बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कारबाहीमा परेका केसीलाई कांग्रेस कास्की सभापतिको चेतावनी: ‘०८४ मा देखाइदिन्छु भन्ने धम्की नदिनुस्’

बिहीबार, ०८ साउन २०८२, ०९ : २१
बिहीबार, ०८ साउन २०८२

सारांश

  • नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले कृष्णबहादुर केसीलाई ८४ मा देखाइदिन्छु भन्ने अभिव्यक्ति नदिन चेतावनी दिए।
  • केसीलाई पार्टीले निर्वाचनमा असहयोग गरेको आरोपमा ३ महिनाका लागि निलम्बन गरेपछि विवाद बढेको छ, र दुवै नेता एकअर्कालाई आरोप लगाइरहेका छन्।
  • बरालले केसीलाई ८४ को धम्कीपूर्ण भाषा प्रयोग नगर्न र पार्टी बदल्ने प्रवृत्तिबाट सचेत रहन आग्रह गरेका छन्।

पोखरा । नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले पार्टीबाट कारबाहीमा परेका नेता कृष्णबहादुर केसीलाई ८४ मा देखाइदिन्छु भन्ने भ्रमपूर्ण अभिव्यक्ति नदिन चेतावनी दिएका छन् । एक लामो खुला पत्र लेख्दै उनले अनुशासन कारबाहीको सिफारिस व्यक्तिगत प्रतिशोध नभई पार्टीमा मौलाएको दण्डहीनता र ‘नैतिक सम्झौता’ विरुद्धको राजनीतिक कदम भएको बताएका हुन् ।

केसीलाई कांग्रेसको केन्द्रीय अनुशासन समितिले निर्वाचनमा असहयोग गरेको आरोपमा ३ महिनाका लागि सदस्यता निलम्बनको कारबाही गरेको छ । त्यसयता केसीलाई गरिएको कारबाहीप्रति नेता कार्यकर्ताहरू पक्ष र विपक्षमा उभिएका छन् । कांग्रेस क्षेत्र नम्बर १ (ख) ले निवर्तमान सभापति केसीलाई गरिएको कारबाही फुकुवाको माग गर्ने कार्यसमितिको बैठकबाटै निर्णय गरेको छ ।

अहिले कांग्रेसको हरेक कार्यक्रममा यही कारबाहीको विषय उठ्ने गरेको छ । केसीले कारबाहीपछि सामाजिक सञ्जाल फेसबुकमा पत्र लेखेर कारबाही पूर्वाग्रही भएको भन्दै ८४ सालमा आमनेसामने हुने चेतावनी दिएका थिए । कास्की क्षेत्र नम्बर १ को प्रतिनिधिसभा निर्वाचनमा बरालले टिकट पाएका थिए । केसीले बराल सहित प्रदेश सभा सदस्य दीपक गुरुङलाई हराउन भूमिका खेलेको आरोप छ ।

तर केसीले आरोपको खण्डन गर्दै आफू पार्टीका उम्मेदवारलाई जिताउन लागेको दाबी गरेका छन् । यही दोहोरीका बिच बरालले सामाजिक सञ्जालमै खुला पत्र लेखेर केसीलाई ८४ को धम्कीपूर्ण भाषा प्रयोग नगर्न र उक्त भ्रमबाट मुक्त हुन पनि आग्रह गरे । ७९ को निर्वाचन अघि काठमाडौँस्थित लाजिम्पाटको एक होटेलमा भएको भेटमा केसीले आफूलाई संघीय टिकट नदिए कम्युनिस्टबाट आएको र विद्रोह गर्न जानेको भन्दै आक्रोशपूर्ण अभिव्यक्ति दिएको बरालले बताएका छन् ।

गलत प्रवृत्तिलाई रोक्न र पार्टीको हितका लागि आफूले टिकटको दाबी बढाएको र पछि अन्तर्घातविरुद्ध उजुरी गरेको उनको भनाइ छ । उनले बरालले आफ्नो उजुरीलाई पार्टीभित्रको नैतिक सम्झौताको सिन्ड्रोम अन्त्य गर्ने प्रयासको संज्ञा दिएका छन् । ‘घात–अन्तरघात गर्नेलाई माफी दिँदा पार्टी झनै कमजोर बन्छ,’ उनले भने, ‘जे गरे पनि हुन्छ भन्ने मनोविज्ञानलाई रोक्न यो कदम आवश्यक थियो ।’

आफू घात–अन्तर्घातका पुराना घटनालाई बिर्सन चाहेको र कारबाहीको प्रक्रियाले पार्टीमा अनुशासनको महत्त्वपूर्ण सन्देश दिएको उनले दाबी गरे । ‘कारबाही फिर्ता भएन भने ८४ मा देखाइदिन्छु भन्ने जस्ता तपाईँका धम्कीपूर्ण अभिव्यक्तिहरूले पनि तपाईँलाई अगाडि बढाउने चरित्र बोकिरहेका छैनन् । केही साथीहरूले कारबाही फिर्ता हुनुपर्छ भनेर भन्नु भएको भनाइबाट तपाई हौसिनु भएको पनि हुन सक्छ, गम्भीर हुनुहोला,’ बराल भन्छन्, ‘यो गुट भित्रबाट आफ्नो भविष्य खोज्नेहरूको चलाखीपूर्ण भूमिका  हो । जो आज हुन्छन्, भोलि हुँदैनन् ।’ 

उनले घरीघरी पार्टी बदल्ने प्रवृत्तिले राजनीतिक रूपमा झनै कमजोर बनाउने भएकोले सचेत रहन सुझाव दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप