लाखे नाच संरक्षणमा तानसेनका युवा
सारांश
- तानसेनका युवाहरूले लोप हुँदै गएको लाखे नाच संस्कृतिको संरक्षणका लागि अभियान सुरु गरेका छन्।
- लाखे नाच घण्टाकर्णदेखि कृष्ण जन्माष्टमीसम्म प्रदर्शन गरिन्छ, जसमा लाखे र भुच्चाको भूमिका महत्त्वपूर्ण हुन्छ।
- स्थानीय युवाहरूले लाखे नाचलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न र अन्य समुदायमाझ लोकप्रिय बनाउन जोड दिएका छन्।
पाल्पा । लोप हुँदै गएको लाखे नाच संस्कृति जोगाउन तानसेनका युवा कस्सिएका छन् । केही वर्ष पहिलेसम्म मनोरञ्जन र परम्परा संरक्षणको दरिलो माध्यम बनेको लाखे नाच पुरानाहरूले बिर्सेपछि यसको संरक्षण गर्नका लागि स्थानीय युवा कस्सिएका हुन् ।
खास गरी नेवार समुदायमा प्रचलित लाखे नाच आधुनिकताको मारमा परी विलुप्त प्रायः हुन थालेपछि पाल्पाली नाट्य कला सांस्कृति समूहमा आबद्ध युवाहरु जोगाउन सक्रिय भएर लागेका छन् । लाखे नाच खास गरी घण्टाकर्णदेखि सुरु भई कृष्ण जन्माष्टमीसम्म नाच्ने परम्परा रहेको छ ।
मुखमा डरलाग्दो मुकुण्डो लगाएर दुईमध्ये एक जना लाखे र अर्को भुच्चा भएर नाचिने यो नाचमा लाखेले पछाडिपट्टि चौरी गाईको चमर र महिलाले लगाउने घाँघर, चोलो लगाउने गरेको पाइन्छ भने भुच्चाले पुरुष भेषमा पछाडिपट्टि मकैको पात वा कपडाको पुच्छर लगाउने गर्छन् ।
यहाँका युवाहरुले घण्टाकर्णकदेखि भगवती जात्रा (कष्ण जन्माष्टमी) को दिनसम्म हरेक दिन लाखे प्रदर्शन गर्ने समूहका अध्यक्ष किरण चित्रकारले बताए । “बाबु बाजेको परम्परा विर्सिन थाल्यौं, त्यही भएर आफ्नो संस्कृति संरक्षणमा लागेका हौँ”, चित्रकारले भने, “लाखे नाच विस्तारै लोप हुँदै जान थालेको छ ।” अभियानस्वरुप युवाहरु लाखे जात्रामा ढोल र झ्याम्टा बजाएर आफ्नो जातिको संस्कृति र रीतिरिवाज प्रदर्शन गरिरहेका छन् ।
“अरु समुदाय माझ नेवारी संस्कृति एकदमै लोकप्रिय छ, तर नेवार समुदायले नै संरक्षण गर्न सकिरहेका छैनौँ”, चित्रकारले भने । लाखे संरक्षणमा अन्य जातजातीले पनि उनीहरुलाई सहयोग गरेका छन् । लाखे नाचले नयाँ तथा पुराना पुस्तालाई आकर्षित गरेको छ । तानसेनको बसपार्क, हुलाकचोक, टक्सार, शीतलपाटी, नारायणस्थान, असनटोल, वसन्तपुरलगायतका स्थानमा लाखे नाच देखाइने योजना रहेको समूहका अध्यक्ष चित्रकारले बताए ।
केही दशकअघिसम्म नेवार समुदायमा मात्र प्रचलित लाखे नाच नयाँ पुस्तामा हस्तान्तरण गर्न आवश्यक रहेको स्थानीय राजेन्द्र गोपाल सिंह बताउछन् । उनले भने “अहिले तानसेनमा नेवारसहित अन्य समुदायको बसोबास रहेको छ, यसको संरक्षण गर्न इच्छुकलाई सिकाउन आवश्यक छ ।”
हरेक दिन साँझ ६ बजेदेखि तीन घण्टा लाखे नाच देखाइने छ । काठमाडौँ उपत्यकामा प्रचलित लाखे नाच पाल्पासहित अन्य स्थानमा पनि विस्तार हुने क्रममा छ । तानसेनसहित नेवार बस्ती भएका रामपुर, सराई, हार्थोक, आर्यभन्ज्याङमा पनि लाखेनाच नाचिने परम्परा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण