शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

मादी नदीमा बन्दैछ नेपालकै पहिलो चार लेनको पुल, माघसम्म सकिने

शुक्रबार, ०९ साउन २०८२, १२ : १३
शुक्रबार, ०९ साउन २०८२

सारांश

  • मुग्लिङ-पोखरा सडक खण्डमा निर्माणाधीन चार लेनको पुलको ७१ प्रतिशत काम सम्पन्न भएको छ।
  • मादी नदीमा बनिरहेको यो पुल नेपालकै पहिलो चार लेनको पुल हो, जसको निर्माण एनके निर्माण सेवाले गरिरहेको छ।
  • पुल निर्माणको सम्झौता रकम १ अर्ब २१ करोड रहेको छ भने निर्माण कार्य २०२५ सम्ममा सम्पन्न हुने लक्ष्य राखिएको छ।

काठमाडौँ । कुनै बेला मुग्लिङ–पोखरा सडक यात्रा अत्यन्त कष्टकर हुने गर्दथ्यो । हिजोआज मुग्लिङ–पोखरा सडक खण्डको यात्रा आनन्ददायी छ । मुग्लिङबाट पोखरा पुग्न धेरै कष्ट खेप्नु पर्दैन । अहिले सो सडक खण्डको धेरै काम सकिएको छ भने अझै पनि केही पुलहरू बन्ने क्रममा छन् । 

मुग्लिङ–पोखरा सडक पूर्वी खण्डका योजना प्रमुख प्रकाशचन्द्र भण्डारी मुग्लिङ–पोखरा सडक पूर्वी खण्डस्थित मादी नदी नेपालकै पहिलो पटक चार लेनको ठुलो पुल बनिरहेको बताउँछन् । उनका अनुसार ३१८ मिटर लम्बाई भएको चार लेनको पुल बन्दैछ ।  

भण्डारीले भने–  ‘चार लेन गाडी कुद्ने नेपालको पहिलो पुल हो । नेपाल सरकारले पुलको डिजाइन गरेपछि निर्माणकर्ताले फेरि डिजाइन गरेको हो । डिजाइनको सम्पूर्ण जिम्मेवारी निर्माण कम्पनीकै हो । मर्मत सम्भार अवधि ५ वर्षको हो । यसको सम्झौता रकम १ अर्ब २१ करोड हो । पुलको ७१ प्रतिशत वित्तीय प्रगति भएको छ ।’ 

प्रमुख भण्डारीका अनुसार नेपाली ठेकेदारले डिजाइन गरेर पहिलो पटक चार लेनको पुल बनाइरहेको छ । ७ सेप्टेम्बर २०२२ मा यो पुल बनाउन सम्झौता भएको थियो । 

६ सेप्टेम्बर २०२५ मा पुल निर्माणको समय सकिँदैछ । सम्झौता भएको १३ महिनापछि डिजाइन स्वीकृत भएको  र आजको दिनमा ७१ प्रतिशत वित्तीय प्रगति सकारात्मक रहेको भण्डारीले बताए । उनका अनुसार मनसुन सुरु भइसकेकाले पुलको बीचको भागको काम अघि बढाउन कठिन भइरहेको छ ।

खोलाको बहाव बढ्ने र ठेक्काहरू बगाउने भएकाले पुलको बिचको काम मनसुन सकिएपछि अब अघि बढ्नेछ । आगामी पुस–माघसम्ममा पूर्ण रूपमा पुल सम्पन्न हुने आशा छ । यो पुलको काम नेपाली निर्माण कम्पनी एनके निर्माण सेवाले गरिरहेको छ ।  

डिजाइन स्वीकृत हुन ढिलाइ हुनु, निर्माण सामाग्रीको अभावले गर्दा पनि काम समयमै नसकिएको निर्माण व्यवसायी बताउँछन् । उनीहरूका अनुसार डिजाइन स्वीकृत गर्दा आठ वटा जग्गा र त्यत्ति नै घरहरूको प्रभावित हुने भएपछि मुआब्जा वितरण गरिसकिएको छ ।  

नेपालमै पहिलो पटक चार लेनको अत्याधुनिक प्रविधिको बन्नु निर्माणकर्तालाई समेत गर्वको विषय रहेको उनीहरू बताउँछन् ।  -न्युज एजेन्सी नेपाल

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप