काठमाडौँ महानगरपालिकाको कक्षा ११ र १२ को छात्रवृत्ति प्रवेश परीक्षा : १४,१७३ विद्यार्थी सहभागी
सारांश
- काठमाडौं महानगरपालिकाले कक्षा ११ र १२ मा छात्रवृत्तिका लागि प्रवेश परीक्षा शनिबार सञ्चालन गर्यो।
- परीक्षामा देशभरबाट १६,१३७ विद्यार्थी छनोट भएका थिए, जसमा १४,१७३ जनाले परीक्षा दिए।
- परीक्षाको नतिजा आइतबार महानगरको आधिकारिक वेबसाइटमार्फत प्रकाशित हुनेछ, जसमा एसईईको विवरण प्रयोग गर्नुपर्नेछ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि आयोजित प्रवेश परीक्षा आज शनिबार मर्यादित र व्यवस्थित रूपमा सम्पन्न भएको छ।
परीक्षा बिहान ८ देखि १० बजेसम्म ५४ वटा परीक्षा केन्द्रहरूमा सञ्चालन भएको थियो। महानगरको शिक्षा विभागका अनुसार, देशभरका ७७ जिल्लाबाट प्राप्त १७,२२९ आवेदनमध्ये १६,१३७ विद्यार्थी छनोट भएका थिए। तीमध्ये १४,१७३ विद्यार्थीले आजको परीक्षामा सहभागिता जनाएका थिए ।
परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित थियो, जसमा गणित, विज्ञान र अङ्ग्रेजी विषयबाट ३०/३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न गरी कुल १०० बहुवैकल्पिक प्रश्नहरू सोधिएका थिए। गलत उत्तरका लागि नकारात्मक अङ्कन नहुने र उत्तीर्ण हुन न्यूनतम ४० प्रतिशत अङ्क आवश्यक रहेको शिक्षा विभागले जनाएको छ।
ओएमआर प्रणालीद्वारा उत्तरपुस्तिका जाँच
परीक्षाको उत्तरपुस्तिका ओएमआर (Optical Mark Recognition) प्रणालीमार्फत जाँच भइरहेको छ। यो प्रणालीमा मेसिनले उत्तरपुस्तिकालाई स्क्यान गरी स्वचालित रूपमा जाँच गर्छ, जसले परिणामको शुद्धता र पारदर्शिता सुनिश्चित गर्छ। सहरी योजना आयोगका सहायक विज्ञ सस्मित पोखरेलका अनुसार, उत्तरपुस्तिका जाँच्ने काम सुरु भइसकेको छ र नतिजा भोलि बिहान, अर्थात् आइतबार बिहान, महानगरको आधिकारिक वेबसाइट https://entrance.kathmandu.gov.np/ मार्फत प्रकाशित हुने छ ।
विद्यार्थीहरूले उक्त वेबसाइटमा गई आफ्नो एसईईको सिम्बोल नम्बर, अल्फाबेट, जीपीए र इमेल वा एसएमएस मार्फत प्राप्त पासवर्ड प्रयोग गरी नतिजा हेर्न सक्ने उनकाे भनाइ छ।
काठमाडौं महानगरपालिकाले १६० संस्थागत विद्यालयहरूमा करिव ४ हजार भन्दा बढी छात्रवृत्ति सिटमा छात्रवृत्ती उपलव्ध हुने पाेखरेलकाे भनाइ छ । यी सिटहरूमा ४०% सामुदायिक विद्यालयबाट अध्ययन गरेका विद्यार्थी, ५% संस्थागत विद्यालयमा छात्रवृत्तिमा पढेका विद्यार्थी, १४% काठमाडौं महानगरपालिकाका स्थायी बासिन्दा र १% ल्यान्डफिल प्रभावित क्षेत्रका विद्यार्थीहरूलाई प्राथमिकता दिइएको छ। यसका अतिरिक्त, महिला, दलित, आदिवासी/जनजाति, मधेसी, थारू, मुस्लिम, अपाङ्गता भएका व्यक्ति, पछौटे क्षेत्रका बासिन्दा र शहीद/बेपत्ता परिवारका लागि आरक्षण कोटा पनि छुट्याइएको छ।
परीक्षापश्चात् ओएमआरलाई मेसिनबाट स्क्यानिङ र रुजु गरी योग्यताक्रम प्रकाशन गरिनेछ। अन्तिम नामावली प्रकाशन गरी छात्रवृत्ति परीक्षाको नतिजा विद्यार्थीले फाराम भर्दा रोजेको विषय र विद्यालयको प्राथमिकताका आधारमा योग्यताक्रमअनुसार भर्ना नतिजा सूची प्रकाशन गरिने विभागले जनाएकाे छ ।
विषयगत रूपमा विद्यालयमा भर्नाका लागि पूर्व मनोनयन गरिनेछ।
पूर्व मनोनयनमा आफूले अध्ययन गर्न चाहेको विषय र कलेजमा मनोनयन भएको आधारमा ३ दिनभित्र भर्ना भइसक्नुपर्नेछ। तोकिएको मितिभित्र भर्ना नभएर रिक्त रहेका सिटहरूमा बाँकी विद्यार्थीहरूको योग्यताक्रमका आधारमा दोस्रो सूची प्रकाशन गरिनेछ। यो सूचीमा पनि रोजाइअनुसारको विषय र कलेजमा भर्ना हुन नसकेमा, प्रवेश परीक्षाको योग्यताक्रमका आधारमा रिक्त सिटमा र्याप-अप कोटामा मनोनयनका लागि पुनः योग्यताक्रमका आधारमा रोजाइका लागि सूचना प्रकाशित गरी छनोट गरिने शिक्षा विभागले जनाएकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
-
इतर समूहले कार्यसम्पादन समिति बैठकबाट भेलासम्बन्धी समितिहरू बनाउने
-
कर्णालीमा अब २५ लाखसम्मको कृषि आयमा कर नलाग्ने
-
मधेसमा तीन दलीय गठबन्धन सरकारले नै निरन्तरता पाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण