बाढीले फोक्सिङटारको मोटरेबल पुल बगाएपछि सामान ढुवानी गर्न घिर्नी जडान
खोटाङ । दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटारस्थित सुनकोशी नदीमा सञ्चालित मोटरेबल पक्की पुल बाढीले बगाएपछि सामान ढुवानी गर्नका लागि घिर्नी जडान गरिएको छ ।
सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोशीस्थित फोक्सिङटारको मोटरेबल पुल गत वर्षको असोज १२ गते आएको भीषण बाढीले बगाएपछि विकल्पमा अस्थायी बेलीब्रिज जडान गरिएको थियो ।
फोक्सिङटारमा गत पुस २७ गतेबाट सञ्चालनमा ल्याइएको अस्थायी बेलीब्रिज नदीमा पानीको सतह बढेपछि जेठको पहिलो हप्ता झिकिएको थियो । निर्माण सम्पन्न गरेर सञ्चालनमा आएको दुई वर्ष नबित्दै बाढीले पुल बगाउनुका साथै बेलीब्रिजसमेत झिकिएपछि विकल्पका रूपमा घिर्नी जडान गरिएको हो ।
विशेषगरी खोटाङमा सञ्चालन भइरहेको रसुवा–पाँचधारे सडक कालोपत्रका लागि सामान ढुवानी गर्न फोक्सिङटरमा घिर्नी जडान गरिएको याक्थुम्हाङ–रेग्मी–चुरिया जेभीका ठेकेदार महेश रेग्मीले जानकारी दिए ।
“रसुवा–पाँचधारे सडकअन्तर्गत रसुवा–सिम्पानी १५ किलोमिटर सडक कालोपत्रको काम भइरहेको छ । जसका लागि सामान ढुवानी गर्न सुनकोशीमा घिर्नी जडान गरिएको हो”, उनले भने,“आवश्यक परेको खण्डमा दैनिक उपभोग्य सामान पनि तार्न सकिन्छ । फोक्सिङटारमा जडान गरिएको घिर्नी साउन ८ गते परीक्षण गरेर नियमित रूपमा सञ्चालन गरिरहेका छौँ ।”
फोक्सिङटारको अस्थायी बेलीब्रिज झिकेपछि दिक्तेल–गाईघाट सडकमा सिधा यातायात बन्द भएको छ । सुनकोशीमा हिउँदमा मात्र अस्थायी बेलीब्रिज जडान हुने भएकाले अन्य समयमा सडक कालोपत्रका लागि आवश्यक सामान ढुवानी गर्न कुनै विकल्प नभएपछि घिर्नी जडान गरिएको रेग्मीले बताए ।
खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने फोक्सिङटारमा १२० मिटर लामो ‘आर्क’ डिजाइनको मोटरेबल पक्की पुल निर्माण गरिएको थियो ।
दिक्तेल–गाईघाट (१०१ किलोमिटर) सडकखण्डअन्तर्गत फोक्सिङटारमा निर्माण गरिएको मोटरेबल पुल बगाएपछि गत पुस २७ गतेबाट अस्थायी बेलीब्रिज सञ्चालनमा ल्याइएको थियो ।
वर्षा लागेसँगै सुनकोशीमा पानीको बहाब बढेपछि गत जेठ ५ गतेबाट पूर्ण रूपमा सवारीसाधन वारपारमा रोक लगाएर बेलीब्रिज झिकिएको थियो । सगरमाथा राष्ट्रिय राजमार्गमा पर्ने दिक्तेल–फोक्सिङटार–गाईघाट सडक खोटाङबाट पूर्वी तराईका विभिन्न सहर जाने तथा आउने छोटो दूरीको सडक हो ।
फोक्सिङटारको अस्थायी बेलीब्रिज झिकेपछि घुर्मी–कटारी सडकखण्ड हुँदै पूर्वी तराईका विभिन्न जिल्लामा सवारी साधन आवतजावत हुँदै आएको छ ।घुर्मी–कटारी सडक लामो भएकाले विशेषगरी निर्माण सामग्रीका साथै दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि गरेर बिक्री गर्नुपर्ने बाध्यता सृजना भएको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले बताए ।
निर्माण कम्पनी गौरीपार्वती वाइपी जेभीले फोक्सिङटारमा निर्माण गरेको पुल फिनिसिङ (सम्पन्न गर्न) र हस्तान्तरण गर्न बाँकी छँदै २०७९ साल पुस ७ गतेदेखि सञ्चालनमा ल्याइएको थियो ।
ठेकेदारको ढिलासुस्तीका कारण फोक्सिङटारमा पुल बन्न करिब १२ वर्ष कुर्नुपरेको थियो । तर, बनेको दुई वर्ष नबित्दै बाढीले पुल बगाएपछि पुनः अस्थायी बेलिब्रिजको भर पर्नुपर्ने बाध्यता दोहोरिएको हो ।
फोक्सिङटारमा पुनः मोटरेबल पक्की पुल निर्माणका लागि सङ्घीय सरकारबाट रु ३५ करोड बजेट सुनिश्चित भएको बताइएको छ । तर, बाढी पुल बगाएको दश महिना बित्न लाग्दासमेत नयाँ पुल निर्माणका लागि अहिलेसम्म ठेक्का भने खुलेको छैन ।
तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले २०५१ सालमा शिलान्यास गर्नुभएको दिक्तेल–गाईघाट सडक अहिले हिउँद्को समयमा हिलाम्मे र वर्षाद्को समयमा धुलाम्मे अवस्थामा छ । विसं २०७३ मा कालोपत्र थालिएको दिक्तेल–गाईघाट सडक ठेकेदारको लापरबाहीले सम्पन्न नभएपछि ठेक्का तोडेर पुनः अर्को निर्माण कम्पनीसँग सम्झौता गरिएको छ ।
फोक्सिङटारबाट सिम्पानीसम्म र सिम्पानीबाट महुरेसम्मका सडक कालोपत्रका लागि नेपाल सरकारले पुनः रु ८६ करोड बजेट उपलब्ध गराएको छ । पहिलो खण्डको सडक कालोपत्रको जिम्मा रु ४२ करोड लागतमा दिव्यज्योति कन्स्ट्रक्सन प्रालि धादिङले लिएको छभने दोस्रो खण्डको सडक कालोपत्रको जिम्मा रु ४६ करोड लागतमा रायमाझी कन्स्ट्रक्सन प्रालि काठमाडौँले लिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागढुंगा सुरुङमार्ग : पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
-
इबोला नियन्त्रणका लागि ५१ करोड ८० लाख डलर योजना
-
रास्वपा बाजुरा सभापतिमा जैशी पुनःनिर्वाचित
-
तोडियो संवादहीनता, ‘पीएमको जबाफ’ विपक्षीको बटमलाइन बन्दा खुलेन संसद्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण