झुठको खेती गरी जनतामा भ्रम नफैलाउन प्रधानमन्त्रीलाई प्रभु साहको आग्रह
सारांश
- आजपा अध्यक्ष प्रभु साहले प्रधानमन्त्री ओलीले श्रीरामको जन्म नेपालमै भएको भन्दै भ्रम फैलाएको आरोप लगाए।
- साहले प्रधानमन्त्रीले आदिवासी जनजातिको इतिहास मेटाउन खोजेको र झुठको खेती गरेको आरोप लगाए।
- साहले प्रधानमन्त्रीलाई भारत भ्रमणमा जाँदा श्रीरामको जन्मबारे पुरातात्विक प्रमाणको आधारमा वार्ता गर्न आग्रह गरे।
काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्व मन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीले पटक–पटक श्रीरामको जन्म नेपालमै भएको भन्दै झुठको खेती गरी जनतामा भ्रम फैलाइरहेको बताएका छन् ।
प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा बोल्दै आजपा अध्यक्ष साहले नेपालका आदिवासी जनजातीको इतिहास मेटाउने गरी झुठ र भ्रमको खेती गरिरहेको बताए ।
‘प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीरामजी नेपालमै जन्मेको कुरा पटक पटक भन्दै हुनुहुन्छ । उहाँ (ओली)ले भन्नुहुन्छ राम चितवनमा जन्मेका हुन् । चतरा विश्वामित्रको आश्रम स्थल हो । म सोध्न चाहन्छु, नेपालको भूभागको असली वारिस आदिवासी जनजाती हो की क्षेत्री बाहुन हो ?,’ आजपा अध्यक्ष साहले प्रश्न गर्दै भने, ‘रामायण भनेको क्षेत्री बाहुनको पौराणिक कथा हो । यदि क्षेत्री बाहुन यस भूभागका वारिस हो भने यहाँको थारुहरू के हुन भन्ने प्रश्न गर्न चाहन्छु । के चितवनका आदिवासी थारु होईनन् ? के चतराका आदिवासी किराँती होइनन् ?’
यदि किराँती, थारुहरू नै आदिवासी जनजाती हुन भने प्रधानमन्त्री ओलीले यहाँ बाहुन क्षेत्रीलाई घुसाएर के प्रमाणित गर्न खोजेका हुन भन्ने संसदलाई जानकारी गराउन उनले माग गरे ।
राजनीतिक स्टन्टका लागि जे पनि गर्ने, प्रधानमन्त्रीले नै झुठको खेती गर्न मिल्छ कि मिल्दै भन्दै उनले प्रश्न गरे । प्रधानमन्त्रीले देशको नेतृत्व गर्ने, देशलाई सही दिशा निर्देशन गर्नुको साटो जनतामा भ्रम फैलाउने, विभाजन गर्ने र झुठको खेती गर्ने काम बन्द गर्नुपर्ने उनले बताए ।
‘सबैलाई थाहा छ, सत्यको बाटो हिँड्यो भने समाजले सही दिशा लिन्छ । झुठले समाजलाई अन्धकारमा धकेल्छ, द्वन्द्वमा धकेल्छ र विनाश तिर लान्छ । क्यान्सरको रोगलाई तपाईँले टिबी लेख्दिनुहुन्छ भने त्यो बिरामीले कहिल्यै पनि उपचार प्राप्त गर्न सक्दैन,’ आजपा अध्यक्ष साहले भने, ‘हाम्रो समाजको वास्तविकता देखाउनुपर्ने हो । नेपाल कहिल्यै पनि गुलाम भएन । त्यो सबैको एउटै कारण हो यहाँको जनजाती आदिवासी । यहाँको मुल बासिन्दा कै कारणले हो जसको कारण हामी कहिल्यै पनि गुलाम भएनौँ ।’
नेपालको एकीकरण भन्दा पहिला पनि स–साना राज्यहरू भए पनि कहिल्यै पनि कसैको गुलाम नभएको बताउँदै उनले जनजाती, आदिवासीले त्यसको अस्तित्व जोगाएको बताए । प्रधानमन्त्रीले ती इतिहासको खोतलेर स्थापित गर्नुको साटो गुमराह बनाइदिने, तोडमोड गर्ने कार्य गर्नु ठिक नभएको साहले बताए ।
‘आदिवासी जनजातीको राज्य खोसियो, अधिकार खोसियो, पहिचान अस्वीकार गरियो र आज उनीहरूको इतिहासमाथि छेडछाड गर्ने काम भइरहेको छ । इतिहास मेटाउने काम भइरहेको छ । नेपाललाई कता लान खोजिएको छ भन्ने प्रश्न उठ्छ । प्रधानमन्त्री जस्तो व्यक्तिले किराँतीको इतिहास खोतल्नुपर्थ्यो । किराँतीहरू कस्ता राजा थिए कि कसैको गुलाम भएन । त्यस्ता कुरा उजागर गर्नुको साटो राजनीतिक स्टन्ट गर्ने, भ्रमको खेती गर्ने, गुमराह बनाउने काम बन्द गर्न म विशेष आग्रह गर्न चाहन्छु,’ आजपा अध्यक्ष साहले भने ।
प्रधानमन्त्री ओली भारत भ्रमणमा जान लागेको कुरा मिडियाबाट थाहा भएको बताउँदै उनले भारत जाँदा भारतीय सरकारसँग यस बारेमा सत्य, तथ्य कुरा गर्न र पुरातात्त्विक विभागको प्रमाणको आधारमा वार्ता गर्न आग्रह गरे । र आफैले बोल्दै आएको कुरा स्थापित गर्न प्रधानमन्त्री ओलीलाई आजपा अध्यक्ष साहले चुनौती समेत दिए ।
‘नेपालको राष्ट्रिय विभूति सीता । दुनियाँले स्वीकारेको यो कुरा त प्रधानमन्त्रीले स्वीकार गर्नुहुन्न । म उहाँको क्याबिनेटको एउटा मन्त्री थिए । सीता जयन्ती क्यालेन्डरमा राख्न भन्दै गर्दा, अडान लिदै गर्दा उहाँ मान्नु भएन । घण्टौँ अडान लिँदा समेत क्यालेन्डरमा सीता जयन्ती राख्न नमान्ने प्रधानमन्त्रीले राम नेपालमै जन्मेको विवादास्पद अभिव्यक्ति दिएर के सन्देश दिन खोज्नुभएको हो ? नेपाललाई गुमराह बनाउने अधिकार कसैलाई छैन । प्रधानमन्त्री जस्तो गरिमामा बसेर आमलाई इमिलि भन्ने र झुठको खेती गर्ने काम बन्द गर्नुपर्छ,’ आजपा अध्यक्ष साहले भने ।
नेपाललाई अन्धकारमा धकेल्ने अधिकार कोही कसैसंग नभएको भन्दै उनले सत्य, तथ्यको आधारमा अभिव्यक्ति दिनुपर्ने बताए । यदि उहाँले सत्य, तथ्य नै बोलेको हो भने त्यसबारेमा संसद्मा बहस गराउनुपर्ने उनले बताए ।
तर झुठको खेती गर्ने, भ्रम फैलाउने काम नगर्न प्रधानमन्त्री ओलीलाई उनले ध्यानाकर्षण गराए । यसबारेमा सभामुखले समेत रुलिङ गर्नुपर्ने माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण