'लोकगीतमा विकृति हामीले होइन, अग्रजले भित्र्याएका हुन्'
सारांश
- गायिका ज्योति मगर आफ्नो बोल्ड प्रस्तुति र सामाजिक टिप्पणीका कारण चर्चामा रहन्छिन्।
- उनले तीज गीतमा विकृतिको आरोप अग्रज कलाकारलाई लगाउँदै, पुरुषले तीज गीत गाउन नहुने धारणा राखिन्।
- मगरले आफू विवाहित भएपछि विचार परिवर्तन हुनसक्ने र विवाहको निर्णय लिन अझै समय लाग्ने बताइन्।
काठमाडौं । गायिका ज्योति मगर चर्चा र विवादकी पर्याय नै हुन् भन्दा फरक नपर्ला । फरक गायन शैली र स्टेजमा 'बोल्ड' प्रस्तुतिले उनी अक्सर चर्चामा रहन्छिन् । त्यही 'बोल्ड' अवतार उनको विवादको विषय पनि बन्ने गरेको छ । ज्योति सामाजिक सञ्जालमा गरेको खरो टिप्पणीले पनि चर्चा र विवादमा आइरहेकी हुन्छिन् । हालै गायक रामजी खाँडको गीत विवादमा उनले राखेको धारणाले सामाजिक सञ्जालमा तरंग नै ल्याएको थियो ।
नेपाली संगीत त्यसमा पनि लोकगीतमा विकृति मौलाएको भन्दै अघिल्लो पुस्ताले नयाँपुस्तालाई दोष थुपार्दै आएको छ । यसरी आलोचित हुनेमा ज्योति पनि पर्छिन् । तर उनी गीत-संगीतमा विकृतिको सुरुवात अग्रजहरुले नै गरेको आरोप लगाउँछिन् ।
तीज नजिकिंदै जाँदा उनी पनि नयाँ गीत ल्याउने तयारीमा जुटेकी छिन् । लोक संगीत, तीज गीत र अन्य विषयमा गायिका ज्योति मगरसँग रातोपाटीले कुराकानी गरेको छ । प्रस्तुत छ अन्तर्वार्ताको सम्पादित अंश :
अहिले केमा व्यस्त हुनुहुन्छ ?
स्वदेश तथा विदेशका सांगीतिक कार्यक्रमहरुमा व्यस्त छु । तीज गीतको तयारी पनि चलिरहेको छ । हरेक वर्षजस्तै यो वर्ष पनि एक तीज गीत ल्याउँदैछु ।
कस्तो हुनेछ यस वर्षको तपाईंको तीज गीत ?
म पहिलेदेखि नै तीजमा विशुद्ध नारीप्रधान गीत ल्याउँदै आएकी छु । जसमा चेलीहरूको दुःख, पीडा र रमाइलो पक्ष समेटिएको हुन्छ । अहिलेसम्म मैले ल्याएको तीज गीत नराम्रो भयो भनेर कसैले भन्न सकेको छैन । कहिलेकाहीं बाहिरको प्रस्ताव आउँदा पशुपति शर्मा वा शिव हमाल जस्ता स्रष्टाहरूको गीत पनि गाएको छु, जुन अलि कमर्सियल भए होलान् । तर मेरो आफ्नै सिर्जना चाहिं विशुद्ध तीज विशेष र नारी केन्द्रित रहँदै आएको छ ।

उदाहरणको रुपमा मेरा यसअघिका तीज गीतहरु ‘टिप्न सकिनँ छैन बरि लै’, ‘आमाले दिएको झुम्काना नहरायो’, ‘आँगनीको डिलैमा माइतीको माया बरिलै’लाई हेर्न सकिन्छ । यो पटक पनि नारीकै भावना बोकेको गीत आउँदैछ । म एक कलाकार भएको नाताले तीजलाई गीत सिर्जना गरेरै मनाउँछु । यो मेरो लागि एउटा उत्सव हो । गर्वको कुरा के भने अहिलेसम्म मैले तीज गीतमा पुरुषका स्वर समेटेकी छैन । पछिल्लो समय पुरुषले पनि तीज गीत गाइरहनुभएको छ । मेरो विचारमा केटा मानिसले तीज गीत गाउनु पनि हुँदैन ।
पछिल्लो समय तीज गीतमा विकृति भित्रियो भन्ने गुनासो निकै सुनिन्छ । त्यसको दोष तपाईंको पुस्तालाई लाग्दै आएको छ नि ?
आरोप त अहिलेका पुस्ताले बिगारे भन्ने लगाइन्छ, तर यथार्थमा तीज गीतमा विकृति अग्रजहरूबाटै सुरु भएको हो । उहाँहरूले नै तीज गीतलाई पहिले कमर्सियल बनाउनुभएको हो । तीज नारीहरूको एक महत्त्वपूर्ण चाड हो । तर यसलाई केटाकेटी मिलेर गाउने दोहोरी बनाइयो । प्रजापति पराजुली, रमेश बिसी दाइहरूले नै तीज गीतलाई दोहोरीजस्तो बनाउनुभयो । पशुपति शर्माको प्रवेशसँगै त तीज गीत रत्यौलीजस्तो भयो ।
उहाँहरूले आफ्नो पालामा व्यावसायिक गीत बनाउन हुने, तर अहिलेकाले गर्दा विकृति देख्ने ? यो सरासर गलत हो । हामीले के गर्यौं भनेर उहाँहरूले पनि फर्केर हेर्नुपर्छ । मेरो धारणा केटा मानिसले तीज गीत गाउनु नै हुँदैन भन्ने हो । त्यसैले मेरा गीतहरू सधैं सोलो र नारी आवाजमै मात्र समेटिएका छन् ।
गीत–संगीतमा विकृति भित्रियो भनेर सर्जकलाई नै कारबाही गर्ने कुरा उठिरहेका छन् । यसलाई कसरी हेर्नुहुन्छ ?
गीत–संगीतमा के गर्न हुने, के नहुने भनेर कुनै मापदण्ड नै छैन । राज्यले नै लोकगीत, पपगीत वा अन्य कुनै पनि विधाको भनेर एउटा स्पष्ट मापदण्ड बनाउनु जरुरी छ । कुन गीत कस्तो बनाउने, के देखाउने भनेर राज्यले निर्धारण गर्ने विषय हो । त्यसका लागि कलाकार, श्रष्टाहरुको हकहितका लागि खोलिएका एउटा संस्था (दोहोरी गीत प्रतिष्ठान)ले स्रष्टाको सिर्जनामाथि हस्तक्षेप गर्ने अधिकार राख्दैन । विकृति लोकगीत, तीज गीतमा मात्र छैन । पप र रक गीतहरूमा देखाइने दृश्यहरूले युवाहरूलाई कस्तो प्रभाव पारिरहेको छ ? रक्सी, चुरोट र ड्रग्स सेवन गरेका दृश्यले समाजलाई कहाँ लगिरहेको छ ? हाम्रो ध्यान त्यता गएको छैन ।
हामी केवल को मन पर्दैन, त्यसैलाई खेद्नतिर लागेका छौं । बिकिनी लगाएर नाच्नुभन्दा रक्सी खाएर हल्लिनुले समाजमा बढी नकारात्मक असर पार्छ । त्यसैले कुनै एक विधालाई दोष दिनु जायज होइन ।

हिजोका दिनमा तपाईंका गीत छाडा भयो भनेर गाली गर्नेहरूका गीत आज आलोचित भएका छन् । कस्तो लाग्छ ?
मलाई त रमाइलो लागिरहेछ । हिजो मलाई बहिष्कार गर्नुपर्छ भनेर झुण्ड बाँध्नेहरू, विभिन्न लबिङ गर्नेहरू नै आज उस्तै गीत बनाउँदैछन् । रामजी खाँडको गीतकै कुरा गरौं, हिजो उहाँहरू नै हो मेरो ‘ढाडे बिरालो’ जस्ता गीतको विरुद्धमा हुनुहुन्थ्यो, आज आफैंले त्यस्तै गीत ल्याउँदा बचाउ गर्नुपर्ने ? यसले के देखाउँछ भने उहाँहरूले यो कुरा पहिले नै बुझेको हो । तर अर्काको अस्तित्व स्वीकार्न नसकेको हो । अहिले समय र परिस्थितिअनुसार उहाँहरू पनि त्यही बाटोमा आउनुभएको छ । मलाई त उहाँहरू मबाट इन्स्पायर हुनुभएछ जस्तो लागेर खुसी लाग्छ । उहाँले अहिले बुझेका कुरो मैले पहिलै बुझेकी रहिछु ।
सामाजिक सञ्जालमा जोकोहीका विरुद्ध तपाईं निकै कडा रूपमा प्रस्तुत हुनुहुन्छ । किन यति रुखो बन्नुभएको ?
म सिधा मानिस हो । घुमाएर कुरा गर्न जान्दिन । अर्को कुरा घुमाएर डिप्लोमेटिक कुरा गर्दा मान्छेले बुझ्दैनन्, त्यसको प्रभाव पर्दैन पनि । आफूले भनेको कुराले समाजमा केही प्रभाव पनि पार्नुपर्यो भन्ने लाग्छ । म अरुको जस्तो शब्दको जाल बुनेर विषयलाई कमजोर बनाउँदिनँ ।
हो, मेरो यही बानीले कतिलाई म रुखो छु जस्तो लाग्छ होला । तर मेरो नियत सधैं स्पष्ट हुन्छ । म सत्य बोल्छु । सत्य तितो नै हुन्छ ।
लामो समयदेखि कलाकारितामा टिकिरहनुभएको छ । यसको राज के हो ?
मलाई लाग्छ, मेरो प्रस्तुति नै हो । म गीत गाउन मात्र नभएर दर्शक–श्रोतासँग एउटा कनेक्सन बनाउन सक्छु । मेरो प्रस्तुति एउटा पूर्ण प्याकेज हो, जहाँ बच्चादेखि बूढाबूढीसम्म सबै रमाउन सक्नुहुन्छ । म उहाँहरूको मन र इच्छा बुझेर प्रस्तुति दिन सक्छु । दर्शक–श्रोतासँगको यही आत्मीय कनेक्सन नै मेरो निरन्तरताको राज हो । म मिहिनेत पनि गरिरहेको छु, लप्पनछप्पन जाँन्दिनँ ।
सांगीतिक क्षेत्र नियाल्ने हो भने शतप्रतिशत खुसी देखिएका कलाकार विरलै भेटिन्छ । तपाईं अहिलेसम्मको सांगीतिक यात्राबाट शतप्रतिशत खुसी हुनुहुन्छ ?
म सांगीतिक क्षेत्रमा जहिले पनि खुसी छु । म यो क्षेत्रमा हिट हुन वा पैसा कमाउन आएको थिइनँ । अहिलेको सफलता र चर्चा सरस्वतीको कृपाले पाएको अवसर हो । मलाई त पहिले यो क्षेत्रमा करिअर बन्छ र जीवन चल्छ भन्ने पनि थाहा थिएन । म जिन्दगी जिउनेभन्दा पनि जिन्दगी गुजार्नेमा विश्वास गर्छु । म आफूलाई परिस्थितिसँग ढाल्न पनि सक्छु । त्यसैले म खुसी छु ।

अझै पूरा गर्न बाँकी सपना केही छ ?
एउटा ठूलो सपना छ, देशको लागि एउटा कालजयी गीत गाउने । मेरो धेरै गीत नहोस्, तर एउटा यस्तो गीत होस्, जुन युगौंसम्म मानिसले सुनुन् । त्यो गीतले नेपाललाई संसारमा जीवित राखोस् । यस्तो एउटा सिर्जना दिने धोको छ ।
सधैं विवाहको प्रश्नले तपाईंलाई पछ्याइरहन्छ । आज भनिदिनुस् न प्रशंसकहरूले तपाईंको विवाह कहिले हेर्न पाउँछन् ?
मलाई अचेल विवाहदेखि डर पो लाग्न थालेको छ । अहिलेको समाजमा विवाह र सम्बन्धविच्छेदलाई निकै सजिलो रूपमा लिन थालिएको छ । म त्यो पुस्तामा पर्छु, जहाँ विवाहलाई ठूलो महत्व दिइन्छ र सम्बन्धविच्छेदलाई जीवनको ठूलो दुर्घटना मानिन्छ । नयाँ र पुरानो पुस्ताको यो सोचको बीचमा म आफूलाई अलि ‘अड’ महसुस गरिरहेकी छु । त्यसैले विवाहको विषयमा डिसिजन गर्न सकिरहेकी छैन । हेरौं, समयले के भन्छ ।
विवाह गरेर फ्यान घट्छन् भन्ने लागेको त होइन नि ?
महानायक राजेश हमाल दाइको विवाह गरेर फ्यान घटेको छैन । मेरो पनि त्यस्तो सोच होइन । अलिकति अप्ठ्यारो कुरा के हो भने जसरी अहिले सिंगल हुँदा म बोलिरहेकी छु । विवाहित हुने बित्तिकै चाहिं त्यसले पार्ने असरहरू, उसको फ्यामिली, माइती, श्रीमान्, आफन्त धेरै कुराहरू सोच्नुपर्ने हुन्छ । हाम्रोमा चाहिं कस्तो छ भने छोरीले विवाह नगरेसम्म छोरीको रूपमा लिइन्छ । विवाह भएपछि बुहारी, श्रीमतीको रुपमा । त्यही कुरा छोरीले बोल्दाखेरि समाजले एक्सक्युज दिन्छ । बुहारीले बोल्दाखेरि त्यति धेरै एक्सक्युज हुँदैन । यस्तै यस्तै कन्फ्यिुजनमा रुमल्लिएकी छु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण