२२ औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता पोखरामा
काठमाडौँ । नेपाली खेलकुदको प्रतिष्ठित खेलाडी सम्मान कार्यक्रम ‘एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०८१’ यो वर्ष आगामी भदौ २९ गते पोखरामा हुने भएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हरेक वर्ष हुने अवार्ड कार्यक्रम २२ औँ संस्करणमा आएर पहिलो पटक काठमाडौँ बाहिर हुन लागेको हो ।
अवार्डको आयोजनाका लागि शुक्रवार आयोजक मञ्च र मुख्य प्रायोजक गोल्छा ग्रुपबिच प्रायोजक सम्बन्धी सम्झौता भयो। सम्झौता पत्रमा मञ्चका तर्फबाट अध्यक्ष निरञ्जन अधिकारी र गोल्छा ग्रुपका कार्यकारी निर्देशक अभिमन्यू गोल्छाले हस्ताक्षर गरे ।
विगत १७ वर्षदेखि नियमित रूपमा मुख्य प्रायोजन गर्दै आएको गोल्छा ग्रुपले ५ वर्षको सम्झौता थप गरेको हो । सम्झौता अनुसार गोल्छा ग्रुपले नगद र जिन्सी गरी ४० लाख रुपैँया बराबरको प्रायोजन गर्नेछ ।
मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले नेपाली खेलकुदको दायरा फराकिलो भइरहेको अवस्थामा स्पोर्टस अवार्डलाई देशव्यापी फैलाउने उद्देश्यले पर्यटनको राजधानी पोखरामा अवार्ड आयोजना गर्न लागेको जानकारी दिए ।
काठमाडौँ बाहिर लैजाने तयारी केही वर्षअगाडिदेखि नै भइरहेको थियो । सम्भावित केही शहरसँग कुराकानी गर्ने क्रममा पोखराले भ्रमण वर्ष २०२५ मनाइरहेको बेला सबै पक्ष अनुकूल बनेपछि यसपालीको स्पोर्टस पोखरा लान सफल भयौँ– अध्यक्ष अधिकारीले भने । एनएसजेएफका महासचिव अन्जन खड्काले यस वर्ष पनि स्पोर्टस अवार्डमा दस विधा समावेश गरिएको जानकारी दिए ।
स्पोट्र्स अवार्डमा वर्षका उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, वर्षका उत्कृष्ट खेलाडी युवा, वर्षका उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड र टिम अफ दि इयर विधा रहेको छ ।
जसमा उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस अवार्ड गरी ५ विधाका खेलाडीले पल्सर मोटर साइकल प्राप्त गर्नेछ। त्यस्तै स्पेशल, लाइफटाइम अचिभमेन्ट, टिम अफ द इयर र पारा एथलेट सम्मानका विजेताले नगद १ लाख रुपैँया प्राप्त गर्नेछ ।
महासचिव खड्काले भोटिङ मार्फत हुने भएकाले पिपल्स च्वाइस विधाको मनोनयनका साथै वर्ष खेलाडी पुरुष, महिला, युवा र प्रशिक्षक विधाको मनोनयन केही दिनमै सार्वजनिक गरिने जानकारी दिए ।
स्पोर्टस अवार्डमा पल्सरको निरन्तरता
नेपाल खेलकुद पत्रकार मञ्च र गोल्छा ग्रुप बिच अवार्डकै लागि सहकार्य भएको यो १७ औँ वर्ष हो। गोल्छा समूहका कार्यकारी निर्देशक अभिमन्यू गोल्छाले १७ वर्षको यो सहकार्य नेपालकै लामो साझेदारीमध्ये एक भएको बताए। उनले भने, “ यसले दुई संस्थाबिचको प्रतिबद्धता र विश्वास देखाउँछ, त्यसैले पनि एनएसजेएफसँग आबद्ध हुन पाउँदा गर्व महसुस हुन्छ ।”
कार्यकारी निर्देशक गोल्छाले फुटबल लिग, क्रिकेट लिग तथा विभिन्न ग्रासरुट प्रोजेक्टमा पनि सहकार्य गरेर गोल्छा समूहले नेपाली खेलकुदमा आफ्नो उपस्थिति देखाइरहेको बताए।
सो कार्यक्रममा एआइपिएस एसियाका कोषाध्यक्ष निरञ्जन राजवंशीले कुनै पनि संस्थाले २२ वर्षसम्म एउटै कार्यक्रम गर्नु अझ एउटै प्रायोजकसँग १७ वर्षको सहकार्य दुर्लभ रहेको बताए। उनले खेलकुद पत्रकार मञ्चले यो अवार्ड कार्यक्रम गरेर खेलाडीलाई सम्मान गरिरहँदा खेल पत्रकारहरू पनि सम्मानित भएको महसुस हुने गरेको बताए ।
गत वर्ष पुरुषतर्फ क्रिकेटका रोहित पौडेल, महिलातर्फ करातेकी एरिका गुरुङ, युवातर्फ भारोत्तोलनका हेमन्त पाल र प्रशिक्षकतर्फ करातेका कुशल श्रेष्ठले अवार्ड जितेका थिए । सर्वाधिक मत ल्याएर पिपल्स च्वाइसको अवार्ड भलिबलकी कविता भट्टले हासिल गरेकी थिइन् ।
स्पेसल अवार्डबाट भलिबलका प्रशिक्षक कुमार राई, पारा एथलिट सम्मानबाट पारा ओलम्पिककी कांस्य विजेता पलेशा गोवर्धन, एसियन स्पोट्र्स जर्नालिस्ट अवार्डबाट दक्षिण कोरियाका ही डोङ जोङ र लाइफटाइम एचिभमेन्ट अवार्डबाट नेपाल क्रिकेट सङ्घका पूर्व अध्यक्ष विनयराज पाण्डेलाई सम्मानित गरिएको थियो । एसियाली खेलकुदमा ऐतिहासिक कांस्य जितेको महिला कबड्डी टोलीलाई टिम अफ द इयरबाट सम्मानित गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
-
चुरोट र बिडीले पुरुषको यौन स्वास्थ्यलाई पुर्याउँछ हानी ?
-
रड प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ
-
सुदूरपश्चिम कांग्रेसभित्रको विवाद सुल्झाउन केन्द्रीय नेता धनगढीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण