्स यू’ जस्ता थुप्रै हिट गीतहरू सार्वजनिक गर्दै उनी पप आइकनको रूपमा स्थापित भइन्।

झण्डै छ दशक लामो संगीतिक यात्रापछि कोनी फ्रान्सिस हाल पुनः चर्चामा आएकी थिइन्। सन् १९६१ मा सार्वजनिक भएको उनको गीत ‘प्रिटी लिटिल बेबी’ पछिल्लो समय इन्स्टाग्राम र टिकटकमा व्यापक रूपमा प्रयोग भएपछि भाइरल भएको थियो।

बिलबोर्डका अनुसार, उक्त गीत मे महिनासम्ममा स्पोटीफाइमा २४ लाखभन्दा बढी पटक सुनिएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप