बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
निःशुल्क औषधि वितरण

चन्द्रपुरमा लम्पी स्किनविरुद्ध निःशुल्क औषधि वितरण

मङ्गलबार, ०६ साउन २०८२, ०१ : १४
मङ्गलबार, ०६ साउन २०८२

सारांश

  • रौतहटको चन्द्रपुरमा लम्पी स्किनका कारण ५ वटा गाई मरेपछि निःशुल्क औषधि वितरण सुरु गरिएको छ।
  • नगरपालिका पशु शाखाका अनुसार हालसम्म ५० भन्दा बढी पशुमा संक्रमण देखिएको छ, जसमध्ये ४९ गाई र १ भैँसी छन्।
  • रोग नियन्त्रणका लागि ४८ परिवारलाई निःशुल्क औषधि वितरण गर्ने लक्ष्य लिइएको छ, र संक्रमित पशुलाई छुट्टै राख्न सुझाव दिइएको छ।

रौतहट । लम्पी स्किनका कारण रौतहटको चन्द्रपुरमा पाँच वटा दुहुनो गाई मरेपछि रोगविरुद्ध निःशुल्क औषधि वितरण गरिएको छ । लम्पी स्किनको सङ्क्रमण नियन्त्रणका लागि सोमबारदेखि चन्द्रपुर नगरपालिकाले निःशुल्क औषधि वितरण गर्न थालेको हो । 

लम्पी स्किनले खास गरी उन्नत जातका गाई मरेपछि निःशुल्क औषधि वितरण गरिएको नगरपालिका पशु शाखाका प्रमुख डा सुलभ चौधरीले जानकारी दिए । रोगबाट बचाउन हाल ४८ परिवारलाई निःशुल्क औषधि वितरण गर्ने लक्ष्य लिइएको उनले बताए । 

डा चौधरीले औषधि लिनका लागि कार्यालयमा सम्पर्क राख्न किसानलाई आग्रह गर्दै हालसम्म नगर क्षेत्रका ५० भन्दा बढी पशुलाई सङ्क्रमण भइसकेको जानकारी दिए। सुरुवमती चरणमा चन्द्रपुर–८ मर्धरटोलका कृष्ण गौतम र चन्द्रपुर–२ का आइतेसिंह कुश्वारको गाई मरेका जनाउँदै उनले हालसम्म लम्पी स्किनका कारण पाँच वटा गाई मरिसकेका उल्लेख गरे ।

अहिलेसम्म नगर क्षेत्रका ४९ वटा गाई र एउटा भैँसीमा उक्त रोगको सङ्क्रमण देखा परेको डा चौधरीले जानकारी दिए । उनका अनुसार वडा नं ३ कार्यालयले आफ्नै बजेटबाट करिब दुई हजार २५० वटा गाई भैँसी तथा वडा नं ९ ले एक हजार ६०० भन्दा बढी पशुलाई सो रोगविरुद्धको भ्याक्सिन लगाएको छ ।

पशुलाई उच्च ज्वरो आउने, डाबरका फोका आउनेलगायत लक्षण देखा पर्ने डा चौधरीले जानकारी दिए। सो रोगविरुद्ध उपचार गर्न एउटा पशुलाई रु १० हजारदेखि रु १२ हजारसम्म खर्च लाग्ने जनाउँदै यहाँले यो सरुवा रोग भएकाले सङ्क्रमित पशुलाई छुट्टै राख्ने, गोठ सफा राख्ने, लामखुट्टेबाट जोगाउनेलगायत उपाय अपनाउनुपर्ने उनले बताए । चौधरीका अनुसार लम्की स्किनविरुद्ध लड्न पशु सेवा कार्यालय चन्द्रनिगाहपुरले विभिन्न भिटामिन तथा औषधि वितरण गर्दै आएको छ । 

लम्की स्किन पशुमा लाग्ने प्राणघातक रोग भएकाले यसबाट चौपाया बचाउन निःशुल्क औषधिको व्यवस्था गरिएको नगरपालिकाका प्रमुख सञ्जयकुमार काफ्लेले बताए । किसानको आम्दानीको स्रोत पशुपालन भएकाले यस्ता रोगको निःशुल्क उपचार गरी पशुपालकलाई प्रोत्साहन गर्ने उद्देश्यले अभियानका रूपमा औषधि वितरण गर्न पशु शाखालाई निर्देशन दिइएको उनले उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप