फिल्म क्षेत्रमा टिक्न अभिनय मात्रै काफी छैन
सारांश
- नयाँ पुस्ताको फिल्म क्षेत्रमा आकर्षण बढ्दै गएको र काम गर्ने इच्छाशक्ति प्रचुर रहेको देखिन्छ ।
- फिल्ममा टिक्न धैर्यता, सामाजिक छवि र राजनीतिक कुरामा सचेत रहनुपर्ने कुरालाई जोड दिइएको छ ।
- सफलताका लागि अध्ययन र तयारीका साथै लामो समयसम्म टिक्ने सोचका साथ अघि बढ्न सुझाव दिइएको छ।
म विगत लामो समयदेखि यो फिल्म क्षेत्रमा सक्रिय छु । विगतको तुलनामा केही वर्षयता हेर्दा, यो क्षेत्रमा नयाँ पुस्ताको आकर्षण र आगमन निकै बाक्लिँदै गएको देख्छु । त्यसरी भित्रिने नयाँ पुस्तामा काम गर्ने इच्छाशक्ति प्रचुर छ, जुन एउटा सुखद र राम्रो पक्ष मान्न सकिन्छ । कलाकारिता, निर्माण, निर्देशनदेखि प्राविधिक पक्षसम्म पनि राम्रा व्यक्तिहरूको आगमन भइरहेको छ । तर, प्राविधिकभन्दा कलाकारितामै धेरै भित्रिएका पाइन्छ ।
फिल्म क्षेत्रमा भित्रिनेहरूको मुख्य आकर्षण के हो ? वास्तवमा, उनीहरू केको ‘फोकस’मा आउन चाहन्छन् ? लाइमलाइटमा देखिन चाहन्छन् कि अन्य । ती विविध कुरा छन् । हरेक मान्छेको एउटा ‘प्यासन’ हुन्छ । कसैलाई आर्मी अफिसर बन्ने रहर हुन्छ, कसैलाई व्यापारी । त्यसै गरी कसैको डाक्टर र पाइलट । कलाकारितामा प्यासन भएकाहरूको अन्तिम लक्ष्य अहिले फिल्म हो । थिएटर हुन् वा बाहिरबाट भित्रिएका किन नहुन् । त्यो फिल्मको तिर्सनाले नै उनीहरूलाई यो क्षेत्रमा ल्याउँछ जस्तो लाग्छ ।
कतिपय त एउटा फिल्म हिट हुने बित्तिकै चर्चित भइन्छ, नाम कमाइन्छ भन्ने अपरिपक्व सोच लिएर पनि आउँछन् र आएका छन् पनि । तर जब उनीहरू सफल हुन्छन्, तब मात्रै जिम्मेवारीबोध हुन्छ । ‘अब अर्को चलचित्र फ्लप हुनुहुँदैन’ भन्ने दबाबले उनीहरूलाई गम्भीर बनाउँछ । सुरुमा आउँदा अधिकांशमा अपरिपक्व सोच नै हाबी भएको देखिन्छ ।
मैले फिल्म ‘बाँसुरी’देखि नै नयाँ कलाकारलाई डेब्यु गराउन थालेको हुँ । अहिलेसम्म थुप्रै कलाकारलाई डेब्यु गराएँ । कतिलाई ल्याएँ, त्यसको लेखाजोखा मैले राखेको छैन, सरसर्ती हेर्दा धेरै देखिन्छन् । हाम्रो समय र अहिले भित्रिनेमा आधारभूत भिन्नता भने छ । हाम्रो पालामा कलाकारका लागि पैसा दोस्रो प्राथमिकतामा थियो । उनीहरूमा ‘म केही गरूँ, फिल्म क्षेत्रमा मेरो नाम होस्’ भन्ने भावना बलियो थियो । निर्देशकहरू पनि एउटा फिल्म निर्देशन गर्न पाए हुन्थ्यो भन्ने सोच्थे, पैसाको भन्दा पनि कामको महत्त्व थियो ।
कतिपयले फिल्म क्षेत्रमा भित्रिनेहरूको यो भीडलाई चुनौती भनेका छन् । मेरो विचारमा यो चुनौती होइन, ठुलो अवसरको रूपमा लिन्छु ।
अहिले समय पूरै फेरिएको छ । अहिले आउनेहरूले नाम र दाम दुवैलाई बराबर महत्त्व दिइरहेका छन् । सबैजना व्यावसायिक भएका छन् । यो स्वाभाविक पनि हो । कताकता हेर्दा कामले महत्त्व पाउन छाड्ने त होइन भन्ने डर लाग्छ ।
हुन त पहिलेको तुलनामा अहिले यो क्षेत्रमा भित्रिन निकै सहज छ । हाम्रो पालामा वर्षमा तीन–चारवटा फिल्म मुस्किलले बन्थे, त्यसैले नयाँले अवसर पाउन गाह्रो थियो । अहिले एकैपटक २०–२५ वटा फिल्म बनिरहेका हुन्छन् । पुराना कलाकार व्यस्त हुँदा नयाँले कतै न कतै अवसर पाइहाल्छन् ।
- अवसर मात्र होइन, चुनौती हो
कतिपयले फिल्म क्षेत्रमा भित्रिनेहरूको यो भीडलाई चुनौती भनेका छन् । मेरो विचारमा यो चुनौती होइन, ठुलो अवसरको रूपमा लिन्छु । लगानी गर्ने, काम गर्न खोज्ने र रहर बोकेर आउनेहरूको सङ्ख्या बढ्नु भनेको उद्योग स्थापित हुनु, पहिलेभन्दा बृहत् बन्नु हो । पहिलेभन्दा अहिले हाम्रो उद्योग धेरै व्यवस्थित भइसकेको छ । ओभरसिज र डिजिटल राइट्सबाट राम्रो पैसा आउन थालेको छ । बक्सअफिस प्रणालीले पारदर्शिता बढाएको छ, जसले गर्दा लगानीकर्तालाई सहज भएको महसुस हुन्छ ।
त्यसो त यसले कतिपय अवस्थामा जस्ता पनि फिल्म निर्माणको क्रम बढ्यो । विकृति भित्रियो भन्नेहरू पनि छन् । त्यो हो पनि । तर, कुनै पनि निर्माता–निर्देशक नराम्रो फिल्म बनाउँछु भनेर आएका हुँदैनन् । उनीहरूको नजरमा त्यो राम्रै फिल्म हो । तर, मेरो विचारमा, हाम्रो मौलिक, सांस्कृतिक कथामा बनेका फिल्महरू अहिलेसम्म असफल भएका छैनन् । दर्शकले के खोजिरहेका छन् भन्ने कुराको अध्ययन गरेर फिल्म बनाउँदा सफलताको सम्भावना बढी हुन्छ ।

- कसरी टिक्ने ?
फिल्म क्षेत्रमा भित्रिने नवप्रवेशीको भिडले सङ्ख्या मात्र बढाएको छैन, यसले गुणस्तर पनि निश्चय नै बढाएको छ । तर, एउटा तीतो सत्य के हो भने, आज पनि दुई–चार जनाबाहेक कलाकारिताकै कमाइले मात्रै जीवन धान्न सक्ने अवस्था छैन । धेरैजसोले ‘साइड बिजनेस’ गर्नैपर्छ, र गरिरहेका अवस्था हो । बेलाबेलामा मिडियामा पनि ’साइड बिजनेसमा कलाकार’ शीर्षकमा समाचार पढ्न पाइन्छ ।
फिल्ममा भित्रिने नयाँहरूमा सबैभन्दा कमी धैर्यताको देख्छु । उनीहरू छिटोभन्दा छिटो परिणाम खोज्छन् । तर, फिल्म लामो यात्रा हो । यसमा धैर्यता, साहस र सङ्घर्ष चाहिन्छ । यहाँ धैर्यता भएका केही मात्रै छन् । त्यसैले हामीजस्ता पुरानाले उनीहरूलाई सिकाउने भनेकै धैर्यता हो । थिएटर र फिल्मको अभिनयमा के फरक छ, क्यामेरा अगाडि कसरी प्रस्तुत हुने, सफलता पाएपछि त्यसलाई कसरी बोकेर हिँड्ने भन्ने कुराहरू सिकाउँछौँ । त्यो जरुरी छ ।
राजनीतिक कुरामा बाठो भएर बोल्नुहुँदैन, किनकि कलाकार सबैको साझा हो । राजनीतिक कुरामा टाठोबाठो बन्न खोजेर यहाँ धेरै कलाकार र फिल्म डुबेका छन् ।
फिल्म क्षेत्रमा टिक्न र बिक्न प्रतिभा हुनुपर्छ भन्ने गरिन्छ । यसले मात्र पुग्दैन । प्रतिभा धेरैसँग हुन सक्छ । तर टिक्न र बिक्न गुण पनि चाहिन्छ । यो क्षेत्रमा भित्रिने कलाकार होस् वा अन्य, सबैभन्दा पहिले असल मानिस हुनुपर्छ । सामाजिक छवि राम्रो बन्नु र बनाउनुपर्छ । आफूमा बडप्पन छैन भने पनि त्यो ओढ्नुपर्छ । कतिपय प्रतिभा भएर पनि कलाकार पछि परेका छन् । ती केही पहिले बताएको कुराको अभावले पछि परेका हुन् । उनीहरू सार्वजनिक रूपमा आफ्नो छविलाई कसरी प्रस्तुत गर्ने भन्नेमा सचेत हुनुपर्छ । विवादबाट टाढा रहनुपर्छ । किनभने दर्शकले कलाकारलाई धेरै माया गर्छन्, त्यसको सम्मान गर्नुपर्छ । रिसाएर कहिल्यै पनि नराम्रो व्यवहार गर्नुहुँदैन ।
विशेषगरी, राजनीतिक कुरामा बाठो भएर बोल्नुहुँदैन, किनकि कलाकार सबैको साझा हो । राजनीतिक कुरामा टाठोबाठो बन्न खोजेर यहाँ धेरै कलाकार र फिल्म डुबेका छन् । सरल जीवन जिउनुपर्छ । कतिपय कलाकारमा फिल्म रिलिज भएपछि म स्टार भएँ भन्ने घमण्ड हुन्छ । अब बसमा हिँड्नुहुँदैन भन्ने सोच आउँछ । यस्तो सोच राख्नुहुँदैन । जति सामान्य मान्छे भएर अघि बढ्यो, त्यति नै दर्शकका प्रिय भइन्छ, आफूलाई पनि सहज हुन्छ र अगाडि बढ्न सकिन्छ ।
- नव–प्रवेशीलाई सन्देश
धेरै कलाकार किन छिट्टै हराउँछन् ? मुख्य कारण धैर्यताको कमी, गलत कथा छनोट र कहिलेकाहीँ घरायसी समस्या हो । फिल्म क्षेत्र नबुझ्ने, बाहिरको झिलिमिली देखेर आकर्षित हुने र सङ्घर्ष गर्न नसक्नेहरू लामो समय टिक्दैनन् । त्यसैले यो क्षेत्रमा भित्रिनेहरूका लागि म विशेष सोच र तयारीका साथ आउन अनुरोध गर्छु ।
जो यो क्षेत्रमा आउन चाहनुहुन्छ, उहाँहरूलाई मेरो सल्लाह छ, ‘पहिला आफैँलाई सोध्नुस्, म फिल्ममा किन आउन चाहन्छु ?’ जब तपाईं आफैभित्रबाट चित्तबुझ्दो उत्तर पाउनुहुन्छ, तब मात्रै अघि बढ्नुस् । सुरुका दुई–तीनवटा कदम सफल हुनैपर्छ, त्यसका लागि आवश्यक परे पर्खिनुस् । तर जहिले पनि असफलता मिल्छ, केही गर्न सकिँदैन भन्ने होइन । ‘लामो रेसको घोडा बन्छु’ भन्ने सोचले आउनुपर्छ । त्यसरी आउँदा सुरुका समय केही गाह्रो होला । सफलताले उसैको कदम चुम्ने हो ।
फिल्म क्षेत्रमा मैले नजिकबाट नियाल्दा अहिले जो–जो कलाकार लामो समयदेखि सक्रिय छन्, उनीहरू किन र कसरी चले, कसरी टिकिरहे, कसरी अगाडि बढिरहेका छन्, उनीहरूको राम्रो पक्ष के हो ? भनेर अध्ययन र अनुसन्धान गरेर मात्रै यो क्षेत्रमा प्रवेश गर्नुभयो भने सफलता टाढा छैन ।
मेरो विचारमा फिल्म क्षेत्रमा योग्यता लागू हुँदैन । कलाकारितामा भित्रिनेको न्यूनतम योग्यता त संवाद पढ्न सक्ने हुनुपर्यो, बाँकी त लगाव र मेहनतले नै सिकाउँछ । फिल्म क्षेत्रमा टिक्न र बिक्न खारिएर आउनुपर्छ भन्ने मलाई लाग्दैन ।
(नेपाली फिल्मका वरिष्ठ निर्देशक, लेखक तथा कलाकार तुलसी घिमिरेसँग रातोपाटीका लागि कुबेर गिरीले गरेको कुराकानीमा आधारित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण