बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मधेसका किसानका लागि विशेष कार्यक्रम ल्याउने तयारी

बुधबार, ०७ साउन २०८२, ०८ : ४०
बुधबार, ०७ साउन २०८२

सारांश

  • मधेस प्रदेशमा खडेरीका कारण धान रोप्न नपाएका किसानका लागि संघीय सरकारले विशेष कार्यक्रम ल्याउने तयारी गरेको छ।
  • कृषि मन्त्री रामनाथ अधिकारीले मन्त्रीपरिषद् बैठकले खडेरी पीडित किसानका लागि निर्णय गर्ने बताए।
  • मन्त्री अधिकारीले मल वितरणमा पारदर्शिता ल्याएको र कृषि अनुदान दुरुपयोग गर्नेलाई कारबाही गर्ने बताए।

काठमाडौँ । मधेस प्रदेशमा खडेरीका कारण धेरै किसानले धान रोप्न नपाएपछि मर्कामा परेका कृषकहरूका लागि सङ्घीय सरकारले विशेष कार्यक्रम ल्याउने तयारी गरेको छ । 

मधेस प्रदेशलाई प्रदेश सरकारले सुख्खा क्षेत्र घोषणा गरिसकेको छ भने सङ्घीय सरकारले पनि विशेष कार्यक्रम ल्याउन लागेको कृषि मन्त्री रामनाथ अधिकारीले जानकारी दिए । 

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उनले आज बिहान ११ बजेपछि बस्ने मन्त्रीपरिषद्को बैठकले मधेस प्रदेशका खडेरी पीडित कृषकहरूका लागि केही न केही निर्णय हुने जानकारी दिए ।

उनले मधेस प्रदेशमा खडेरी परेकाले धेरै किसानहरूले धान रोप्न नपाएको र किसानहरू मर्कामा पर्नुका साथै अन्नको अभाव हुने भएकाले सङ्घीय सरकारले केही विशेष कार्यक्रम ल्याउनु पर्ने प्रस्ताव आफूले राखेको बताए । 

कृषि मन्त्री रामनाथ अधिकारीले अनुदानको मल वितरणका लागि पारदर्शी व्यवस्था बनाएको बताए ।

कति मल छ, कहाँ कहाँ कति कति पठाइएको छ भन्ने लगायतका विवरण सबैले हेर्न मिल्ने बनाइको उनको भनाई छ । 

विगतमा लुकाएर वा पक्षपातपूर्ण तरिकाले मल वितरण गर्ने गरिएको र प्राथमिकतामा पर्नु पर्ने किसानहरूले नपाएर अन्याय भएकोमा अबदेखि न्यायोचित हुने व्यवस्था गरिएको मन्त्री अधिकारीले जानकारी दिए । 

उनले मलका लागि सरकारले छुट्टाएको ९८ प्रतिशत रकम मलकै लागि खर्च गरिएको पनि स्पष्ट पारे । “किसानले चाहे जतिको मल दिन नसकिएको पक्का हो, त्यो हाम्रो क्षमताले मात्रै हुँदैन भन्ने कुरा सबैले बुझिदिनु पर्‍यो,” मन्त्री अधिकारीले भने । 

विगतमा कृषि अनुदान दुरुपयोग गरेकाहरूलाई कारबाही गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको पनि मन्त्री अधिकारीले बताए ।

उनले आगामी दिनमा कृषिको अनुदानको एक हजार रुपैयाँ पनि दुरुपयोग नहुने व्यवस्था आफूले मिलाएको दाबी पनि गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप