शनिबार, २० असार २०८३
ताजा लोकप्रिय
राजनीति

यी आठ कारण देखाउँदै विद्याको सक्रिय राजनीतिक यात्रामा एमालेले लगायो ब्रेक

बुधबार, ०७ साउन २०८२, १३ : १५
बुधबार, ०७ साउन २०८२

सारांश

  • नेकपा एमालेले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण रोकेको छ।
  • एमालेले पूर्व राष्ट्रपति भण्डारीको राजनीतिमा सक्रियता संविधानको भावना विपरीत हुने जनाएको छ।
  • पार्टी बैठकले भण्डारीलाई उच्च सम्मानका साथ पूर्व राष्ट्रपतिको भूमिकामा रहन आग्रह गरेको छ।

काठमाडौं । नेकपा एमालेले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई दल विशेषको सदस्य भएर राजनीतिमा सक्रिय हुनु उपयुक्त नहुने भन्दै सदस्यता नवीकरण रोकेको छ । 

एमालेले नवीकरण मात्र होइन कि कुनै पनि दलमा आबद्ध भएर कार्यकर्ता वा नेता हुने विषय नै संविधानको भावना र मर्म विपरीत हुने समेत स्मरण गराएको हो । पार्टीको दुई दिनसम्म चलेको केन्द्रीय कमिटीको नवौँ बैठकका निर्णय सार्वजनिक गर्दै प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइए अनुसार भण्डारी राजनीतिमा आउने विषयले पार्टीको गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ । एमालेले राष्ट्रपतिलाई सक्रिय राजनीतिमा आउन मिल्दैन भन्ने तर्क गरिरहँदा संविधानको भाग ६ का विभिन्न धाराहरू स्मरण गराएको छ । 

‘नेपालको संविधानको भाग ६ धारा (६१) मा राष्ट्रपतिको व्यवस्था गरेको छ । सोही धाराको २ मा राष्ट्रपति देशको राष्ट्राध्यक्ष हुने सोही धाराको ३ मा राष्ट्रिय एकताको प्रवर्द्धक,सोही धाराको ४ मा संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुने र धारा २६७ को व्यवस्था बमोजिम नेपाली सेनाको परमाधिपति हुने व्यवस्था छ  ’ संविधानलाई उद्धृत गर्दै विज्ञप्तिमा लेखिएको छ । संविधानले यति गहन जिम्मेवारी दिएको व्यक्तिले फेरी राजनीतिमा फर्किएर दलको सदस्य हुने,नेता हुने विषय कल्पना गर्न नसकिने प्रमुख गौतमले बताउनुभयो । मध्यरातमा पार्टी केन्द्रीय कार्यालयमा सकिएको बैठकले भण्डारीको राजनीतिक पुनरागमनलाई अस्वीकार गरेको हो । 

राष्ट्रपतिलाई पार्टीमा फर्काउने विषयमा विराम लगाउन एमालेले जारी गरेको विज्ञप्तिमा आठवटा कारण देखाइएको छ । ‘मुलुकको राष्ट्राध्यक्ष,राष्ट्रिय गौरव, गणतन्त्रको प्रतीक, संविधानको  पालनाकर्ता र संरक्षणकर्ता ,सेनाको परमाधिपति,साझा व्यक्तित्व र देशको अभिभावक भएकाले कुनै पनि दल विशेषको पार्टी सदस्य र कार्यकर्ता वा नेता हुने कुरा यो गौरवमय जिम्मेवारी लिएको व्यक्तिबाट सम्भव हुँदैन र मिल्दैन भन्ने निष्कर्ष निकालेको छ’ विज्ञप्तिमा भनिएको छ । बैठकले पूर्व राष्ट्रपतिलाई उच्च सम्मान गर्दै पूर्वराष्ट्रपति कै भूमिकामा बस्न आग्रह गरेको छ ।

Press-Statement-Central-Committee-Saun-6_page-0001Press-Statement-Central-Committee-Saun-6_page-0002Press-Statement-Central-Committee-Saun-6_page-0003Press-Statement-Central-Committee-Saun-6_page-0004

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप