प्रहरी कार्यालयभित्रै श्रमिकमाथि कुटपिटको आरोप
सारांश
- विराटनगरको रानीस्थित इलाका प्रहरी कार्यालयमा तीन जना श्रमिकलाई कुटपिट गरिएको आरोप लागेको छ, जसमध्ये एक जना गम्भीर घाइते छन्।
- पीडितहरूले सादा पोसाकका प्रहरीले पाइप र बुटले कुटेको बताएका छन्, र उनीहरू ट्रान्सफर्मर चोरीको आरोपमा सोधपुछका लागि बोलाइएका थिए।
- प्रहरीले घटना बाहिर ल्याए लागुऔषध मुद्दामा फसाइदिने धम्की दिएको पीडितको भनाइ छ, तर प्रहरी निरीक्षकले घटनाबारे अनभिज्ञता प्रकट गरेका छन्।
विराटनगर । विराटनगरस्थित इलाका प्रहरी कार्यालय (इप्रका), रानीको परिसरभित्रै तीन जना श्रमिकलाई हिरासतमा लिएर निर्घात कुटपिट गरिएको आरोप लागेको छ । पीडितहरूका अनुसार सादा पोसाकका एक प्रहरीले पाइप र बुट प्रयोग गरी उनीहरूमाथि आक्रमण गरेका थिए । कुटपिटपछि तीनै जना घाइते भएका छन् । एक जनाको अवस्था भने गम्भीर छ । उनलाई विराटनगरस्थित कोशी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।
पीडितहरूमा बुढीगंगा गाउँपालिका–४ का ३९ वर्षीय नासिर मिया, ३० वर्षीय कासी शर्मा र ३४ वर्षीय रमान मिया रहेका छन् । उनीहरू ‘जनसेद मिया मल्टिप्रपोज प्रालि’ नामक कम्पनीमा कार्यरत हुन् । जसले मोरङ–सुनसरी क्षेत्रमा ट्रान्सफर्मर मर्मत तथा जडानको ठेक्का लिएको छ ।
कम्पनीका सञ्चालक जनसेद मियाका अनुसार पछिल्लो समय बढेको ट्रान्सफर्मर चोरीका घटनाबारे सोधपुछ गर्न भन्दै प्रहरीले उनीसहित १० जनालाई बोलाएको थियो । ‘हामीलाई दावा शेर्पा नाम बताउने व्यक्तिले फोन गरेर जिल्ला प्रहरी कार्यालय बोलाएका थिए, तर पछि इप्रका रानीमा आउन भनियो,’ उनले भने ।
प्रहरी कार्यालय पुगेपछि तीनै जना श्रमिकलाई छुट्टाछुट्टै कोठामा लगेर ‘ट्रान्सफर्मर कसले चोर्यो ?’ भन्दै कुटपिट गरिएको पीडित पक्षको दाबी छ । सञ्चालक मियाले भने– ‘पहिले कासीलाई पाइपले, त्यसपछि नासिरलाई बुट र थप्पडले हान्दा उनको कानको जाली नै फुट्यो । रमानलाई पनि कुटियो ।’
कुटपिटपछि प्रहरीले घटना बाहिर ल्याएमा लागुऔषध मुद्दामा फसाइदिने धम्की दिएको पीडितहरूले बताएका छन् । डरले चुपचाप घर फर्किए पनि नासिरको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । उपचारमा संलग्न चिकित्सकका अनुसार, नासिरको कानको जाली फुटेको छ र टाउकोमा भित्री चोट लागेको आशङ्कामा सिटी स्क्यान गरिएको छ, यद्यपि स्वास्थ्य जाँचको रिपोर्ट आउन बाँकी छ । अन्य दुई जनाको अवस्था सामान्य छ ।
यता, इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक कविन राईले घटनाबारे अनभिज्ञता प्रकट गरेका छन् । ‘हाम्रो कार्यालयमा ‘दावा’ नामको कोही प्रहरी छैन र उहाँहरू यहाँ आएको कुनै रेकर्ड पनि छैन,’ उनले भने, ‘यद्यपि, घटनाबारे जिल्लाबाट जानकारी आएकाले म आफैँले अनुसन्धान अघि बढाएको छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण